हराए गोठाला, उराठ बन्दै खर्क

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । एक दशक अगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र हजारौँ भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रसस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिका बाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ ।

भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् । खास गरि बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने कृषकको संख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरुलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसानै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ ।

तमानखोला गाउँपालिका–५ खुङ्खानीका रन बहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उहाँले दुई सय पचास बढी भेडाबाख्रा पाल्दै आउनु भएको छ । बाउ बाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आउनु भएको छ ।

१५ वर्ष अगाडि गाउँमा ४० घर परिवार भेडापालनमा आवद्ध भए पनि अहिले पाच÷सात घर मात्रै यो पेसामा रहेको उहाँको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरी हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउनुहुन्छ । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जंगल जानुको सट्टा बजार झर्ने गरेको उहाँको भनाइ छ ।

“हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौँदेखि पाल्दै आउका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेसी गरि रहेका छौँ” सिर्पालीले भन्नुभयो – “हामीभन्दा पाका मान्छे बिति सके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच÷सात साल आउँदैनन्, आए पनि वन जंगलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि ९मृत्युपछि० गाउँमा भेडाबाख्रा पाल्ने मान्छेनै हुने छैनन् ।”

ढोरपाटन नगरपालिका–९ का बुधबहादुर विक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आउनु भएको छ । बेला–बेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यत्ति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आउनु भएकोमा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्ष पहिले करिब ३० घरका छिमेकी पशुपालनमा आवद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाउनुभयो । छारो नातीले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उहाँको भनाइ छ । दशकौँदेखि सयौँको संख्यामा पशु पालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको विकले बताउनुभयो ।

उहाँले भन्नुभयो – “भेडाबाख्रा पाल्ने, वन जंगल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छेनै घट्न थालेका छन्, हाम्रो पालामा छ÷सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उतिै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पिर पनि हुँदैन ।”

तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठालाहरु अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकोमा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरि रहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सिमित हुने निश्चित जस्तो बनेको छ । किनकी नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा कृषकलाई आकर्षण गर्न विभिन्न कार्यक्रमहरु ल्याइ रहेको छ । त्यस्ता कार्यक्रमले दूर दराजका किसानलाई भने छुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको संख्या घट्दै गएको बताउनुभयो । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरि घाँस उत्पादन बढाउनुका साथै रोगको प्रकोपबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको डाक्टर सापकोटाको भनाइ छ ।

“पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले कृषकलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरि रहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरि योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ” डाक्टर सापकोटाले भन्नुभयो – “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यस तर्फ जोड दिएका छौँ ।”

बागलुङमा हाल साढे एक लाख भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुर लगायतका पशुचौपायाा रहेको प्रमुख डा। सापकोटाले जानकारी दिनुभयो । अहिले जिल्लाको दश वटै पालिकामा विभिन्न रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँ–गाउँमा पशु प्राधिकि खटाएको उहाँ बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?