दुर्घटनामा कैलालीकी उसु खेलाडी निता खड्काको निधन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकले ठक्कर दिँदा एक जना खेलाडीको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् । उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुदूरपश्चिम यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए ।

स्वर्ण पदक जितेको खुशी परिवारसंग बाड्ने खड्काको सपना अधुरो रह्यो, उसुका राष्ट्रिय रेफ्रि गुप्ताले भने, ‘खड्काको मृत्युले सुदूरपश्चिमले एक होनहार र अनुशासित खेलाडी गुमायो । हामी उनको मृत्युले स्तब्ध भएका छौ ।’

खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?