
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२ प्रतिशतले घटेर छ खर्ब ५३ अर्ब सात करोडमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ९.० र ९१.० प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको निर्यात ७.७ प्रतिशतले घटेर ५० अर्ब ५७ करोड तथा आयात ३.८ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोडमा झरेको छ ।
चालु आर्थिक वर्षको प्रथम चार महिनामा पेट्रोलियम आयात ९.५ प्रतिशतले घटेर ८८ अर्ब ९८ करोडमा झरेको छ तर खाद्यान्न आयात भने ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ ।
२०७९/०८० को प्रथम चार महिनामा निर्यात-आयात अनुपात १ः९.७ रहेकोमा २०८०/०८१ को सोही अवधिमा यस्तो अनुपात १ः१०.१ रहन गएको छ । सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्ट उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुरबिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुखरूपमा रहेका छन् । समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यात ९३.६ प्रतिशतले बढेर पाँच अर्ब ७० करोड पुगेको छ । यार्न निर्यात ३.५ प्रतिशतले घटेर तीन अर्ब ८४ करोडमा सीमित भएको छ भने ऊनी गलैंचा निर्यात पनि ५.८ प्रतिशतले घटेर तीन अर्ब ७० करोडमा झरेको छ । तयारी पोशाक निर्यात भने १२.० प्रतिशतले बढेर तीन अर्ब २२ करोड पुगेको छ । तर, जुट तथा जुटका उत्पादनको निर्यात ४.६ प्रतिशतले घटेर दुर्ई अर्ब ५१ करोडमा सीमित भएको छ ।
अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि ५.५ प्रतिशतले घटेर एक अर्ब ७९ करोडमा सीमित भएको छ भने जुस निर्यात ४५.३ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको छ । पामतेल निर्यात ८१.२ प्रतिशतले घटेर एक अर्ब ८८ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थानमा रहँदै आएको अलैंचीको निर्यात ९.९ प्रतिशतले बढेर दुई अर्ब १५ करोड पुगेको छ भने अर्को उत्पादन चिया निर्यात भने १६.३ प्रतिशतले घटेर एक अर्ब ४९ करोडमा सीमित भएको छ । अदुवा निर्यात ८९.९ प्रतिशतले बढेर ५७ करोड पुगेको छ ।
नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात समीक्षा अवधिमा १४.५ प्रतिशतले घटेर ३३ अर्बमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७०.५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सो हिस्सा ६५.३ प्रतिशतमा झरेको हो । नेपालको निर्यात व्यापारमा अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, टर्की र नेदरल्याण्ड्स प्रमुखरूपमा रहेका छन् । आयाततर्फ समग्रमा २०८०/०८१ को प्रथम चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम ९.५ प्रतिशतले घटेर ८८ अर्ब ९८ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात पनि ७.६ प्रतिशतले घटेर ४४ अर्ब ४३ करोडमा झरेको छ । मेसिनरी तथा पार्ट्स ७.६ प्रतिशतले घटेर ३२ अर्ब नौ करोडमा झरेको छ भने कच्चा भटमास तेल आयात पनि ६८.५ प्रतिशतले घटेर पाँच अर्ब ७६ करोडमा झरेको छ ।
औषधिको आयात पनि २०.८ प्रतिशतले घटेर १२ अर्ब ८७ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ५.३ प्रतिशतले बढेर २१ अर्ब ९८ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात भने २३.० प्रतिशतले बढेर २३ अर्ब ८१ करोड पुगेको छ । तर, कच्चा पामतेल आयात ६४.८ प्रतिशतले घटेर चार अर्ब ५२ करोडमा सीमित भएको छ । खाद्यान्न आयात ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ । तयारी पोशाक आयात पनि ५०.० प्रतिशतले बढेर १५ अर्ब ४९ करोड पुगेको छ भने दूरसञ्चार सामग्री आयात पनि ०.६ प्रतिशतले बढेर १४ अर्ब २४ करोड पुगेको छ ।
सुन आयातमा ५५.० प्रतिशतले घटेर आठ अर्ब ९० करोडमा झरेको छ । आयात व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, फ्रान्स, अष्टे«लिया, इण्डोनेसिया, अमेरिका, अर्जेण्टिना, थाइल्याण्ड, जापान, संयुक्त अधिराज्य र जर्मनी प्रमुखरूपमा रहेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३.३ प्रतिशतले घटेर चार खर्ब ६१ अर्ब ९३ करोडमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच