काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ(सिएनआई) र छ उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, सिएनआईतर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता गर्ने छ उद्योगमा लिटमस् इण्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इण्डष्ट्रिज प्रालि र रन शुज इण्डष्ट्रिज प्रालि रहेका छन् । सम्झौताअनुसार उल्लेखित उद्योगले कुल १६ सय ६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरूलाई प्रशिक्षण दिएर कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन् । प्रशिक्षार्थी कामदारको अधिकतम् तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारतर्फबाट केन्द्रले बेहोर्नेछ ।
सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल र विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा तथा विभागीय प्रमुख, उद्योग मन्त्रालयकी पूर्वसचिव यामकुमारी खतिवडा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, सिएनआई उपाध्यक्ष रोहित गुप्ता तथा सिएनआई रोजगारदाता परिषद सभापति ध्रुव रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्धन समिति सहसभापति तथा नेपाल तयारी पोशाक महासंघका अध्यक्ष पशुपतिदेव पाण्डेलगायतको पनि उपस्थिति रहेको थियो । मन्त्री रिजालले उक्त कार्यक्रम सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।
सिएनआई अध्यक्ष अग्रवालले भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि नौवटा उद्योगले २१ सय प्रशिक्षार्थीका लागि सिएनआईमार्फत् आवेदन दिएका थिए । तथापि पाठ्यक्रम तथा अन्य चुनौतीका कारण छवटा उद्योगसँग मात्र यस कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता हुन सक्यो । अन्य उद्योग इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १६ सय ६५ हाराहारीमात्रै रोजगारीका अवसर सिर्जना गर्न सकिएकाले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।’
उपाध्यक्ष गुप्ताले आगामी वर्ष कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगलाई समेट्नुपर्नेमा जोड दिनुभयो । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको कार्यक्रममा यस किसिमले सरोकार पक्षबीच त्रिपक्षीय सम्झौता हुनु ठूलो उपलब्धि भन्दै थप सफल बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच