काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी बुढासुब्बा डिजिटल प्रालिले निकालेको सूचनाप्रति असहमति जनाएको छ । कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार सूचना निकाल्दै बुढासुब्बा डिजिटल प्रालिको नामबाट प्रकाशित गरिएको सूचनासँग असहमति जनाउनुभएको हो । बुढासुब्बा प्रालिले निकालेको उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी प्रकाशित भएकोमा कोषको असहमति रहेको भन्दै उहाँले भन्नुभएको छ, ‘उक्त सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ ।’
पशुपति क्षेत्र विकास कोषको सहमति नभए पनि तोड्नका लागि कोषको बैठक बस्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी नआउँदै सहमति भएको रहेछ । त्यसलाई तोड्नका लागि परिषद् बैठक बस्नुपर्यो । एकजनाले तोडियो भनेर भएन,’ उहाँले भन्नुभयो ।
भएको सहमतिअनुसार बुढासुब्बाले पशुपतिनाथको कोर क्षेत्रमा कपीराइट लगाउन पाए पनि गंगा आरतीमा भने लगाउन नपाउने पुनको भनाइ छ । ‘गंगा आरती हामीले चलाएको होइन । त्यहाँ ब्राहृमणहरू हाम्रो कोषका कर्मचारी होइनन् । न हामीले स्वीकृति दिएको हो । हाम्रो घरै होइन भने हामीले कसरी बहालमा दिन्छौँ,’ पुनले भन्नुभयो, ‘परिसर हाम्रो हो । सम्पत्ति हाम्रो हो । तर, कार्यक्रम पशुपतिनाथ बागमती आरती समितिले सञ्चालन गरेको हो । त्यसमा हाम्रो संलग्नता छैन । त्यसैले त्यसको कपीराइट हामीले दिने कुरा होइन ।’
यता, बुढासुब्बा डिजिटल प्रालिले ‘श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ’ भनी सूचना निकालेको छ । साथै ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ ।’ बुढासुब्बा प्रालिले निकालेको यस्तो सूचनाप्रति कोषले असहमति जनाएको हो ।
बुढासुब्बा डिजिटल प्रालिले भने आफूले टेण्डरमार्फत प्रक्रिया पुर्याएरै भिडिओ खिच्ने अधिकार पाएकाले उक्त सूचना राखेको बताएको छ । यही वर्ष जेठ २२ गते पशुपति क्षेत्र विकास कोषले सूचना निकालेपछि नै आफू करारका लागि गएको उक्त कम्पनीका सञ्चालक नवराज गिरीले जानकारी दिनुभयो, ‘भिडिओ सुटिङका लागि एउटा टेण्डर खुलेको थियो मैले बिडिङ गरेँ अनि मलाई प¥यो भनेर मैले थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘यसपछि मलाई करार गर्न बोलाइएको हो । मैले एक करोड १४ लाख रुपैयाँ बैंक ग्यारेण्टी राखेर र एक लाख ८० हजार आठ सय रुपैयाँ तिरेर करार गरेको हुँ । तर, मैले काम गर्न पाएको छैन । आफूले त्यति रकम तिरे पनि युटुब प्रयोगकर्ताहरूले पशुपति क्षेत्रभित्रकै निषेधित क्षेत्रमा पनि भिडिओ खिच्ने वा लाइभ गर्ने गरेको देखेपछि आफूले सूचना लगेर मन्दिरभित्र राखेको उहाँले भन्नुभयो ।
पशुपति मन्दिर परिसरमा हुने गंगा आरती र दीप प्रज्वलनको भिडिओ खिच्ने अधिकार पशुपति क्षेत्र विकास कोषले कुनै एउटा निजी कम्पनीलाई दिएको भन्दै त्यसबारे व्यापक आलोचना भइरहेको छ । व्यावसायिक प्रयोजनका लागि अरू कसैले गंगा आरती र मुख्य क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाउने भनेर सूचना सामाजिक सञ्जालमा देखा परेसँगै यसको चर्को आलोचना भएको छ ।
तर, कोषका निमित्त सदस्य सचिव र कार्यकारी निर्देशकले भने पशुपति कोषले निर्णय गरेका बेला आफूहरू कोषसँग सम्बद्ध नरहेको भन्दै त्यसको कानुनी आधार र प्रक्रियाबारे अध्ययन भइरहेको बताउनुभयो । गंगा आरतीको भिडिओ खिच्न प्रतिलिपि अधिकार पाएको भनिएको बुढासुब्बा डिजिटल प्रालिले भने आफूले बोलपत्रमार्फत प्रक्रिया पु¥याएर नै त्यस्तो अधिकार लिएको र सूचना निकालेको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले हुँदै नभएको ऐनको हवाला दिँदै पशुपति आरतीमा कपिराइट सम्झौता भएको पाइएको छ । यी संस्थाले जारी गरेको एक सार्वजनिक सूचनामा पशुपति आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे ‘डिजिटल कपीराइट ऐन’अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको भए पनि नेपालमा त्यस्तो कुनै ऐन नभएको पाइएको हो । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सार्वजनिक कुरामा प्रतिलिपि अधिकार लाग्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच