✍️ कलानिधि दाहाल
अक्ल्यान्डको यस साहित्यिक माहोलको कलेबोल सम्भवतः तरङ्गित भयो । एकसुरको मानसिकतामा अर्को सुरको घोचिने सुइरो आउनासाथ माहोल वावातावरण तात्नु वा चिसिनु आश्चर्य थिएन । विदेश भन्नु नै अनुशासनले भौगोलिक विकास भएको गोलाद्र्घ हो वा क्षेत्र हो । यहाँ नियमलाई महत्व दिइन्छ । मेशिनलाई शिरमा राखेर इन्द्रियका नसाहरू घुमाइन्छ । औपचारिकताका खेतीमा चिल्लाचापुल्ला हुनु विदेशको सही अनुहार हो । खटाएर नियमबद्घ तरिकाले यताउति नलगी जिब्रा उचाल्नु विदेशको भित्री बोली मिजास हो । यसले बाहिरी आवरणमा औपचारिकताका सुकिला खोल त ओढाउँछ तर मानवीय अन्तरआवाजको अनुहार त्यसमा रहन्न ।
साहित्य अनुशासन हुँदै होइन, औपचारिकताका लेसमात्रले पनि कलाको छानो भत्काउँछ र असाहित्यिक फोहोरहरू छरिएका भाँडाकुटीझैँ छरपष्ट हुन्छन् । यसै स्थितिको उद्घोष मैले नाङ्गा शब्दमा, नचिल्लिएका, नमाझिएका, भित्र चस्स अर्थ संवेद्य हुनेगरी प्रहार गरेको थिएँ जुन यथार्थ पनि हो । सच्चा साहित्यिक व्यक्तित्वबाहिर झिलिमिली बुझ्नसम्मका लागि कुनै भौतिक मर्करी बलेका ठाउँमा जानुलाई आश्चर्य नमानिएला, मान्नु पनि हुन्न । उतै थर्पु जमाउने हिसाबले कोही दगुर्छ भने साहित्यिक उचाइ चुम्न असम्भव हुन्छ ।
अध्ययनको अथाह गहिराइ सदाबहार साहित्य लेखनका लागि सहज तर अनिवार्य सर्त हो । नेपाली कृतिको ‘क’ उपलब्ध नहुने ठाउँमा न्युजिल्याण्डमा मात्रै होइन कुनै नेपाली रहेका विदेशी मुलुकमा सम्भावना छैन । साइबरीय माध्यमको प्रचण्ड घाम लागिसकेको अहिलेको विश्वमा त्यता जान सकिन्छ तर समय ?
मैले यिनै सन्दर्भ साक्षी राखेर केही महत्वपूर्ण कुरा त्यहाँ व्यक्त गरेँ । कुनै क्षेत्रको माथिल्लो सिँढी उक्लन मनले वचनले र कामसमेतले समर्पित हुनु नै पर्छ । साहित्य लेखन ठट्टा होइन । यसमा पनि यसको अझ बढी आवश्यकता पर्दछ तर न्युजिल्याण्डका साहित्यिक मानस जगत्मा यो सोच चाहेर पनि वातावरणले जन्मन दिँदैन । न्युजिल्याण्डमा मात्र नभएर नेपाली पुगेका सारा विश्वको स्थिति यही हो । भौतिक प्रलोभनको लालसा सँगालेर विदेश छिर्ने भनेको नै साहित्यिक समर्पणको शून्यमा पुग्नु हो ।
अध्ययनको अथाह गहिराइ सदाबहार साहित्य लेखनका लागि सहज तर अनिवार्य सर्त हो । नेपाली कृतिको ‘क’ उपलब्ध नहुने ठाउँमा न्युजिल्याण्डमा मात्रै होइन कुनै पनि नेपाली रहेका विदेशी मुलुकमा सम्भावना छैन । साइबरीय माध्यमको प्रचण्ड घाम लागिसकेको अहिलेको विश्वमा त्यता जान सकिन्छ तर समय ? यसर्थ यसको पनि सम्भावना नरहने हुनाले औँसी पूर्णिमामा मात्र देखिन÷देखाउन खोज्नुको औचित्य होला तर सार्थकता रहन्न ।
अध्ययनसँगै लेखनको बेजोड बहार साहित्यिक मनोजगत्का लागि अनिवार्य सर्त हो । लहडमा क्षणिक तालीकै लागि लेख्ने स्रष्टामा यो लागु हुँदैन अनि परम्पराकै बाटो हिँडेर तिनै गाइने भजनहरू, तिनै बाबुआमाका गन्थनहरू, तिनै देशका फलाकाहरू, तिनै पारिवारिक गथासाहरू गाउनेका लागि त यी केही आवश्यक छैनन् तर सच्चा साहित्यिक पथ निर्माणकका निमित्त यो अपरिहार्य छ । यो कुनै विदेशका देशमा रहने नेपालीलाई सम्भावना नै रहन्न ।
लक्षित सङ्कल्प भान्सामा भात पकाउनेका लागि पनि अपरिहार्य हो । कुनै अन्य बहानाबाजी सफलताका सम्भावित सङ्केत होइनन् । केटाकेटी हेर्नु छ, घरको रखबारी गर्नु छ, कामधन्दा छन्, सबै सकेर निस्केको वा उब्रेको समयमा कोरेको हूँ जस्ता बहानाका सिकारीहरू कुनै क्षेत्रमा सफल हुँदैनन् । विदेशमा त कुरै छाडौँ नेपालमै भदौरे च्याउजस्ता साहित्यकारको जमात खडा हुनु यसकै परिचायक हो । यसले भोलिको उज्यालो सङ्केत कदापि गर्दैन ।
निरन्तर जुनसुकै पेशा र यात्राका लागि अपनाउनै पर्ने अपरिहार्य तत्व हो । आक्कलझुक्कलका गतिविधिले यसमा बाधा हाल्नेमात्र होइन–आँधीतुफान नै ल्याउँछ । लहडमा लेखिएका कुराहरू अक्षर होलान्, शब्द र वाक्य होलान् साहित्य हुँदैनन् । विदेशी नेपाली मित्रहरूको समग्रलाई एउटै वाक्यमा भन्ने हो भने यही स्थिति छ । न्युजिल्याण्डमा प्रवेश गर्नासाथ नामोच्चारित हुने साहित्यकार भनेकै नमिता दवाडी, वीरेन्द्र केसी, सुलभ भारती, टीका सुवेदी, दीपक लामिछाने, सञ्जय शान्ति सुवेदीहरू हुन् ।
उनीहरूमा समेतमाथि भनिएका अपरिहार्य सर्त मनमस्तिष्कमा जन्मन सकेका छैनन् । न्युजिल्याण्ड भनेकै प्रथम विश्वकै देशहरूमध्येको निकै उत्कृष्ट देश हो । क्षेत्रफल बढी, जनसङ्ख्या एकदमै कम, सर्तहरू पूरा गरेपछि कामको राम्रो सुविधा भएको सिर्जना स्रोतका लागि प्राकृतिक सौन्दर्यको स्वर्ग मानिने देशको नेपाली साहित्यिक मनको त यति हल्का हालत छ भने अन्य देशका नेपाली साहित्यिक मनस्थितिको हालत स्पष्ट छ ।
यिनै कुराका तथ्यगत अवस्था नाङ्गा शब्दमा ओकलेपछि एउटा संवेदित विश्वासमा हिँडेका मित्र मानसिकतामा भूकम्प जानु अनौठो थिएन । कति मित्रहरूले यसलाई सहज स्वीकारेको पाइयो । यसको उत्तर सजिलैसँग उनीहरूले दिए । सही हो को सन्दर्भमा, सकभर पुस्तान्तरणको प्रयास हामी गर्छौं भन्दै एकजना मित्रले यिनै क्रियाकलापबाट प्रभावित भएर आफ्नो छोराले वा छोरीले कविता लेखेको सन्दर्भ ल्याए ।
अन्यले पुस्तान्तरण असम्भव छ प्रयास गर्दैनौँ तर हामीलाई आवश्यक भएकाले संस्था सञ्चालनबाट, साहित्यिक लेखनबाट विमुख हुन चाहिँ कदापि नसक्ने हिम्मतिला निष्कर्ष सुनाएपछि बाहिर त केही भनिनँ तर भित्रभित्र म गद्गद नभइरहन सकिन ।
सच्चा साहित्यिक सिर्जना व्यक्तित्व बोकेका व्यक्तिहरू देशबाट विदेश होइन, विदेशबाट नेपाल फर्कन्छन् । धनले साहित्यिक व्यक्तित्व निर्माण गर्ने होइन बरु साहित्यिक व्यक्तित्वले धन चाहिँ सहज रूपमा आर्जन गर्न सक्छ मरुभूमिमा रहेर पनि ।
विदेश छिरेको पहिलो पुस्तामा यो मोहनी छ-साहित्यिक लेखनको, भाषिक अडानको, यसतिर नै समर्पित हुने अन्तरमनको तर कार्यरूप सबल किसिमले आउन उनीहरूकै दोस्रो पुस्ताले दिँदैन । यस पुस्तालाई यताकै भाषिक/साहित्यिक संस्कारमा राख्ने हो भने त्यताको भिखारी नै बनाउनुपर्छ । त्यताको समाजसँग प्रतिस्पर्धी बनाएर जीवनयात्रामा अगाडि बढाउने हो भने यताको ‘क’ समेत नजान्ने स्थिति सिर्जित हुन्छ ।
नेपाली समालोचकहरू पुङ्नपुच्छरका फुँदा जोडेर डलर स्वार्थले उनीहरूका सही अवस्थाको मूल्याङ्कन नगरी ठूल्ठूला तारे होटलमा प्रशंसाका पुल निर्माण गरेर मख्ख पारिदिँदै उनीहरूका विकसित हुनसक्ने सम्भावनाका सबै बाटा बन्द गरेर पङ्गु बनाउँछन् । जे गरे केही त गरे, जे गर्छन् केही छन् भन्नु सिवायको अवस्था विदेशमा राम्रा साहित्यकारको छैन । अमेरिकाजस्तो ठाउँमा बसेका लालगोपाल सुवेदी, गोवद्र्घन पूजा, सुदीपभद्र खनालसम्म यसै अवस्थाबाट घिस्रिरहेका छन् ।
बरू धनार्जनको लक्ष्य शिरमा राखेर अमेरिकाको माहोलमा परिभ्रमित सर्वज्ञ वाग्लेलाई अहिले साहित्यले निकै मोहनी लगाएको छ । हेरौँ उनी कहाँसम्म अगाडि बढ्छन् । अमेरिकामै रहेकी रश्मि भट्ट चासो भएकी, लागी पनि रहेकी छिन् तैपनि कसमसहरू धेरै बाँकी छन् । अमेरिकामा नै रहेकी दुर्गा रिजालजस्तो छन्द कवितातिर राम्रो झुकाव भएकी हुन् तर औँसीपूर्णिमा मात्र । कति आशा गर्न सकिन्छ-भोलि देखिएला ।
तथ्यको टुङ्गो एकै ठाउँमा लाग्छ ट्वाक्क । सच्चा साहित्यिक सिर्जनाका मन भएका व्यक्तिहरू विदेश गएपछि टाट पल्टेका छन् । भलै उनीहरू भौतिक रूपमा धरहराको टुप्पो छोएको अनुभव गर्लान् तर त्यसको अर्थ के ? गोल्छाको उचाइ कति छ र कुशल सारङ्गीवादकको उचाइ कहाँ छ ? चौधरीको चमक कति समय रहला, देवकोटा कहिले अस्त होलान् । सच्चा साहित्यिक सिर्जना व्यक्तित्व बोकेका व्यक्तिहरू देशबाट विदेश होइन, विदेशबाट नेपाल फर्कन्छन् । धनले साहित्यिक व्यक्तित्व निर्माण गर्ने होइन बरू साहित्यिक व्यक्तित्वले धन चाहिँ सहज रूपमा आर्जन गर्नसक्छ मरुभूमिमा रहेर पनि ।
नयाँ अनुभूतिको चेत विदेशमा रहेका नेपाली साहित्यकारको कम देखिन्छ । एक त त्यो ठाउँविरुद्घ लेख्नु नै नियमापत्ति हुन्छ । दोस्रो कुरा भौतिक लालसाका भोकमा छट्पटाएर विदेश जाने इच्छा जन्मनु नै साहित्यिक रूपले आत्महत्याको अवस्था हो । विश्वमै हेर्ने हो भने पनि रवीन्द्रनाथ टेगोर, जाँपाल सात्र्रजस्ता नेपालको सन्दर्भबाट हेर्ने हो भने समद्वय-पुष्कर र बालकृष्णबाहेक कुनै धनबाट जन्मेका छैनन् । अझ यसो भनौँ लक्ष्मी र सरस्वती सौता हुन् । अपवादबाहेक यिनीहरूको सँगसँगै बास हुँदैन । यसर्थ विदेशमै बसेर पनि नेपाली भाषा साहित्यको सेवा गर्छु भन्ने अहं साङ्गठनिक हिसाबले, आर्थिक हिसाबले पाल्दा हुन्छ फरक पर्दैन । संरचनागत साहित्यिक लेखन उचाइका हिसाबले पाल्छु भन्ने सोचमात्र राख्नुभयो भने यो यथार्थ नभएर आत्मश्लाघामात्र ठहरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच