काठमाडौं । प्रहरी नियमावली २०७१ को परिच्छेद-५ मा सरुवासम्बन्धी व्यवस्था उल्लेख छ । उक्त परिच्छेदको दफा-५० को उपदफा (१) अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा नगरिने उल्लेख छ । एक वर्ष नपुग्दै सरुवा गरिएमा त्यसको कारणसमेत खुलाउनुपर्ने भनिएको छ । यसको अर्थ एक वर्षभन्दा अघि सामान्यतः सरुवा नगर्ने तर एक वर्ष अवधि पुगेपछि सरुवा गर्ने हुन्छ । सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सामान्यतया प्रमुख भएर नेतृत्व गरेकाहरूको एक वर्षको अन्तरमा सरुवा गर्दै आएको छ । सरुवाले नेतृत्वको विकाससँगै जिम्मेवारी बाँडफाँडमा समेत समानता हुन्छ । सोहीअनुसार प्रहरी प्रधान कार्यालयले एक वर्षको अन्तरमा नियमित सरुवा पनि गर्दै आएको छ ।
सरुवा अवधि पुगेका विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा अझै हुन सकेको छैन । प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको छ । तर, ६ जिल्ला प्रहरी प्रमुखले कमाण्ड गरेको १३ महिना सकिन लाग्दा पनि उनीहरूको सरुवा हुन सकेको छैन । झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमाण्ड सम्हालेको १३ महिना पूरा भएको हो । उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो । त्यस्तै, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाको एसपीले समेत कमाण्ड सम्हालेको एक वर्ष पूरा भएको छ । यी जिल्लाहरूमा गत वर्षको १९ पुसबाट एसपीहरूले कमाण्ड सम्हालेका थिए । तर, उनीहरूको नियमित सरुवा रोकिएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो । प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सृजना गरेपछि सरुवा नै अवरुद्ध भएको हो ।
प्रहरी प्रधान कार्यालयलाई एसपीमा बढुवा गर्न पनि सकस परेको छ । एसपीको आठ रिक्त पदका निम्ति १२ प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिस्पर्धामा छन् । उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ गते डिएसपीमा बढुवा भएका थिए । उनीहरू सँगैका केही डिएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डिएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् । १२ डिएसपी मध्येबाट अहिले आठजना एसपीमा बढुवा हुनेछन् । गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको थियो । एक साता अघि मात्रै अर्का एसपी रमेश बस्नेतसमेत एसएसपीमा बढुवा भएसँगै रिक्त संख्या आठ पुगेको हो । आठजना बढुवा हुँदा अझै चारजना छुट्ने भएपछि प्रहरी प्रधान कार्यालयलाई सकस परेको हो ।
सरुवा रोकिँदा कार्यक्षमतामै असर पर्छ : पूर्वएसपी रेग्मी
लामो समय कर्मचारी प्रशासनमा बसेर काम गरेका पूर्वएसपी रवीन्द्र रेग्मी नियमित सरुवा रोकिँदाको असर व्यक्तिगतदेखि नतिजासम्म पर्ने बताउनुहुन्छ । सरुवा रोकिँदाको असर नेतृत्व विकास, नतिजा, स्वार्थकेन्द्र हाबीसम्म हुने गरेको उहाँको भनाइ छ । ‘सरुवा गर्नुको सैद्धान्तिक कारणमध्ये एउटा जब रोटेसन हो । कसैलाई चार वर्ष ठानामा राखेर डिएसपी बनायो भने भोलि त्यो प्रहरीको गण वा हेडक्वार्टरमा सरुवा भयो उसले काम जान्दैन । त्यो भएर पनि समय समयमा सरुवा आवश्यक पर्छ । अर्को नेतृत्व तयार गर्ने कुरा पनि यहीसँग जोडिएर आउँछ । जसले सबै प्रकारको जब भेराइटी जान्दछ उसैले सबै प्रकारको चुनौती फेस गर्न सक्छ’, रेग्मीले भन्नुभयो, ‘अर्को भनेको प्रशासनिक हिसाबबाट हेर्ने हो भने ‘डिस्ट्रीब्युसन अफ इक्वल अपरच्युनिटी’ हो । सबै कर्मचारीले बराबर चुनौती फेस गर्ने अवसर पाउनुपर्छ भन्ने हो । कसैले एक ठाउँको पाउने कसैले त्यो पाउँदै नपाउने हुनुभएन । अब यो किन गरिएनभन्दा सरुवा नहुनु कर्मचारीको दोष होइन । व्यवस्थापकीय पक्षको कमजोरी हो । सरुवामा अवरोध भनेको पोलिसी मेकरहरूको हुन्छ । पोलिटिकल कारणबाट हुने हो । विभाग सामान्यता नियमित रूपमा सरुवा होस् भन्ने चाहन्छ । किनभने इन्स्पेक्टरको गुनासो मन्त्रीकोमा जाँदैन । बढीमा आउने भनेको डिआइजीसम्म होला ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच