काठमाडौं । नेपालमा एकपछि अर्को उच्च पदस्थ व्यक्तिहरू गम्भीर अपराधमा मुछिन थालेका छन् । राज्यका उच्च पदस्थ अधिकारी र उनीहरूकै परिवारका सदस्य एकपछि अर्को गर्दै गम्भीर अपराधमा मुछिन थालेका हुन् । गम्भीर अपराधमा मुछिनेमा उच्च पदस्थ राजनीतिज्ञ, उपल्लो तहका प्रशासक र सुरक्षा निकायका अधिकारीहरू समेत छन् । ललिता निवासदेखि शरणार्थी र पछिल्लो सुन तस्करी प्रकरणसम्म आइपुग्दा सबैमा कोही न कोही उच्च पदस्थहरूको संलग्नता भेटिएको छ ।
भ्रष्टाचारका अन्य कैयौँ प्रकरणमा यिनै उच्च पदस्थ भनिएकाहरूकै संलग्नता भेटिन्छ । यसले नेपालमा सत्ता र शक्तिको आडमा अपराध र अपराधको सहारामा राजनीतिमा प्रभुत्व जमाउनेको संख्यासमेत बढ्दै गएको देखिन्छ । पछिल्लोपटक सार्वजनिक भएको पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र सुन तस्करी र अर्का छोरा दिपेश सहकारी ठगीमा संलग्न भएको घटनाले त पहुँचको दुरुपयोग कसरी भइरहेको छ भन्ने छर्लंग पारिदिएको छ । अपराधसँगै पछिल्लो समय केही उच्च पदस्थहरू कारबाहीको दायरामा समेत आएका छन् । केही समयअघि शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका थिए ।
एमाले नेता टोपबहादुर रायमाझी अहिले पनि हिरासतमा छन् । उपराष्ट्रपतिका छोरा दिपेश पनि हिरासतमै छन् । यति मात्रै होइन सुन तस्करी प्रकरणमा राज्यकै सम्माननीय पदमा रहिसकेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरा पक्राउ परेको यो दोस्रोपटक हो । पूर्व– सभामुखसमेत रहिसकेका उनी यसअघि नै यौन दुव्र्यवहार प्रकरणमा हिरासतमा बसिसकेका व्यक्ति हुन् । यौन दुव्र्यवहार प्रकरणमा पक्राउ परेको चार वर्षपछि महरा पुनः सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका हुन् । उनलाई रुपन्देहीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।
चार दिन हिरासतमा राख्न अदालतको अनुमति
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले सुन प्रकरणमा अनुसन्धानका लागि महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान भैरहवाबाट पक्राउ परेका हुन् । लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं ल्याएको थियो । महरालाई एअरपोर्टबाट सिधै सिआइबीको हिरासतमा लिएर अनुसन्धानपछि सोमबार नै अदालतमा उपस्थित गराइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए ।
आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको थियो । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहुलविरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।
महरा साढे चार वर्षको अवधिमा दोस्रोपटक पक्राउ परेका हुन् । २०७६ सालमा सभामुख पदमै रहँदा पहिलोपटक पक्राउ परेका महरा १३३ दिन थुनामा बसेका थिए । महरा २०७६ साल असोज १९ गते बलात्कार आरोपमा सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । बलात्कार मुद्दामा पक्राउ परेका महरालाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरूसँग बयान दिएका थिए ।
सिआइबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको भने स्वीकार गरेका थिए । यसैगरी, सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेपछि महरा पक्राउ परेका हुन् । जुन प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।
अब कसरी अघि बढ्छ अनुसन्धान ?
पूर्वसभामुख महरालाई विद्युतीय चुरोट भेपमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी गरेको कार्यमा संलग्न रहेको आरोप लागेको छ । पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेको थियो । महराले सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ लगायतसँग २५६ पटक टेलिफोन संवाद गरेको भेटिएको थियो ।
त्यस्तै, सुन राखिएको भेप छुटाउन महराले भन्सार अधिकारीहरूलाई दबाब दिएको पनि पाइएको थियो । प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले महराविरुद्ध अदालतमा पूरक अभियोग पत्र दायर गर्नसक्ने कानुनी व्यवस्था छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । भेप प्रकरणमा यसअघि प्रहरीले संगठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो । सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।
भारततर्फ भाग्न खोज्दै थिए महरा
महरा पश्चिम (गन्तव्य यकिन नभएको) तर्फ जाँदै गर्दा सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो । उपप्रधान तथा गृहमन्त्री लामिछानेले महरालाई पक्राउ गर्न आइतबार नै प्रहरीलाई निर्देशन दिएको खबर बाहिरिएको थियो । पक्राउ परिने सम्भावना बढेपछि महराले आइतबार राति काठमाडौं छाडेका थिए ।
महरा राजधानीबाट बाहिरिएको सूचना पाएपछि प्रहरीले भारतीय सीमा नाकाहरूमा निगरानी बढाएको थियो । स्रोतका अनुसार महरा पार्टीनिकट एक व्यक्तिको प्राइभेट गाडीमा सोमबार बिहान पूर्वी नवलपरासी पुगेका थिए । त्यहाँबाट अर्कै गाडी चढेर पश्चिम नवलपरासीको बर्दघाट पुगेको पाइएको प्रहरी स्रोतको दाबी छ ।
त्यहाँबाट तल्लो बाटो सुनवल हुँदै भैरहवा पुगे । महरालाई बर्दघाटबाटै प्रहरीले पिछा गरेको थियो । पकडीमा प्रहरीले ब्यारियर राखेको थियो । महरा चढेको बा ०१० २७ च १९९३ नम्बरको गाडी प्रहरीको ब्यारियर छलेर अगाडि बढ्यो । गाडी भारतीय सीमा क्षेत्र अलिगढवातिर लागेपछि घेरा हालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित राठोरले भने महरा दाङतर्फ जान लागेको पाइएको बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई महराको फोन
भैरहवामा प्रहरीको नियन्त्रणमा परेपछि काठमाडौं आउने क्रममा महराले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि मोबाइलमा कुरा गरेका थिए । महरासँगको टेलिफोन कुराकानीबारे प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आउनुहोस्, प्रहरीले समातेपछि यहीँ बसेर कुरा गरौँला, अब रोक्ने कुरा भएन ।’
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरु गरेका थिए । गृहमन्त्री लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउनुभएको थियो ।
प्रहरीले महरालाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा पु¥याउँदा त्यहाँ नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसँग जम्काभेट भएको थियो ।
महराले खोजिदिएका थिए चिनियाँ तस्करलाई गाडी
पूर्वसभामुख महराले सुन तस्करलाई गाडी खोजिदिएको तथ्य भेटिएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएका हुन् ।
प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सुनबारे अनुसन्धान गरेको सिआइबी स्रोतले जनाएको छ । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रेनोल्ड कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ । सो गाडी महराले आफूलाई भनेर चिनियाँ वाङलाई दिएको गुरुङले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
पूर्व–उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा
सुन तस्करी छानविनका लागि पक्राउ परेका पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सिआइबीले १४ फागुनमा पक्राउ गरेको थियो । उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो ।
सिआइबीले चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको खुलासा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जीवन चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको पाइएको छ । सुन तस्करी प्रकरणमा जोडिएपछि चलाउनेसहित तीन जनालाई सिआइबीले पक्राउ गरेर छाडेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सिआइबीले अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई पनि सिआइबीले पक्राउ गरेर छाडेको हो । आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार नन्दुकुमारका दाजु–भाइ न्युरोडमा सुनचाँदी पसल गर्छन् ।
उनीहरूले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पु¥याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यो कुरा स्वीकार गर्दासमेत सिआइबीले नन्दुकुमारलाई छाडेको पाइएको छ । चलाउनेलाई सिआइबीका प्रमुख तथा एआइजी किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सिआइबीले बयान लिएर छाड्ने मात्रै होइन, जाँचबुझ आयोगलाई बयान दिन विदेशबाट नेपाल आएका बेलासमेत सिआइबीले नै चलाउनेलाई भगाएको आयोगका सदस्यले बताएका छन् ।
सिआइबीले दिएन सहसचिव अधिकारीको मोबाइल जाँच रिपोर्ट
(सिआइबी)ले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय आयोगलाई छानविनमा असहयोग गरेको खुलासा भएको छ । ब्युरोले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट नै नदिएको पाइएको हो ।
आयोगका एक सदस्यका अनुसार, लिखित पत्राचार र पटक–पटक मौखिक आग्रह गर्दासमेत ब्युरोले अधिकारीको डिएफएल रिपोर्ट नदिएको हो । सुन तस्करी प्रकरणका मुख्य आरोपित बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो । दावाले अधिकारीलाई वी–च्याट म्यासेन्जरमा पानी तान्ने मेसिनको फोटो बनाएका थिए ।
सिआइबीले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसो त सिआइबीले पूर्व–उपराष्ट्रपतिका छोरा दिपेश पुनको समेत विस्तृत विवरण नदिएको पाइएको छ । अनुसन्धानमा गम्भीर त्रुटि देखिएको निष्कर्षसहित आयोगले ब्युरोका तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगले प्रतिवेदन बुझाएपछि बज्राचार्य, थापा, दाहाल र कुँवर चारै जनालाई जिम्मेवारीबाट हटाइएको छ ।
कांग्रेसको टिप्पणी : ‘आयोग बनाउने एमालेको माग सही रहेछ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको टिप्पणी गर्नुभएको छ ।
सुन तस्करी प्रकरणको छानविनका लागि आयोग बनाउनुपर्ने एमालेको माग अहिले सही सावित भएको जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘प्रहरीको नियमित छानविनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन, शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्ष एमालेको आशंका सही सावित भयो ।
आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ, आयोगले किटान गरेको मान्छे छुट्नुहुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच