
काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गर्नुभएको हो । सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गर्नुभएको थियो । प्राण प्रतिष्ठापछि प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेण्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रूपमा याद गरिने बताउनुभयो । उहाँले आजको दिनलाई हजारौँ हजार वर्षसम्म पढिने र स्मरण गरिने बताउनुभएको छ ।
उहाँले सयौँ वर्षको प्रतीक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेण्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताउनुभयो । ‘रामलला अब टेण्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहनेछन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा उहाँले भन्नुभयोे, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ ।’ उहाँले भूमि पूजनपछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढाएको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राण प्रतिष्ठापछि सबैमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताउनुभयो ।
उहाँले भगवान् रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताउनुभयो । उहाँले भारतको न्यायपालिकाप्रति आभारसमेत प्रकट गर्नुभयो । उहाँले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतीक भन्नुभएको छ । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्णरूपमा निरस्त भएको उहाँको भनाइ थियो । उहाँले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताउनुभयो । ‘राम आगो होइन, ऊर्जा हो । राम विवाद होइन, समाधान हो,’ उहाँले भन्नुभयोे, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राण प्रतिष्ठाले देखाएको छ ।’
उहाँले देशमा निराशाका लागि रत्तिभर स्थान नरहेको भन्दै अर्को एक हजार वर्षको सबल भारतको निर्माणका लागि आजकै दिन सबैले शपथ लिनुपर्नेसमेत बताउनुभयो । ‘अब भारतको समय हो, भारत अब अगाडि बढ्दै छ, हामी रुक्ने छैनौँ, विकासको उचाइमा पुग्नेछौँ,’ उहाँले भन्नुभयोे, ‘हाम्रो भविष्य अतीतभन्दा धेरै सुन्दर हुन गइरहेको छ ।’
राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो । मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए । सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो । सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए । मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको थियो ।
मस्जिद हटाएर बनाइएको थियो राम मन्दिर
अहिले राम मन्दिर रहेको स्थानमा १६औँ शताब्दीमा बनेको बाबरी मस्जिद थियो । त्यहाँको जमिनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतको हिन्दूको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो । अयोध्यामा बनाइएको राम मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ । हिन्दूहरूले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर, मुस्लिम समुदायले भने आफूहरूले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् । यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भड्किएको दंगामा कम्तीमा दुई हजार मानिसको ज्यान गयो । हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दू र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो । तर, भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरूकै हक लाग्ने फैसला गरेको थियो । साथै ट्रष्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो । अदालतको आदेशअनुसार राम जन्मभूमि ट्रष्टमार्फत अयोध्यामा भव्य राम मन्दिर बनाइएको हो ।
राम मन्दिर ७.२ एकड जग्गामा बनेको छ । मन्दिरको पूरै जग्गा भने ७० एकड छ । तीन तले राम मन्दिर बनाउन झण्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको अनुमान छ । मन्दिरको गर्भगृहमा सवा चार फिट अग्लो रामको मूर्ति राखिएको छ । ट्रष्टका अनुसार मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन राजनीतिक दलका नेता, प्रमुख सन्त, धर्म गुरु, नेता, कलाकार, खेलाडी, उद्योगी लगायतलाई निम्तो गरिएको थियो । केही हिन्दू सन्त नेता र विपक्षीहरूले भने राम मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रम बहिष्कार गरेका छन् । प्राण प्रतिष्ठालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
नेपालमा पनि उल्लास
अयोध्यामा प्राण प्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका थिए । कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् । सप्तरीको राजविराज नगरपालिकाले पनि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसैगरी, रौतहटका विभिन्न पालिकाका राम मन्दिरहरूमा पूजापाठ, सरसफाइ तथा माछामासु र मदिरा बिक्री वितरण बन्द गरिएको थियो । जनकपुरस्थित जानकी मन्दिर परिसरलाई फूल र मालाले सजाइएको थियो । त्यहाँ सोमबार सवा लाख दीप प्रज्ज्वलन गरिएको थियो । रामको ससुराली भनेर चिनिने जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपालका पवित्र जलाशयबाट संकलन गरिएको जल र उपहारहरू अयोध्या पठाइएको थियो । रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्रामसमेत अयोध्या लगिएको थियो । तर, त्यसको प्रयोग नगरी मन्दिर परिसरमै राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच