गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताउनुभएको हो । उहाँले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो । पेट काटेर चार-चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन ।’

उहाँले गृहमन्त्री रवि लामिछाने पटक-पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताउनु भयो । उहाँले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?