काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्व-उपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व-पदाधिकारी र प्राध्यापकसम्म रहेका छन् । एक कार्यकाल विश्वविद्यालय सेवामा पदाधिकारीको जिम्मेवारी पूरा गर्नेहरूको संख्या धेरै छ ।
दरखास्त दिने मध्येमा अधिकांश सत्तारूढ कांग्रेस र माओवादी निकटका प्राध्यापक छन् । एमालेनिकट केहीले पनि आवेदन दिएका छन् । बौद्धिक चोरीका आरोपीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी देखाएका प्राध्यापकको पनि दरखास्त परेको छ । केही आवेदक निजी कलेजका सञ्चालक रहेको समेत पाइएको छ । उपकुलपति छनोट, सिफारिस समितिले जारी गरेको कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको, त्रिविमा स्वार्थको द्वन्द्व रहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । आवेदनमाथि विज्ञ समूहबाट मूल्यांकन गरी ‘सर्ट लिष्ट’ तयार पार्ने समितिले जनाएको छ ।
खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो । कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १७ गते प्राडा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोक्नुभएको थियो । त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्य सञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ । यो तीन महिना माघ १७ गते सकिँदै छ । त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ । उपकुलपति माग गर्दै दुईपटक विज्ञापन गरिएको थियो ।
पुस २० गते उपकुलपति माग गर्दै पहिलोपटक विज्ञापन गरिएको थियो । उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रोपटक विज्ञापन गरिएको थियो । उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति पनि बनेको छ । यही समितिले उपकुलपति माग गर्दै आवेदन आह्वान गरेको थियो । आवेदन दिन १५ दिनको समय दिइएको थियो ।
समयभित्रै ४३ जनाले आवेदन दिएका छन् । विभिन्न विश्वविद्यालयका उपकुलपति भइसकेकाहरूले पनि त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन् । त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि आवेदन दिनुभएको छ । पोखरा विश्वविद्यालयका पूर्व-उपकुलपति केशरजंग बराल, नेपाल खुला विश्वविद्यालयका पूर्व-उपकुलपति लेखनाथ शर्मा, त्रिविकै पूर्व-उपकुलपति तीर्थ खनियाँ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले त्रिवि उपकुलपतिका लागि आवेदन दिएको समितिले जनाएको छ ।
यस्तै, चन्द्रमणि पौडेल, कुसुम शाक्य, गुणनिधि न्यौपाने, भीमसेन देवकोटा, कृष्णराज तिवारी, चित्रबहादुर बुढाथोकी, इन्द्र कार्की, महानन्द चालिसे, त्रिरत्न बज्राचार्य, केदारनाथ घिमिरे, राजकुमार पोखरेल, गोविन्द सुवेदी, संगीता रायमाझी, टंकनाथ धमला, प्रकाश घिमिरे, भोजराज अर्याल र एकराज ओझाले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् । साथै बालमुकुन्द रेग्मी, देव खड्का, अक्कलदेव मिश्र, प्रमोदकुमार झा, आनन्दबल्लभ जोशी, सञ्जय आचार्य, नारायणप्रसाद बेल्वासे, ऋदिशकुमार पोखरेल, ज्ञानेन्द्र पौड्याल, विनयकुमार झा, सूर्य थापा, बेदनाथ शर्मा, शुभनारायण पाठक, हेमराज पन्त, रामचन्द्र बस्नेत, विनोद पराजुली, महेन्द्र शर्मा, रामप्रसाद रेग्मी, नारायण पाठक र प्रकाश घिमिरेले त्रिवि उपकुलपतिमा आवेदन दिएको समितिको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नगर्ने प्रतिबद्धता जनाउनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न राजनीतिक दलका नेता तथा विद्यार्थी संघ संगठनहरूले पनि त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच