गर्व लाग्छ कम्तीमा मेरा सन्तानका अगाडि यति महङ्गो भविष्य त छ नि ! आफ्नो त कहिल्यै भविष्य नै आएन । त्यसलाई किन सम्मान नगर्ने ? किन जोगाएर नराखिदिने ? किन सुन्दर नबनाइदिने ? आज मलाईजस्तो भोलि यिनीहरूलाई आफ्नो भविष्य सस्तो नलागोस् । मूल्यवान् भविष्य यिनीहरूले प्राप्त गरून् । भविष्य नै नभएको सस्तो वर्तमान सन्तानका हातमा राखिदिनभन्दा भविष्य नै नभएको मेरो वर्तमानको उपयोग गर्न उचित लाग्यो । त्यसको निम्ति मैले मेरो सस्तोमस्तो वर्तमानलाई किन उपयोग नगर्ने ? किन मैले थप दुःख नगर्ने ? किन मैले यो बुढ्यौतीको समय त्यसै खेर फाल्ने ? मैले उपयोग नगरे पनि मेरो यो बुढ्यौतीको समय त यसै पनि बेकारमा जान्छ । किन मैले यो खेर जाने समयलाई मूल्यवान् नपार्ने ? भन्ने लागेर जागिर खोज्ने उद्देश्यले एक दिन झिसमिसेमा म घरबाट निस्केँ ।
‘नमस्कार सर ! यति सबेरै कतातिर लाग्नुभो ? मैले सुनेको तपाईं त नयाँ जागिर खोज्न जान लाग्दै हुनुहुन्छ रे ? त्यतैको साइत त होइन ? सरकारी जागिरबाट भर्खरै मात्र पेन्सन आउनुभएको होइन र ? यति छिटै किन अर्को जागिर खोज्न हिँड्नुभयो त सर ? अनि यो उमेरमा अर्को जागिर !’ मनको सन्नाटालाई चिर्दै पछाडिबाट छिमेकी दाइले प्रश्न गर्दा म झसङ्ग भएँ । उज्यालो भएपछि गह्रौँ झोला बोकेर हिँड्दा कता ? किन ? भनेर नानाथरि उत्तर दिनुपर्ला भनेर झिसमिसेमै निस्केको पनि प्रश्नको सामना गर्नैपर्यो । मैले घर छोडेको कुरा यिनलाई कसरी थाहा भयो ? मैले त त्यति धेरै जनालाई यो कुरा भनेकै थिइन । कुरा भित्रभित्रै फैलिएको रहेछ । मेरो मुटुमै च्वास्स घोचेझैँ लाग्यो । मुटु बिझाउँदै कुरो भित्र छिरेपछि उत्तर दिन कर लाग्यो ।
‘एउटा उमेर हुँदोरहेछ दाइ ! जतिखेर सबै कुरा मेरै आफ्नै बनोस् भन्ने लाग्दो रहेछ । श्रीमतीसँगको जीवन रमाइलो लाग्ने कुनै समय थियो अब ती दिन पनि रहेनन् । अब त केवल सम्बन्धको औपचारिकता मात्र बाँकी छ ।’
गाह्रो साँघुरोमा मदतभन्दा बढी रमिता हेर्ने आफन्त, इष्टमित्र र छिमेकीहरूकै माझमा छु । यिनी पनि मेरो अवस्थामा रमिता हेर्नेमध्येकै हुन् । यस्तै धेरै कारणले म आफन्त, इष्टमित्र खासै कसैसँग सम्पर्क नै गर्दिन । त्यसो त सबैको जीवनका आआफ्नै समस्या हुन्छन् । अरुको समस्यामा ध्यान पु¥याउन कसलाई पो समय होेला र ? तर मलाई समाधान नभएपछि प्रश्न नै किन गर्नु भन्ने लाग्छ । कसैका प्रश्नको उत्तर दिनुपर्ने खाँचो मलाई छैन तर ती दाइको यस्तो बिझाउने अप्ठ्यारो प्रश्नको पनि उत्तर दिऊँ भन्ने लाग्यो ।
‘जागिरमा बानी परेकाहरूलाई घरबस्न मन लाग्दो रहेनछ दाइ ! त्यसमाथि सुरसाले जस्तो अभावले घरमा आँ गरेर बसेपछि ढुक्क बस्न कहाँ पाइँदो रहेछ र ? विपन्न हुनु पनि पापै रहेछ । विपन्नलाई आफ्नो जिन्दगी भन्ने नै हुँदो रहेनछ । सधैँ अरूकै निम्ति बाँच्न पर्दोरहेछ । कहिले साहुमहाजनको निम्ति, कहिले परिवार बालबच्चाको निम्ति, कहिले जोरीपारीको निम्ति र बुढेसकालमा अस्पतालको निम्ति । हिजोहिजो लाग्थ्यो घर छ, श्रीमती छ, छोराछोरी छन्, जागिर छ, साथीसँगी छन् संसार मेरै हो । जागिरबाट निस्केपछि ती सबैसँग रमाएर आनन्दले घरमा बसेर परिवारका साथमा रिटायर्ड लाइफ इन्जोय गर्ने हो । बर्षौंदेखिको सँगै बस्ने तृष्णा मेटौँला, रहर पूरा गरौँला । अनि पो रमाइलो होला जीवन ! भन्ने सोचिन्थ्यो तर ख्यालख्यालमै ती रहर र सपना कता बिलाउँदा रहेछन् । र त्यस्तो त सायद कल्पनामा मात्र हुँदोरहेछ दाइ । ‘घरमा धेरै बस्नु नै भएन त ? दुईचार महिनामै हिँडिहाल्नुभयो त सर ?’
‘यस्तै रहेछ दाइ थाहै नपाई परिवारको स्वभाव फेरिएको हुँदोरहेछ । अभावले घरमा डेरा कसेपछि रुपैयाँपैसा खाँचो र अम्मल बनेको हुँदोरहेछ थोरै यताउता भयो कि चुरोटको झैँ तलतल लाग्ने । नियमितजसो आउने रकमका आधारमा बन्ने गरेका खाँचा र आवश्यकताको आफ्नै रुटिन हुँदो रहेछ । सुमधुर सम्बन्धको न्यानोमा पैसा खाँचो र आदत बनेपछि व्यक्तिभन्दा पैसा महत्वपूर्ण हुँदोरहेछ । केही समय घरमा बस्दै यो कुराको अनुभव भयो । अनायासै लाग्दो रहेछ यतिका समस्या छन् घरमा पाइलापाइलामा पैसाको कति खाँचो छ । कतै कामको खोजीमा नगएर यो बुढो किन घरमै बसेको होला ? श्रीमतीको व्यवहारले नै यस्तो भनेजस्तो सुनिँदो रहेछ । छोराछोरीले यसो आफूतिर फर्केर हेर्दा पनि पैसै माग्न खोजेजस्तो लाग्दो रहेछ । अनि लाग्दो रहेछ यो घरमा अरू सबैको कुनै न कुनै काम छ म मात्र यस्तो बेरोजगार हुँ जसलाई घरकाले सित्तैमा खान खुवाउन परिरहेको छ ।’ ‘त्यस्तो तपाईंलाई लागेको होला घर भनेको घरै हो नि सर !’
‘एउटा उमेर हुँदोरहेछ दाइ ! जतिखेर सबै कुरा मेरै आफ्नै बनोस् भन्ने लाग्दो रहेछ । श्रीमतीसँगको जीवन रमाइलो लाग्ने कुनै समय थियो अब ती दिन पनि रहेनन् । अब त केवल सम्बन्धको औपचारिकता मात्र बाँकी छ । परिवारसँगका रमाइला दिन कुन सड्को थाहै नपाई अरूतिर सरिसकेका हुँदारहेछन् । खाँचो, खाँचो अनि खाँचो । त्यो सबै कुरा हामीबीचको प्रेमले प्राप्त हुँदैन भन्ने कुरा बुझ्नै मलाई धेरै वर्ष लाग्यो तर यस्तो समय पनि आउँदो रहेछ श्रीमतीसँगको बिस्तरा पनि न्यानो र सुरक्षित लाग्दो रहेनछ । श्रीमतीलाई पनि लोग्नेको ठाउँ पैसाले लिँदोरहेछ ।
घरमा कि अभावका कुरा हुन्छन्, कि छोराछोरीको भविष्यका कुरा हुन्छन् । खाना उनैका निम्ति, नाना उनैका निम्ति, सपना उनैका निम्ति, बिपना उनैको निम्ति । यहाँ त आफ्नो भन्ने वस्तु नै हुँदोरहेनछ । केही वर्ष पहिलेसम्म मलाई प्राणप्रिय भन्ने पत्नी अहिले सन्तानको हेरचाहमा रमेको पाउँछु । मेरो प्राण पनि उतै सरेजस्तो लाग्छ । यसो छाती छाम्छु जीवन त छ तर जीवन्त छैन सम्बन्ध । श्रीमतीका इच्छाका कुरा हुन्छन्, उनकै योजनाका कुरा हुन्छन्, उनैका स्वास्थ्यका कुरा हुन्छन् । घर छ तर भनेजस्तो छैन, भान्सा छ तर डेकोरेसन छैन, पलङ छ तर पलङ सुहाउँदो बिस्तरा छैन ।
घाँटी रित्तै छ कान बुच्चै छन् । माइली तिलहरी नै रहरको कुरा भयो रानीहारका कुरा टाढै रहे । पार्किङ छ पार्किङ सुहाउँदो सवारीसाधन छैन । मेरा कुरा त कतै आवश्यक नै ठान्दोरहेनछ कसैले । खोइ के हो ? लोग्ने मानिस घरमा यसै बस्दा त पैसा कमाउने मेसिन नै बिग्रेजस्तो ठान्दा रहेछन् घरकाले । यसरी उमेरमै अनावश्यक हुन मलाई कत्ति उचित लागेन । अझै पनि घरमा मभन्दा मेरो कमाइले नै बढी महत्व पाउने समय रहेछ । मेरो समय आएपछि फेरि घर आउँला भन्ने लागेर म घरबाट हिँडेँ ।’
अनि नि दाइ ! धेरै समय एक्लै बसेपछि एक्लो बसाइ नै प्रिय लाग्न थाल्दो रहेछ । आफ्नै प्रकारको जीवनशैली, आफ्नै प्रकारको आहारविहार, आफ्नै प्रकारका साथीसँगी, आफ्नै प्रकारको भान्सा, आफ्नै प्रकारका समस्या र आफ्नै प्रकारका समाधान पनि । कसैलाई दुःख बिसाएर पनि केही हुँदैन भन्ने जानकारी, कोही आफ्नो छ जस्तो पनि नलाग्ने अनुभूति । यतिसम्म कि श्रीमतीको माया, सन्तानको आफूप्रतिको लगावका पनि आर्थिक मूल्यका हुँदा रहेछन् भन्ने बोध । आफ्नो मूल्य महिनावारी तलब, भत्ता र पेन्सनको आयमा परिणत भएपछि बाँच्ने आकर्षण पनि कम हुन थाल्दो रहेछ । कुनै व्यक्ति धनमा रमाउँछ, कुनै परिवारमा रमाउँछ, कुनै छोराछोरीमा रमाउँछ, कुनै श्रीमान् श्रीमतीसँग अनि श्रीमती श्रीमान्सँग रमाउँछन् र कोही घरमा आफ्ना भए पनि बाहिर रमाउँछन् ।’
‘अब कति दुःख गर्नुहुन्छ र सर यतिका वर्ष जागिर खाएर केही त जोड्नुभएको होला ? त्यसमाथि सरकारी जागिरमा त थाहा नपाएरै पैसा आउँछ भन्छन् । सरको जागिर कस्तोमा थियो कुन्नि ? त्यसैलाई उपयोग गर्नुपर्छ ? फेरि अवकाशपछि त केही रकम एकमुष्ट आउँदैन र ? त्यो सबै खर्च गर्नैका लागि त हो नि ? खाँचो र रहर त कहिले पूरा हुन्छन् र ? चित्त बुझाउनुपर्छ । त्यसपाथि उमेर पुगेका सन्तान छन् । अब त तिनले गर्ने होइन र सधैंभरि बुढो बाबुले नै गरिदिएर कति हुन्छ ? बाबुआमाले सानो छउन्जेल डो¥याउने हो । आँखा देखाउने हो, हात खुट्टा दरो पारिदिने हो, बाटो देखाउने हो अनि उनीहरूले पनि बाटो पहिल्याएर हिँड्नुपर्ने होइन र ? अहिलेका सन्तानलाई जस्तो हिजो हामीलाई कसले गरेको थियो र ? त्यही पनि खाइएकै छ ।’
केही गर्छु भनेर घरबाट त हिँडेँ तर मसँग कुनै सुरक्षित गन्तव्य थिएन । कहाँ जाने ? के काम गर्ने ? टुङ्गो थिएन । हिजो मैले जुन जागिरबाट पेन्सन पकाएको थिएँ त्यो काम गर्न मसँग उमेर थिएन र समय पनि थिएन ।
‘चित्त त दुःखेको छ नि दाइ ? जीवनभर जागिर खाएर पनि ढुक्कसँग जीवन निर्वाह गर्न नसक्नुको पीडा मलाई छैन र ? हामी नेपालीको यो कठोर बाध्यता हो । म रहरले हिँडेको कहाँ हो र ? मेरो जस्तो अवस्था भएका नागरिकलाई देखेर त यो देशले नै चिन्ता गर्नुपर्ने हो । आफ्नो अवस्था सबैलाई भन्दै हिँड्ने कुरा आएन । के कति रकम आयो ? के कस्ता ठाउँमा गयो त्यो सबै त मलाई नै थाहा छ । बाहिरका सबै मानिसलाई हिसाब बुझाउँदै हिँड्ने कुरा पनि आएन । दाइले भनेजस्तो सजिलो भए म किन हिँड्थेँ र ? जेजस्तो भए पनि मेरो कुरा हो दाइ ।’
‘हो हुन त सर ! मलाई पनि के चासो थियो र ? मैले तपाईंका समस्या समाधान गर्न सक्ने पनि होइन तैपनि यसो मन बिझाएर जिज्ञासा राखिहालेँ माफ गर्नुहोला ।’
‘सन्तान त छन् नि दाइ सबैले भने अनुसार अब्बल खालका छन् । यिनीहरूले मौका पाए गर्छन्, संसारलाई चकित पार्न सक्छन् । कसरी हुन्छ यिनीहरूलाई यिनको सुरक्षित भविष्य देऊ कतैबाट पनि कुनै प्रकारको अभाव र अपूर्णताको आभास हुन नदेऊ भनेर सबै आफन्तले भन्छन् । मलाई पनि तिनका अनुहार हेर्दा त्यस्तै हो जस्तो लाग्छ । तिनको भविष्य त जसरी पनि बनाउनै पर्यो । भविष्यमा आँच आउन दिन त पटक्कै भएन । मैले आफ्नो घुर्मैलो अतीत सम्झेँ । भर दिने घर भइदिएको भए म पनि आफ्नो भविष्य राम्रै पार्थें होला भन्ने लागिरहन्छ आज पनि । सन्तानलाई आफूजस्तो पारिदिन पनि भएन । उनीहरूको सुकिलो भविष्यको कल्पनामा धेरै वर्षदेखि मैले लगाएका अर्धाना लुगाले पेन्सन आएपछि पनि साथी पाएनन् ।’
‘आमाले वर्षौंदेखि आधा पेट खाएको, बाबुले वर्षौंदेखि अर्धनो लाएको पनि तिनैको निम्ति हो । मैले एकजोर लुगा फेर्न सकिन श्रीमतीलाई मन लागेको कुरा किनिदिन सकिन । सन्तानको भविष्य नै यति महङ्गो छ तिनैको भविष्य किनिदिँदा र अझै पनि किनिदिइरहन पर्दा मैले पेन्सन निस्केर आएको पैसाले बाटो लियो, मैले बिसाउने फुर्सद पाइन । मेरै हातमा बसेको सन्तानको उज्यालो भविष्य, पत्नीका सुन्दर सपना सबै सबै त मेरै परिश्रममा फुल्दा र फल्दा रहेछन् अनि म कसरी बिसाउन सक्छु र दाइ ? कसरी समय खेर फाल्न सक्छु र ? जतिसक्दो यो समयलाई आफ्नो पक्षमा पार्नकै निम्ति मैले पुनः घर छोडेँ दाइ ।’
अवश्य केही गर्छु भनेर घरबाट त हिँडेँ तर मसँग कुनै सुरक्षित गन्तव्य थिएन । कहाँ जाने ? के काम गर्ने ? टुङ्गो थिएन । हिजो मैले जुन जागिरबाट पेन्सन पकाएको थिएँ त्यो काम गर्न मसँग उमेर थिएन र समय पनि थिएन । घरमा त्यसै झोक्रिएर बस्दा झ्यास्सै लागेको दोस्रो काम त्यति सजिलै पाउन सक्ने अवस्था पनि थिएन । मैले हिजो अवकाश हुने बेलामा मेरा कार्यालयका हाकिमले मेरो प्रशंसामा भनेका मधुर वाणी सम्झिएँ । मेरो कर्तव्य र इमानदारीको सराहना गरेर कुनै दिन आवश्यक परे हामीलाई सम्झिनु भनेकाले मैले पहिलो कर्तव्य उनै हाकिमलाई भेट्ने ठानेर उनैकहाँ गएँ ।
तर, विडम्बना त्यति मिठो बोलीमा हिजो मेरो सराहना गर्ने मेरा पूर्वहाकिम राम्ररी बोल्नसम्म मन गरेनन् । म निराश भएँ । मेरो बलियो भरोसा टुटिसकेको थियो । अब यसपछिको गन्तव्य झनै अँध्यारो लाग्दालाग्दै पनि पूर्वक्षितिजमा उज्यालो भेटाउने आशामा अज्ञात गन्तव्यको खोजीमा हिँडेको छु, पाइला रोकिएका छैनन् । प्रिय नानीहरू तिमीहरूको सुन्दर भविष्य खोज्नको निम्ति तिम्रो बाबु जेजस्तो मूल्य चुकाउन पनि तयार छ । तिमीहरू निराश नहुनू ल !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच