काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोडको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । सो अवधिमा प्राधिकरणले दैनिकरूपमा अधिकतम् सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत््को औसत बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हाल दैनिकरूपमा विद्युत््को अधिकतम् माग एक हजार सात सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्दा आयात सुरु गरिएको बताउनुभयो ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सो अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको हो । निर्यात गरिएको विद्युत््को औसत बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा रहेको छ । सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका जलविद्युत््गृहबाट उत्पादन घट्न थालेको छ । तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातीदेखि विद्युत् निर्यात बन्द हुने बताइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल दैनिकरूपमा विद्युत््को अधिकतम् माग एक हजार सात सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले विद्युत् उत्पादन र माग करिब-करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत्गृहहरूमा दिउँसो र राती पानी जम्मा गरी साँझ र बिहानको पिक समयमा चलाइरहेका छौँ, पिक समयमा आयात गर्दा विद्युत््दर महँगो पर्छ भने दिउँसो र रातीको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राती पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत्् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’
उहाँले चैत र वैशाखमा विद्युत् आयात परिमाण केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘आगामी वैशाख दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ, यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ, दुर्ई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजना निर्माण भइरहेका छन्, त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिकरूपमा करिब एक खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ ।’
प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुर्ई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाखको विद्युत् निर्यात गरेको छ । असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको जनाएको छ । प्राधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको थियो । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री अनुमति दिएको छ । प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय ४७ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच