विद्युत् बक्यौता वास्तवमा एउटा ठूलो समस्याका रूपमा रहेको छ । विद्युत्सम्बन्धी सम्पूर्ण जिम्मेवारी लिएको संस्था हो नेपाल विद्युत् प्राधिकरण । नेपालमा नेपाल टेलिकमबाहेक अन्य सरकारी स्वामित्वमा रहेका प्राधिकरण वा संघसंस्थाहरूमध्ये धेरैजसो घाटामा चलिरहेका छन् । यसको कारण त्यहाँ हुने अनियमितता नै हो । नेपाल वायुसेवा निगम अनेकौं अनियमितता खपेर जेनतेन घस्रिरहेको छ । यातायात क्षेत्रका ट्रली बस र साझा यातायात मित्रराष्ट्रहरूबाट उपहारस्वरूप पाएका भएर पनि ती धराशायी भए । निजी क्षेत्रमा एउटा गाडी किनेर चलाउने चालकले प्रत्येक वर्ष अर्को–अर्को गाडी थप्दै गएको देखिएको छ । साझा यातायातलाई पछिल्लो चरणमा निजी क्षेत्रबाट सञ्चालन गर्न थालेपछि त्यो राम्ररी चलेको प्रमाण हालका दिनमै देखिएकै छ ।
सञ्चार क्षेत्रमा पनि निजी क्षेत्रबाट सञ्चालित सञ्चार गृहको अवस्था सरकारीहरूको भन्दा राम्रो छ । गोरखापत्र संस्थानलगायतलाई टिक्न समस्या भइरहेको छ । नेपाल टेलिकममा पनि अनियमिता त होलान् तर त्यहाँ विद्युत् प्राधिकरणको जस्तो लाइनबाट कल चुहावट नहुने भएका कारण अन्य संस्थाको तुलनामा राम्रो गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणममा चाहिँ चुहावटबाट अनेकौं समस्या आइपरेका छन् । जनस्तरबाट अत्यधिक मात्रामा विद्युत् चोरी भएको देखिँदै आएको छ । बिजुलीसँगको काम खतरासँग खेल्नु पनि हो । त्यसले गर्दा बिजुली अंकुसे लगाएर चोरी गर्ने क्रममा मानिसहरूको ज्यान जाने गरेका घटना देखिँदै र सुनिँदै आएका छन् । यस्ता घटना कतिपय अवस्थामा नागरिकहरूको कमजोरबाट हुने गरेका छन् भने कतिपय अवस्थामा प्राधिकरणको कमजोरीबाट भएका छन् ।
नागरिकहरूलाई मिटर बक्स दिन नसक्ने तर उनीहरूकै घरअगाडिको बाटोबाट विद्युत्को तार लैजाने गरेका कारण नागरिकहरूले हुक लगाएर बिजुली बाल्ने गर्नाले त्यससम्बन्धी ज्ञान नभएकाले करेन्ट लागेर मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालको सम्पन्न संस्थामध्ये एक हो । यससँग धेरै संख्यामा गाडी छन् तर तिनको चरम दुरुपयोग हुने गरेको छ । राजनीति गरेर माथिल्लो पदमा पुगेका व्यक्तिहरूमध्ये धेरैले नेपाल विद्युत् प्राधिकरणका गाडी प्रयोग गरिरहेका हुन्छन् । यतिमात्र होइन पहिले त व्यापारी र माफियासँग मिलेर जनतालाई बिजुली नदिने दिए पनि लोडसेडिङका नाममा छोटो समय दिएर जेनेरेटर, इन्भर्टरलगायत विद्युतीय सामग्रीका व्यापारीहरूसँग मिलेमतो गर्ने गरेकाले विद्युत् उपभोक्ताहरूले ठूलो मार व्यहोर्नुपरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि लोडसेडिङको समस्याबाट उपभोक्ता मुक्त भएका थिए । यसकारण उहाँ जनताको प्रशंसाको पात्रसमेत बन्न पुग्नुभयो । उहाँकै कार्यकालमा विद्युत् चिममा भ्रष्टाचार भएको भनेर उहाँमाथि आरोपित गरिएको थियो तर उहाँले त्यसको प्रतिवाद गर्नुभएको थियो । अहिले आएर विद्युत् बक्यौताको प्रश्न उठेको छ । यसमा पनि उहाँ जोडिनुभएको छ । बिजुली उपभोग गरेबापत त्यसको बक्यौता नतिर्ने उद्योगपतिहरूले प्रधानमन्त्रीलाई समेत भेटेर आफ्नो बक्यौता माफी गराउने पहल गरे । आफ्नो बक्यौता माफी नभए उद्योगधन्दा र कलकारखाना बन्द हुने भनेर आफूप्रति सहानुभूति ग्रहण गर्ने प्रयास गरे ।
उद्योगधन्दा चलाएर करोडौं नाफा कमाएका धनी व्यापारीहरूलाई बक्यौता माफी दिनुहुँदैन, यसले गर्दा जनतालाई त्यसको मार पर्न जान्छ, जनताले बालेको घरायसी प्रयोजनको बिजुलीको पैसा भने ताकिता गरेर लिने तर ठूला व्यापारीलाई करोडौंको बक्यौतामा माफी दिने गर्नु भनेको जनताप्रतिको अन्याय हो भनेर आवाज उठिरहेको छ । यो यथार्थ हो तर ‘राजाका अगाडि बाबाको दुहाइ’ भने झैँ जनता बोल्न नसक्ने उद्योगपतिहरूले तोकआदेशबाट बक्यौता मिनाहा गर्ने काम भएको छ । प्राधिकरणले पनि काटिएको लाइन जोडिदिने भएको छ तर प्राधिकरणका ट्रेड युनियनहरूले यसको विरोध गरेका छन् र लाइन नजोड्न चेतावनी दिएका छन् । प्राधिकरणले यसप्रति बेवास्ता गरिरहेको छ ।
यस मामिलामा समस्त उपभोक्ताको साथ र समर्थन ती ती ट्रेड युनियनहरूको पक्षमा रहेको छ । जनताले घरायसी प्रयोजनमा उपयोग गरेको बिजुलीको मूल्य बढाएर उद्योगपतिहरूको बक्यौता मिनाहा गरिदिने कार्यलाई उचित भन्न कदापि मिल्दैन । यही विषयबाट कार्यकारी निर्देशक घिसिङको लोकप्रियता खस्किन पुग्ने निश्चित छ । भोलि उद्योगधन्दामा प्रयोग भएको करोडौं युनिट बिजुलीको बक्यौता बराबरको घाटा उपता गर्न नागरिकहरूको घरायसी प्रयोजनमा प्रयोग भएको बिजुलीको मूल्य बढाएर प्राधिकरणले उपता गर्न खोज्यो भने त्यो अप्रिय कदम साबित हुन जान्छ । पहिले दुरुपयोग र चुहावट रोक्नु प्राधिकरणको उचित कदम साबित हुनेछ । त्यसपछि मात्र यस्ता बक्यौताहरूमा पुनर्विचार गरिनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच