गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन

हिमालय टाइम्स
Read Time = 4 mins

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै आएको मन्दिरका अध्यक्ष एवं महन्त दाताराम भण्डारीले जानकारी दिनुभयो । उहाँकै सक्रियतामा गाई फार्म सञ्चालन गरिएको हो । फार्मले स्थानीय पाँच जनालाई रोजगारीसमेत प्रदान गरेको छ । उपभोक्तालाई शुुद्ध एवं गुणस्तरीय दूध उपलब्ध गराएको अध्यक्ष भण्डारी बताउनुहुन्छ ।

दूध बिक्रीबाट मासिक रु दुई लाख ७० हजार आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो- “यसै आम्दानीबाट मन्दिरका पुजारीलाई मासिक रु १५ हजार उपलब्ध गराउँछौँ ।”

गाईपालन गर्नका लागि वार्षिक रु ४० हजार तिरेर एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएको अध्यक्ष भण्डारीले बताउनुभयो । फार्मले बैंक कर्जा, दान, भेटीलगायत सहयोगबाट गाईपालनका साथै बाख्रापालनसमेत गरिरहेको छ ।

“आश्राममा बस्ने भक्तजनलाई गौःसेवामा सहभागी गराउँदै आएका छौँ”, महन्त भण्डारीले भन्नुभयो । गाईको नियमित हेरचाह, सरसफाइ, दाना, पानी, पराल, औषधोपचारलगायतमा रकम खर्च हुनेगरेको छ । लगानी वृद्धि गरी नश्ल सुधारसहित गुणस्तरीय गाई तथा बाख्रापालना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । फार्मलाई राष्ट्रियस्तरको नमुना कृषि फार्मका रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

लक्ष्मीनारायण कृषि फार्मका सञ्चालक सङ्गीता पौडेल फार्मलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । मन्दिरमा आश्रित भक्तजनले गाईको हेरचाह गर्ने गरेका उहाँ बताउनुहुन्छ । फार्मले बैंकबाट झण्डै रु एक करोड  ऋण लिएको छ । “हामीले नाफा कमाउनेभन्दा पनि सेवाभावले फार्म सञ्चालन गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।

सुन्दरहरैँचा नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख किशोरकुमार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ मा फार्मका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “कार्ययोजना र लक्षसहित आए थप आवश्यक सहयोग र सहजीकरण गछौँ”, उहाँले भन्नुभयो ।  नगरपालिकाले गोठ सुधार कार्यक्रमअन्तर्गत अनुदान सहयोग गर्ने गरेको प्रमुख कार्कीले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?