काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकास अभियानले गति लिन सुरु गरेको दाबी गर्नुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको दाबी गर्नुभएको हो । अर्थमन्त्री महतले भन्नुभयो, ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौँ, हामी गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यहीँ केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔँ ।’
विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनाशकारी भूकम्प, कोरोना रोगको संक्रमणलगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उहाँको भनाइ थियो । अर्थमन्त्रीले भन्नुभयो, ‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजस्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटक आगमन अझ बढ्ने छ, आत्मविश्वास जगाऔँ, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजस्व बढ्छ । राजस्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’
देशको अर्थतन्त्र सुधारको लयमा फर्कंदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको अर्थमन्त्री डा. महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्पत्ति त क्षति हुन सक्छ तर पढेको कुरा कसैले खोस्न सक्दैन । सीप छ, पढाइ लेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकतामा राख्न म अभिभावकहरूसँग अनुरोध गर्छु ।’
बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन उहाँले अभिभावकलाई आग्रह गर्नुभयो । स्कुलमा शिक्षक साथीहरूले मिहिनेत गरेर पढाइदिन आग्रह गर्दै अर्थमन्त्रीले भन्नुभयो, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्प्युटरबाट पढाउन दक्ष हुनुपर्छ । शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन ।’
आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत् वैदेशिक लगानी भित्र्याउन कोसिस गरिने भन्दै उहाँले असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमा नै आयोजना गर्न लागिएको बताउनुभयो । देश सकारात्मकतर्फ अघि बढेको भन्दै उहाँले केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्याउनुपर्ने र भ्रम तथा नकारात्मक टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो ।
बेलकोट भञ्ज्याङ माविको स्वर्ण जयन्तीका अवसरमा अर्थमन्त्रीले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासमा मागअनुसार प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच