राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । त्यसैगरी बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका ५ जना नेताहरु कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशको राम अवतार यादवलाई एमालेले केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय बैठकले गरेको पनि महासचिव पोखरेलले बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘आज हामी राष्ट्रियसभाको निर्वाचनको शिलशिलामा उम्मेदवारहरुको विषयमा छलफल गर्न बैठक बसेका थियौँ । २३ गते राष्ट्रिय सभाका लागि १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । हामीले सात वटै प्रदेशका तर्फबाट त्यो प्रदेशमा रिक्त रहेका क्लष्टरका लागि प्रत्येक क्लष्टरमा ३ जनाको नाम सिफारिस गर्न अनुरोध गरेका थियौं । खासगरी आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्ने व्यक्तिहरुलाई सिफारिस गर्न भनेर अनुरोध गरेका थियौं । प्रदेशको तर्फबाट उहाँहरुले नाम सिफारिस गर्नुभएको छ । हामीले क्लष्टरवाईज रुपमा चाहीँ नामका बारेमा छलफल गरेका छौं । अब कतिपय क्लष्टरहरुको प्रमाणिकरण गर्नुपर्ने जस्ता विषयहरु चाहीँ स्पष्ट हुनुपर्ने भएको कारणले गर्दा हामी ती विषयमा आजको बैठकमा हामीले प्रारम्भिक छलफल गरेका छौं । र, केही नामहरुका सन्दर्भका बारेमा खासगरी क्लष्टर अन्तर्गत पर्ने, नपर्ने त्यो अन्तरगतका प्रमाणित हुने, नहुने भन्ने विषय स्पष्ट भएर त्यसलाई २३ गतेका दिन हामी १९ वटै ठाउँहरुमा उम्मेदवारी दर्ताको तयारी गरेका छौं । अर्कोतर्फ आज हामीले हाम्रा प्रदेश अधिवेशनहरु सम्पन्न गरेका छौं । र, प्रदेश अधिवेशनहरु सम्पन्न भएपछि कतिपय प्रदेशका अध्यक्षहरु जिम्मेवारीबाट बाहिरिनुभएको छ । खासगरी ५ वटा प्रदेशका अध्यक्षहरु चाहीँ जिम्मेवारीबाट बाहिरिनु भएको छ । उहाँहरुलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेका छौं । त्यसमा कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशको केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चिम प्रदेशको दामोदर भण्डारी र मधेश प्रदेशको राम अवतार यादव रहनुभएको छ । त्यसै गरेर लामो समयदेखि पार्टी काममा रहनुभएका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालको भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव पोखरेलले भन्नुभयो, भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशका बीचको ज्वाईन्ट कमिशनको बैठक भनेर बैठकको आयोजना गरिएको र त्यहाँ के-के विषयहरुमा छलफल भयो ? र, के-के विषयहरुमा सम्झौताहरु भए भन्ने कुरा चाहीँ सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने कुरा नगरेको कुराप्रति बैठकले गम्भिर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरुमा सत्तापक्षले चाहीँ प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरु गर्नुपर्नेमा त्यो मामिलामा चाहीँ हामीसँग कुनै परामर्श नगरिएको र के के विषयहरुमा सहमती, सम्झौता भए भन्ने कुरा पनि स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीहरुको आलोचना गर्दै के के विषयहरुमा सहमती, सम्झौता भएका छन । ती विषयहरुलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौं । र, अर्कोतर्फ जे कुरा बाहिर आएका छन् । वास्तवमा भन्ने हो भने नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसावले कुनै काम हुनुहुँदैन । वैदेशिक सहायता नेपालको बजेटरी प्रणाली भित्रै हुनुपर्दछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।

त्यसैगरी एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

महासचिव पोखरेलले भन्नुभयो, सर्लाहीको बरहथहवामा हाम्रो पार्टीका केन्द्रिय सदस्य जो मेयर हुनुहुन्छ कल्पना कुमारी कटुवाल उहाँले एक प्रकारले भन्दाखेरी त्यहाँ नगर अस्पतालको क्षमता बिस्तारका सन्दर्भका बारेमा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सत्तापक्षका कार्यकर्ताहरुले जे हुलदुंंगा गरीकन ढुंगामुडा गर्ने, तोडफोड गर्ने खालकोकाम गर्दाखेरी प्रहरीले बल प्रयोग गर्दाखेरी एक जना नागरिकको मृत्यु भएको छ । सत्तापक्ष आफैँ यस प्रकारका अराजक क्रियाकलापमा संलग्न हुने कुरा अत्यन्तै दुखद पक्ष हो । यस्ता कुराहरु सत्ता पक्षले नियन्त्रण गर्नु पर्दछ । आज सामाजिक अराजकता सृजना गर्ने कुरामा सत्तापक्षकै कार्यकर्ताहरुको योगदान र भूमिका देखिने गरेको छ । आज मुलुकको परिवर्तनलाई कमजोर पार्ने खालको गतिविधि र क्रियाकलापमा सत्तापक्षका अर्कमण्यता र उनीहरुको कार्यकर्ताहरुमा देखापरेको अनुशासनहिनता र अराजकताले त्यसप्रकारका गतिविधिहरु भईरहेका छन् । त्यो स्थितिलाई तत्काल नियन्त्रण गर्न, जनताको जीउधनको सुरक्षा गर्न र जनप्रतिनिधिले निर्वाध रुपमा काम गर्न पाउने खासगरी प्रतिपक्षसँग सम्बन्धित जनप्रतिनिधिहरुले निर्वाध ढंगले जनताको सेवा गर्न पाउने अवस्था बनाउनका लागि हामीले माग गरेका छौं । त्यो हिसावले शर्लाही घटनाको सन्दर्भमा जे क्षति भएको छ । त्यसप्रति हामी दुःख व्यक्त गर्दछौं । र, सरकारको अर्कमन्यता र जुन प्रकारको अराजक क्रियाकलाप छ । त्यसका कारणले एक जना युवाको ज्यान गएको छ । त्यसप्रति हामी हाम्रो पार्टीको तर्फबाट दुख व्यक्त गर्दछौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?