
श्रीस्वस्थानी व्रत कथाको यतिखेर अवसर आएको छ । हिन्दूहरूको घर-घरमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्याहृन र साँझ श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्दछन् । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालुहरूले पौष शुल्कपूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर व्रत सुरु हुन्छ ।
माघ शुक्लपूर्णिमासम्म व्रतावधिभर व्रतालुहरूले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो फलानो इच्छा, आकांक्षा पूरा होस् भनेर नदीमा बिसर्जन गरी बाँकी आफूले खाने चलन छ ।
हाम्रो समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ । जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छ भन्ने प्रसंग छ ।
विधिपूर्वक महिनादिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई परलोकमा मोक्ष प्राप्त हुने उल्लेख स्कन्दपुराणको केदारखण्ड र माघमाहात्म्य, पद्मपुराण आदि ग्रन्थले गरेका छन् । व्रत बस्नाले सुख, शान्ति र समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल हुन् । यी पवित्र स्थानमा श्रद्धालुजनको घुइँचो लाग्ने गरेको हुन्छ । ती स्थानहरूमा एक महिनाभर मेला लाग्ने गर्दछ ।
स्वस्थानी शब्द स्वस्थानमा ई प्रत्येय लागेर बनेको हो । स्वस्थान भन्नाले आफैंमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ आफ्नै वरपर रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका हिन्दूहरूले मात्र मनाउने र स्वस्थानी व्रतकथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किरातेश्वर, बागमती नदीलगायत क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वको रूपमा स्वस्थानीव्रतलाई लिइन्छ । महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ । हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ ।
यसमा अहंकारले विनाश गराउँछ भन्ने उपमाका लागि महादेवको बाहिरी स्वरूपलाई मात्र हेरेर आफ्नी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसंग स्वस्थानीमा छ । यसमा महादेवलाई नानाप्रकारले गाली एवं निन्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कुण्डमा हाम्फाली प्राणत्याग गरेको एकातिर छ भने अर्कोतिर नवराजकी स्त्री चन्द्रावती आफ्ना पति राजा भएको खबर सुनी चाँडोभन्दा चाँदो भेट्न लालयित भएकी चन्द्रावतीले स्वस्थानीको प्रसाद अहंकार गरेका कारणले ठूलो दुःख र कष्ट पाउनु पर्यो ।
त्यसरी नै यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नीबीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाङ, धतुरोको हिफायतसँग राखि दिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । यसर्थ देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंपतन भइसक्दा चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कत्तिको एकपक्षीयमात्र होइन भन्ने सन्देश पाइन्छ । त्यस्तैगरी यस कथामा परस्त्रीलाई आँखा गाड्नु हुँदैन भन्ने कुराको बोध पनि यहाँ स्पष्ट हुन जान्छ । जब कि जालन्धरले पार्वतीलाई छल गर्न गएको प्रसङ्गबाट छर्लङ्ग हुन्छ ।
यस कथामा पितृभक्तिको राम्रो किसिको सन्देश पनि दिएको पाइन्छ । नवराज गर्भमा रहेको बेला उनका पिता शिवशर्मा सुत्केरी खर्च जुटाउन विदेशीएका आफ्ना बाबुलाई खोज खबर गरी मरेको पत्ता लगाई पितृको उद्धार गर्ने कार्य गरे । अपितु धर्म शास्त्रमा भनिएको पनि छ, कुनै पनि पुत्रले पितृको उद्धार नगरी आफ्नो सुखभोगमा मात्र लाग्छ भने त्यो मनुष्य जहाँसम्म चन्द्रसूर्य रहन्छन्, जहाँसम्म पृथ्वी रहछिन्, तहाँसम्म घोर नरकमा पर्छ । यसैगरी स्वस्थानी कथामा पनि भनिएको छ, कसैमाथि पनि पूर्ण विश्वास गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको पाइन्छ ।
जबकी पार्वतीलाई छकाउन महादेव किरातरूप भई जंगलमा बसेको थाहा पाई पार्वती पनि किरातिनी रूप भई महादेवलाई आकर्षित गर्दा महादेव ती किरातीनी पार्वतीसँग विवाह गर्न तयार भए तर किरातीनी रूप धारण गरेको पार्वतीले आफ्नो घरमा जाऊ भनेर आफ्नो पिताको (हिमालय पर्वतको) घरमा लग्दा महादेव लज्जित भएका जस्ता कुरा स्वस्थानीको कथामा पाइन्छ ।
अन्तमा भन्नुपर्दा हाम्रो समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ । जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छ भन्ने प्रसंगले पनि हिन्दू धर्मालम्बीलाई गहकिलो सन्देश दिन खोजेको बुझिन्छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी महात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग आएको छ ।
र, स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राहृमणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तलाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौर्तफी विकास हुने कुरामा कसैको दुईमत नहोला । अतः हाम्रो समाजमा चलि आएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच