टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पपछि राहत कार्य जारी छ । उद्धारकर्ताहरूले राहत कार्यमा निकै कठिनाइको सामना गरिरहेका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भन्नुभएको छ, ‘हामीले प्रकोपबाट प्रभावित मानिसहरूलाई बचाउन समयसँग दौडनु पर्छ ।’ विपद् व्यवस्थापनसम्बन्धी बैठकपछि प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘धेरै क्षति भएको पुष्टि भएको छ । धेरैको ज्यान गएको छ । भवनहरू भत्किएका छन् र धेरै ठाउँमा आगो लागेको छ ।’ भूकम्पपछि करिब ३३ हजार मानिसले चिसोमा बिजुलीविहीन रात बिताउनु परेको थियो । अहिले पनि धेरै शहरमा खानेपानीको अभाव छ ।
भूकम्पपछि मानिसलाई बचाउने प्रयास भइरहेको छ भने एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन् । फुमियो किशिदाले भूकम्पपीडितलाई छिट्टै सहयोग पुग्ने विश्वास दिलाउनुभएको छ । ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ । भवनमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बचाउन सकिन्छ’, प्रधानमन्त्री फुमियोले भन्नुभएको छ ।
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या शुक्रबार दिउँसोसम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुमान गरिएको छ ।
अवतरणको क्रममा जापान एयरलाइन्सको विमानमा आगो
जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको हो । आगलागी हुँदा विमान जलेर ध्वस्त भएको छ । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा रहेका पाँचजना बेपत्ता भएको बताइएको छ । विमानमा सवार एक व्यक्ति भागेको र अन्य पाँचजना बेपत्ता भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।
रोयटर्सका अनुसार भूकम्प प्रभावित नोटो प्रायद्वीपमा सहायता पुर्याउन निगाटा एयरपोर्ट जाने क्रममा आगलागी भएको बताएको छ । घटनास्थलबाट सार्वजनिक तस्वीरमा विमान र धावनमार्गमा आगो देखिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए । जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ । कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ ।
विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ । घटनास्थलबाट भीषण आगलागीले विमान पूर्णरूपले ध्वस्त भएको तस्वीर सार्वजनिक भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच