ताँजकोटमा भेटिए ३० जना कुपोषीत बालबालिका

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाँपालिकाले कुपोषण भएका बालबालिकाको पहिचान अभियान सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको यो अभियानका क्रममा वडा एक देखि पाँचसम्ममा ३० जना बालबालिकामा कडा खालको कुपोषण भएको भेटिएका छन् । भने १ सय १५ जना मध्यम खालको कुपोषण भएका बालबालिका भेटिएको गाउँपालिका स्वाथ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो ।

गाउँपालिकामा कुपोषण अन्त्य अभियानका लागि प्रत्येक वडाका गाउँघरमा महिला स्वास्थ्य स्वयमं सेविका परिचालन गरिएको ढकालले बताउनुभयो । ६ महिनादेखि ६० महिनाका कुपोषीत बालबालिकाहरुको तथ्यांक लिनका लागि पाखुरामा मुआफ टेप प्रयोग गरी सोही अनुरुप कडा कुपोषित र मध्यम खालको भनेर मापन गरेर महिला स्वयम सेविकाले स्वास्थ्य संस्थामा पठाउने गरेको ढकालले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख ढकालले भन्नुभयो,“महिला स्वास्थ्य स्वयम सेविकाले चेकजाँच गरी स्वास्थ्य संस्थामा पठाएका बालबालिकालाई कडा कुपोषित भएकालाई ओटिसीमा भर्ना गरेर उपचार गरिन्छ ।” मध्यम कुपोषितलाई खानपान, सरसफाई सम्बन्धि सल्लाह दिएर आमा र बालबालिकालाई भेट्ने सुझाव दिएर घर पठाउने गरेको ढकालको भनाई छ ।” ओटिसीमा भर्ना गरेर लगातार तीन महिना सम्म पनि कुपोषित बालबालिकामा सुधार आएन भने पोषण पुनः स्थापना केन्द्र सुर्खेत वा नेपालगञ्जसँग समन्वय गरेर आमा र कुपोषित बालबालिकालाई त्यहाँ पठाउने छौं प्रमुख ढकालले भन्नुभयो ।” त्यहाँ पठाएर भर्ना भएपछि ६ महिनासम्म आमा र बच्चालाई खाना र बस्न निःशुल्क व्यवस्था रहेको छ ।

ताँजकोट गाउँपालिकाको स्वास्थ्य शाखामा उपचार हुन नसकेका दुई जना कुपोषित बालबालिकालाई थप उपचारका लागि पोषण पुनः स्थापना केन्द्र सुर्खेत पठाइएको उहाँले बताउनुभयो । ताँजकोट-४ का मन बहादुर बोगटीका १३ महिना छोरी र वडा-५ का गोर शार्किको २१ महिनाको छोरा सुर्खेत पठाइएको छ ।

बालबालिकालाई मुख्य तया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउने उद्देश्यले कुपोषित बालबालिका अत्य अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा धेरै जसो बालिकाको ज्यान जोखिममा रहेको बताईएको छ । कुपोषित मध्ये पनि आधा भन्दा बढी बालिका रहेका छन् । घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको पाइएको छ ।

७० प्रतिशत दलित बालबालिका कुपोषित

गाउँपालिकामा सबै भन्दा बढी ७० प्रतिशत दलित बालबालिका कुपोषणको सिकार हुने गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँघरमा जनचेतनाको अभावका साथै विहानदेखि बेलुका सम्म काममा व्यस्त हुने र स-साना बालबालिकाहरु खानपानमा ख्याल तथा हेरचाह नगर्ने भएका कारण दलित बालबालिकाहरु बढी कुपोषित हुनुका रोगको सिकार हुने गरेका छन् ।

विशेष गरी आमाबुवाको लापर्वाहीका कारण बालबालिकाहरुमा कुपोषण हुने गरेको पाइएको प्रमुख ढकालले बताउनुभयो । जिल्लाको दुरदराजवस्तीमा गर्भाअवस्थामा समेत आराम नगरी महिलाहरुले सक्ने नसक्ने सबै काम गरेको पाइन्छ । बच्चा जन्म सकेपछि पनि महिलाहरुले बढी काम गर्ने गरेका छन् । उनीहरुलाई आरामको कुनै वास्ता हुदैन् । कामको मात्रै ध्यान हुन्छ । यहाँका महिलाहरु छोरा छोरीको माया भन्दा पनि कामलाई बढी माया गर्ने गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?