गाउँपालिकाको सवारी साधनमा कर्मचारीको रजाइँ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङका १० पालिका मध्ये काठेखोला गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजार नजिक पर्छ । पालिकामा कार्यरत अधिकांश कर्मचारी बजार नजिक भएको बहानामा गाउँपालिका वरपर बस्दैनन् । हरेक दिन बागलुङ बजारबाटै आउजाउ गर्ने गर्छ ।

बजारबाट आउजाउका लागि उनीहरुले गाउँपालिकाकै सवारी साधान प्रयोग गर्छन् । पालिाको सवारी साधन चढ्न पाएपछि गाउँमा बसुन् पनि किन ? कर्मचारीले प्रयोग गर्ने सवारी साधानले मासिक दुई लाख बढी खर्च निकाल्छन् । इन्धनदेखि मर्मत खर्च सबै पालिकाले व्यहोर्ने गरेको छ ।
काठेखोलाका अधिकांश कर्मचारी विहान ९ बजेदेखिनै बागलुङ बजारबाट पालिका हिँड्छन् । उनीहरु मध्ये कोहीले पालिकाको मोटरसाइकल चढेका हुन्छन् त कोही गाडीमा खचखच भरिएका हुन्छन् । जसले चरम रुपमा पालिको सवारी साधान दुरुपयोग भएको जनाउँछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमदेखि विभिन्न शाखामा कार्यरत कर्मचारी पालिकाकै सवारी साधानमा दैनिक बजार र कार्यालय गर्छन् । कार्यालयको काम बाहेक अन्य समयमा कुनै पनि कर्मचारीलाई सवारी साधानको सुविधा हुँदैन । सुविधा नहुँदा नहुँदै पनि कर्मचारीले आफूखुसी पालिकाको मोटरसाइकल र गाडी प्रयोग गर्दै आएका छन् । यसरी पालिकाको सवारी साधान प्रयोग गर्न थालेको अहिलेबाट होइन, वर्षौँ भयो तर, कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि सवारी साधान प्रयोग गर्दा जनप्रतिनिधिले खरबारी गर्न सकेका छैनन् ।
पालिकाको सामान्य पदमा कार्यरत कर्मचारीनै पालिकाको मोटरसाइकल व्यक्तित प्रयोजनमा प्रयोग गर्छ भने प्रमुख प्रशासकीय अधिकारी किन गाडी हाल्दाउँदै पालिका–बजार नगरुन् ? गाउँपालिकामा हाल तीन वटा गाडी छन् । जस मध्ये एउटा गाडी मासिक ६० हजार भाडा तिरेर चलाइएको छ भने अन्य दुई वटा पालिकाले खरिद गरेका हो । गाउँपालिकाका सूचना अधिकारी मनोज कार्कीले पालिकामा तीन वटा स्कुटरसहित १४ वटा मोटरसाइकल रहेको जानकारी दिनुभयो ।

काठेखोलाका सवारी साधान रातिको समयमा विभिन्न रेष्टुरेण्टका गेटमासमेत भेटिने गरेका छन् । अधिकांश कर्मचारीले पालिकाको सवारी साधान दुरुपयोग गरेको भन्दै सर्वसाधारणले टिप्पणी गरेका छन् । सर्वसाधारणले जनताको करबाट किनिएका सवारी साधान दुरुपयोग गर्न नपाइने बताउँछन् । कर्मचारीले आफ्नै सवारी साधान प्रयोग गरे अथवा पालिका छेउमै बसे लाखौँ रकम बच्ने थियो । तर यस तर्फ कसैको ध्यान पुगेको छैन ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृ गौतमले गाडी प्रयोग गर्दै आएका छन् भने अधिकृत प्रकाश पौडेल, योजना शाखा प्रमुख उत्तम पौडेल, सूचना अधिकारी मनोज कार्की, एमआइएस शाखाका अञ्चल थापा, पूर्णप्रसाद सापकोटा, पशु शाखा अधिकृत होमबहादुर थापा, प्राबिधिक अंकित कुमार विक, विनोद लामिछाने, सामाजिक विकास शाखाका मीनबहादुर थापाले दैनिक पालिकाको मोटरसाइकल प्रयोग गर्दै आएको एक स्रोतले बतायो । उनीहरुसँगै शिक्षा शाखा र स्वास्थ्य शाखाका कर्मचारी पनि पालिकाकै सवारी साधान प्रयोग गरेका छन् । अधिकांश कर्मचारी बागलुङ बजारबाटै आउजाउ गर्ने गरेको बताइन्छ ।

प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमसहित लेखा अधिकृत माधव शर्मा पनि दैनिक पालिकाको गाडीको प्रयोग गर्ने गरेको स्रोतले बतायो । गाउँपालिकाका लेखा अधिकृत माधव शर्माले सवारी साधानको इन्धनमा मासिक दुई लाख बढी खर्च हुने बताउनुभयो । वडा अध्यक्षलाई सवारी साधान बाइकको सुविधा दिए पनि उनीहरु मध्ये केहीले मात्रै मोटरसाइकल र स्कुटर प्रयोग गर्छन् । गाउँपालिका अध्यक्ष राजु थापा र उपाध्यक्ष तिलक थापाले पनि सवारी साधान प्रयोग गर्दै आएका छन् ।

गाउँपालिकाका प्रवक्ता टिका संगम विकले पालिकाको सेवा प्रवाहलाई प्रभावकारी, छिटो र छरितो बनाउनका लागि पालिकाले कर्मचारीलाई सवारी साधानको उपलब्ध गराएको तर व्यक्तिगत प्रयोजनका नभएको बताउनुभयो । पालिकाको दूर दराजसम्म पुगेर कर्मचारीले अनुगमन लगायतका कामहरु गर्नु पर्ने हुँदा सवारी साधान आवश्यक परेको उहाँको भनाइ छ ।

प्रवक्ता विकले भन्नुभयो – “सवारी साधान दुरुपयोग भएको छैन, यदि त्यस्तो भएको पायौँ भने त्यसलाई रोक्छौँ, कार्यालयको कुनै पनि सामान व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि होइन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन हो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?