काठमाडौं । नेपाली कांग्रेसमा वरीयता विवाद झन् गहिरिँदै गएको छ । दुई वर्षअघि काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनपछि सुरु भएको वरीयता विवाद पछिल्ला दिनहरूमा सार्वजनिक कार्यक्रममै देखिन थालेको हो । मधेश प्रदेशको पहिलो प्रदेश अधिवेशनमा वरीयता विवादले चर्को रूप लियो । कांग्रेसको इतर समूहका नेता डा.शेखर कोइराला पक्षका आठ नेताले प्रदेश अधिवेशनको उद्घाटन समारोहमा राखिएको केन्द्रीय नेताहरूको मर्यादाक्रमलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेखे । विवाद यतिमा मात्र सीमित भएन कार्यक्रमको वरीयताकै कारण डा.कोइराला मधेश प्रदेशको प्रथम सम्मेलनमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम नै रद्द गरेर सुनसरीतिर लाग्नुभयो । सभापति शेरबहादुर देउवा मात्रै सहभागी हुने कार्यक्रममा नेता शेखरलाई विशिष्ट अतिथि बनाइएको थियो ।
जारी प्रदेश र जिल्ला अधिवेशनमा देउवापछि शेखरलाई विशिष्ट अतिथि बनाइएको हो । तर, उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने कार्यक्रममा भने शेखरलाई विशिष्ट अतिथि बनाउने गरिएको छैन । मंसिर १६ र १७ गते लुम्बिनीको प्रदेश सम्मेलनमा शेखरले देउवापछिको वरीयतामा आशनग्रहण गर्नुभएको थियो । लुम्बिनी सभापति कोइराला निकटकै अमरसिंह पुन हुँदाको फाइदा उठाउँदै विशिष्ट अतिथि बनाइएको थियो । गण्डकी प्रदेश सम्मेलनमा पनि कोइरालालाई देउवापछिको मर्यादाक्रममा राखिएको थियो । गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा कोइराला पक्षका नेता हुनुहुन्छ । तर, मधेश प्रदेश सभापति कृष्ण यादव देउवा पक्षका हुनुहुन्छ । मधेश प्रदेशको सम्मेलनमा कोइरालाको निम्ति मात्र विवाद सीमित रहेन । कार्यक्रमको वरीयताप्रति असन्तुष्टि जनाउँदै पार्टीका पूर्व-उपसभापति विमलेन्द्र निधि दर्शक-दीर्घामा गएर बस्नुभयो । निधिको गृहजिल्लामै प्रदेश सम्मेलन भएको थियो । प्रोटोकलमा आफूलाई १५ नम्बरतिर मञ्चमा बोलाइएपछि पूर्व-उपसभापति निधि मधेश सम्मेलनमा गए पनि मञ्चमा भने उक्लनुभएन ।
नेपाली कांग्रेसमा सभापति देउवापछि वरीयतामा को भन्ने मुख्य विवाद हो । सभापतिमा पराजित भएका मुख्य नेतालाई सभापतिपछिको वरीयतामा राख्ने प्रचलन कांग्रेसमा छ । यद्यपि, यसपटक लागू भएको छैन् । संस्थापनले दुई वर्षअघि भएको १४औँ महाधिवेशनमा देउवासँग पराजित हुनुभएका शेखरलाई दोस्रोमा राख्न चाहेको थिएन । कोइरालालाई ३५औँ नम्बरमा राखियो, तर विरोध भएपछि अहिले पदाधिकारी र पूर्व-पदाधिकारीपछि २५औँ वरीयता दिइएको छ । १४औँ महाधिवेशनलगत्तै एक ठाउँमा देखिनुभएका शेखर पक्षका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितले दोस्रो वरीयताका लागि निरन्तर पहल पनि गरिरहनु भएको छ । शेखरले बैठकमा उपस्थित नहुनेसम्मको परिस्थिति बन्यो । तर, देउवाले दोस्रो वरीयता दिन चाहनुभएन । शेखर समूहमा गगन थापासहितका नेता असन्तुष्ट बनेपछि वरीयताको विषय कमजोर बन्न पुगेको सोही समूहका नेताहरूको दाबी छ । देउवापछि शेखर वरिष्ठ नेता भएर हिँडेको विषयलाई महामन्त्री गगन समूहले समेत नरुचाएको इतर समूहका एक नेताको भनाइ छ ।
हुन त कांग्रेसको पार्टी विधानमा वरिष्ठ नेता भन्ने पदको व्यवस्था नै छैन । सामान्यतया महाधिवेशनमा सभापतिसँग पराजित हुनेलाई दोस्रो वरीयता दिने अभ्यास कांग्रेसमा छ । सुशील कोइरालासँग हार्नुभएका देउवालाई, देउवासँग हार्नुभएका रामचन्द्र पौडेललाई १२औँ र १३औँ महाधिवेशनपछि दोस्रो वरीयता मिलेको थियो । तर, विधानमा दोस्रो वरीयताका नेतालाई वरिष्ठ भन्ने कुनै व्यवस्था गरिएको छैन ।
अभ्यासका क्रममा कार्यक्रम गर्दा नेता कार्यकर्ताले सम्बोधन गर्दा मात्रै वरिष्ठको नाम लिँदै आएका छन् । पार्टी विधानमै व्यवस्था नभएको वरिष्ठ नेता पदको लागि विवाद झिक्नु उचित नभएको इतर समूहकै कतिपय नेताको भनाइ छ । सभापति देउवाले नै शेखरका लागि केन्द्रीय कार्यालयमा कार्यकक्ष स्थापना गर्ने, विस्तारै आफूपछिको वरीयता दिने संकेत पनि नगर्नुभएको होइन । तर, कांग्रेस संस्थापनभित्रको आन्तरिक शक्ति संघर्षले गर्दा शेखरले देउवापछिको वरीयता पाउनुभएको छैन । देउवापछिको वरिष्ठ नेताका लागि पूर्व-कार्यवाहक सभापति गोपालमान श्रेष्ठ र पूर्व-उपसभापति विमलेन्द्र निधिसमेत दाबेदार हुनुहुन्छ ।
कांग्रेसको बागमती प्रदेश सम्मेलन आज
नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज (शनिबार) हुँदै छ । प्रदेश कार्यसमितिले पत्रकार सम्मेलन गर्दै प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनको आज बिहान साढे ८ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा १३ वटै जिल्लाका प्रतिनिधि आउने जानकारी दिँदै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भन्नुभयो, ‘हामी यस्तो बेला पार्टीको सम्मेलन गर्दै छौँ कि अहिले एकातिर संघीयता, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उब्जाइएको छ । भने अर्कोतिर यो व्यवस्थामाथि नै असन्तोष जगाइएको छ । हामी सम्मेलनमा संघीयताको उपयोगितासहित यी विषयहरूमा छलफल गर्नेछौँ ।’ बानियाँले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यबाट अधिकारको प्रयोग र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै ती विषयमा समेत सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । सम्मेलनमा प्रदेशभरबाट ७८२ जना प्रतिनिधि आउनेछन् । सम्मेलनमा बागमती प्रदेशका संघ र प्रदेशका सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको पनि सहभागिता रहनेछ ।
पार्टीभित्रको किचलोका कारण लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा अन्योल
लुम्बिनी प्रदेशमा भागमा परेको एकजना मन्त्री कसलाई छान्ने भनेर सुरु भएको नेपाली कांग्रेसभित्रको किचलो अझै सकिएको छैन । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण विगत आठ महिनादेखि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बन्नुभएको थियो । यो बीचमा पटक-पटक सरकारलाई पूर्णता दिने प्रयास गरे पनि पार्टीभित्रको किचलो व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्रिपरिषद् विस्तारबारे मुख्यमन्त्रीले आफूसँग छलफल नगरेको दाबी गर्नुभयो । प्रदेश सभापति पुन संस्थापनइतर समूहका हुनुहुन्छ ।
लुम्बिनी प्रदेशमा संस्थापन पक्षधर मानिने मुख्यमन्त्री चौधरी र दाङकै राजु खनाल गरी हालसम्म दुईजना मात्रै सरकारमा सहभागी हुनुहुन्छ । दुवै एउटै पक्षका भएपछि नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह रुष्ट छ । इतर पक्षले यतिखेर आफ्नो पक्षको नेतालाई मन्त्री बनाउने अडान लिएको हुँदा सरकार विस्तारमा विलम्ब भइरहेको बताइएको छ । कांग्रेसबाट संस्थापनइतर पक्षले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउन दबाब दिइरहेको छ । तर, मुख्यमन्त्रीलाई प्युठानका सरोज थापालाई मन्त्री बनाउन केन्द्रबाट संस्थापन पक्षको दबाब छ । १० मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई, माओवादी, जनमत, लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टीबाट एक/एकजना मन्त्री बनेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच