काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई विभिन्न चारबुँदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कुमुदकुमार दुगड नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव रामचन्द्र तिवारीलाई छुट्टाछुट्टै भेट गरी नेपालमा मसिनो धानको उत्पादन कम हुने भएकाले वर्षभरिका लागि कम्तीमा पनि १० लाख मेट्रिकटन मसिनो धान नपुग हुने भन्दै भन्सार छुटमा १० लाख मेट्रिकटन धान आयातको व्यवस्था गर्न माग गरेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत् भारतीय राजदूतावासमा पत्र पठाई भारत सरकारलाई अनुरोध गरिए पनि भारतबाट हालसम्म धान आयात हुन नसक्दा चामलको मूल्य बढ्न गई उपभोक्तालाई पर्न जाने प्रत्यक्ष असरबारे पनि संघले सचेत गराएको छ ।
संघले वर्षभरिका लागि कम्तीमा पनि १० लाख मेट्रिकटन मसिनो धान नपुग हुने भन्दै भन्सार छुटमा १० लाख मेट्रिकटन धान आयातको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
चामलको सहज आपूर्तिका लागि सबैको जिम्मेवारी भएकाले उच्चस्तरीय कूटनीतिक पहलबाट यस वर्षका लागि १० लाख मेट्रिकटन धान भन्सार छुट सुविधामा आयात गर्ने व्यवस्था गरिदिन संघले माग गरेको छ । संघका अनुसार नेपालमा उत्पादन हुने धानले मात्र माग धान्न नसक्ने भएकाले भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता हो । भारतले निकासीमा २० प्रतिशत भन्सार लगाउँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गत वर्षको तुलनामा यस वर्ष धानको मूल्य सिजनमै प्रतिकेजी १० रुपैयाँले बढिसकेको छ भने धानको मूल्य अझ बढ्ने देखिन्छ ।
भारतबाट २० प्रतिशत भन्सार तिरेर धान खरिद गर्दा प्रतिकेजी ५० रुपैयाँ पर्ने भन्सार छुटमा आयात गर्दा प्रतिकेजी ४२ रुपैयाँ पर्ने संघको भनाइ छ । धानको मूल्य प्रतिकेजी आठ रुपैयाँ फरक पर्दा चामलको मूल्यमा १६ रुपैयाँको फरक पर्न जाने बताइएको छ । मूल्यमा यति धेरै फरकले गर्दा भन्सार छली नेपाल भित्रिएको धान र चामलसँग स्वदेशी उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने र चामल मिलमा लागेको अर्बौको स्वदेशी लगानी जोखिममा पर्ने संघको गुनासो छ ।
भारतले धान निर्यातमा २० प्रतिशत भन्सार लगाएको छ भने नेपाल भन्सारमा पाँच प्रतिशत कृषि सुधार शुल्क लाग्छ । जसले गर्दा भारतबाट सहुलियतदरमा धान ल्याउन नसकिएमा चामलको मूल्य आकासिने सम्भावना रहेको संघले जनाएको छ ।
चामल उद्योगले धान प्रशोधन गरी चामल उत्पादनसँगै सह उत्पादन भुस, उद्योगको इन्धनका रूपमा प्रयोग हुने (बोइलर प्लान्ट), कनिका, पशुपन्छी दाना, दाना उद्योग, डिस्ट्रिलरी र स्न्याक्सको कच्चा पदार्थ सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने भएकाले सबैलाई प्रत्यक्ष मर्का पर्ने र चामल उद्योगसँगै उल्लेखित उद्योगबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने पनि संघले उल्लेख गरेको छ । हाल नेपालमा भएको धान र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले करिब तीन महिनालाई मात्र चामल उपलब्ध गराउन सक्ने संघका महासचिव दिपककुमार पौडेलले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच