
कायरा कार्की, प्रज्ञा कुञ्ज स्कुल नयाँ बानेश्वरमा कक्षा १ मा पढ्नुहुन्छ । आमा (कल्पना थापा) रंगमञ्चमा सक्रिय हुनुहुन्थ्यो तर उहाँ जन्मेपछि त्यता समय दिन पाउनुभएन रे । कायरा आफैं बताउनुहुन्छ, ‘मलाई हुर्काउन, हेरचाह गर्न थाल्नुभो अनि आमाको सट्टा मैले अभिनय गर्न थालेँ ।’ कायराका बाबा (रेवत कार्की) भने पेशाले शिक्षक हुनुहुन्छ । मैले सोधेँ, ‘तपाईंले अभिनय सानैदेखि सुरु गर्नु भो है ?’ कायराले भन्नुभयो, ‘जात्रा’मा एक सिन देखा परेकी छु । त्यसपछि ‘फूलबारी’मा विपिन कार्की ड्याडीको नातिनी भएकी छु । फेरि ‘महाजात्रा’मा उहाँकै छोरी भएर काम गरेकी छु ।’
सात वर्षकी कायरालाई ‘अरू के–के गर्नुहुन्छ भनेर सोध्दा’, जवाफमा, ‘मैले स्कुलमा समेत गरेर चारवटा नाटक गरेकी छु । अभिनय क्लास १० महिना सिकेँ अनि प्रमाणपत्र पनि पाएँ । मलाई टंक चौलागाईं सरले सिकाउनुभएको हो । म नृत्य पनि सिकिरहेकी छु त्योचाहिँ विदुर शिवाकोटी सरले सिकाउनुहुन्छ । दुई हप्तादेखि कत्थक पनि सिकिरहेकी छु नम्रता म्याम (नम्रता केसी) सँग ।’ उहाँको जवाफी शैलीमा स्पष्टता झल्कन्थ्यो । तपाईंले त धेरै कुरा सिक्नु हुँदोरहेछ है ? भन्दा कायरा भन्नुहुन्छ, ‘आफूलाई मन लागेर सिकेको नि ।’ अनि पहिलोचोटि अभिनय केमा गर्नुभएको याद छ भन्दा उहाँ भन्नुहुन्छ, ‘म डेढ वर्षको हुँदा मलाई साथमै लिएर आमा ‘जात्रा’मा अभिनय गर्न जानुभएको रहेछ अनि त्यहाँ म पनि देखिएकी छु ।’ त्यसपछि ? ‘अनि ‘फूलबारी’मा चाहिँ मैले अडिसन दिएरै पास भएकी हु । अनि अहिले ‘महाजात्रा’मा कामचाहिँ ‘महाजात्रा’को डाइरेक्टर प्रदिप सर हुनुहुन्छ नि (प्रदिप भट्टराई) उहाँको छोरा र म एउटै स्कुलमा अभिनय सिक्थ्याैं । प्रदिप सरले मलाई भेट्दा अघिल्तिरको मेरो दाँत पनि झरेको थियो । उहाँलाई राम्रो लाग्यो रे । अनि मलाई काम गर्छौ भनेर सोध्नुभयो अनि मैले खुसी भएर हुन्छ भनेँ । मैले काम गरेको सबै भनेँ, उहाँले स्यावास भन्दै ‘महाजात्रा’मा खेलाउनुभयो ।’ यही शुक्रबारदेखि सिनेमाघरमा आएको चलचित्र ‘महाजात्रा’की उनै बालकलाकार कायरा कार्कीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः–
कस्तो लाग्यो त ‘महाजात्रा’मा काम गर्दा ?
रमाइलो ∕ जे भन्यो त्यही दिनुहुन्थ्यो ∕ खाना पनि मीठो थियो, खुब केयर गर्नुहुन्थ्यो । मलाई त मेरो बाबाआमा पनि चाहिन्नथ्यो । सबै पेरेन्ट्स (अभिभावक) जस्तै हुनुहुन्थ्यो । वर्षा मामु (वर्षा राउत) ले खुब ख्याल राख्नुहुन्थ्यो । उहाँ घरी–घरी रिसाउनु पनि हुन्थ्यो । मैले राम्रो काम गरँे भने फेरि खुसी हुनुहुन्थ्यो । विपिन बाबा (विपिन कार्की) पनि खुब केयर गर्नुहुन्थ्यो । उहाँसँग नातिनी भएर ‘फूलबारी’ मा काम गरिसकेकी थिएँ । यसमा चाहिँ छोरी भएर काम गरेकी छु । छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो मलाई । मेरो घरमा पनि आमा, बाबा, दादा र म छौँ अनि सिनेमामा पनि मामु, बाबा, दादा र म छौँ । कस्तो मिलेको ।
उसो भए घरको परिवार र सिनेमाको परिवारमा कसले बढी माया गर्नुहुन्छ नि ?
घरको दादाचाहिँ मसँग अलि–अलि रिसाउनुहुन्छ । तर, सिनेमाको अर्बिन दादाचाहिँ रिसाउनुहुन्न । खुब माया गर्नुहुन्छ । बाबाहरू पनि दुवैले उस्तै माया गर्नुहुन्छ । घरको आमा रिसाएजस्तै सिनेमाको ममी पनि कहिलेकाहीँ रिसाउने तर मायाचाहिँ दुवैले गर्नुहुन्छ ।
“मलाई पनि ‘महाजात्रा’को प्रमोसनमा जान मन छ तर मेरो एक्जाम भएकाले जान पाइनँ । बालेन सरले सिनेमाको पोस्टर टाँस्न पाइँदैन भनेको छ रे । अनि जहाँ पनि हामी आफैं गएर प्रमोसन गर्नुपर्छ । म जान पाइनँ सरहरूलाई नरिसाउनु भन्न चाहन्छु ।”
नाटक र सिनेमामा कुन सजिलो ?
मुसुक्क हाँस्दै... सिनेमा सजिलो । त्यहाँ बिग्रियो भने फेरि लिन पाइन्छ तर नाटकमा पाइँदैन । सिनेमा कत्ति सजिलो । तर, अभिनयचाहिँ एउटै खालको ।
अभिनय भनेको के रहेछ त ?
रमाइलो । अभिनय गर्दा आमालाई पनि कस्तो रमाइलो लाग्थ्यो रे । अनि मलाई पनि कस्तो रमाइलो लाग्छ, खुसी लाग्छ । मैले अभिनय गर्दा र नाच्दा मलाई भन्दा पनि आमालाई खुसी लाग्छ रे उहाँले भन्नुभएको ।
तपाईंलाई बाबा र आमामा कसले धेरै माया गर्नुहुन्छ ?
मेरो दाँत खुस्केको छ नि अनि आमाले चकलेट खान दिनुहुन्न । तर, बाबाले लुकाइलुकाइ दिनुहुन्छ । आमाले चकलेट दिनुभो भने कहिलेकाहीँ दिनुहुन्छ । बाबाले चाहिँ यति धेरै ल्याउनुहुन्छ अनि दुवैजना आमाबाट लुकिलुकी खान्छाँै । (कसो कसो उनको नजर नजिकै रहेकी उनकी आमामा पर्छ, दुवै हत्केलाले आफ्नो बोलिरहेको मुख छोप्छिन् अलि पर रहेकी आमा रिसाउँदै मुस्कुराउँछिन् ।)
ठूलो भएपछि के बन्न मन छ ?
म कलाकार पनि हुने अनि सिए पनि हुने । आमालाई म सिए भएको हेर्न मन छ अनि सिए हुने ।
के हो सिए भनेको ?
चार्टर अकाउन्ट नि त्यति त थाहा भइहाल्छ नि ।
अनि ठूलो कलाकार नहुने ?
मलाई थाहा छैन आमालाई सोध्नुपर्छ । आमाले भनेको कलाकार आफ्नो खुसीका लागि बन्ने हो । तर, यसैलाई जागिरचाहिँ बनाउन मिल्दैन, अर्कै काम गर्नुपर्छ रे । ए ∕ अँ सिए । राम्रो मान्छे बनेर राम्रो जब ग¥यौ भने ठूलो भएपछि राम्रो हुन्छ भनेर उहाँले भन्नुभएको छ ।
तपाईंको त एक्जाम पनि आउँदैछ होइन ? सिनेमा रिलिज पनि हुँदैछ । अब के गर्नुहुन्छ ?
अहिले चाहिँ सिनेमामा भ्याउँदा काम गर्ने हो । प्रदिप सर (महाजात्रा निर्देशक) हरूले पनि पढाइलाई डिस्टर्ब नगर्नु भन्नुभाको छ । मलाई एउटा टिसर्ट पनि दिने भन्नुभाको छ, ‘महाजात्रा’ लेखेको । त्यही लाएर स्कुल जाने, मैले सरहरूसँग नि कुरा गरिसकेकी छु । हुन्छ, भन्नुभाको छ । अनि थाहा छ मेरो आमाले मेरो पढाइ त बिग्रन दिनुहुन्न । आमाले भन्नुभाको नपढेको मान्छेले सिनेमा खेल्न मिल्दैन रे । ‘महाजात्रा’ पनि फागुन ९ गतेबाट, मेरो एक्जाम (परीक्षा) पनि फागुन ९ गते बाट, मलाई जान त मन लाग्छ तर आमाले दिनुहुन्न । उता सरहरूले पनि पढाइ छोडेर नआउनु भन्नुभएको छ ।
अब अन्तिममा केही भन्न मन लागेको छ ?
(उनका दाहिने हातका औंलाहरूले टाउकामा कन्याउँदै एकछिन सोचिन् अनि भनिन्) मलाई पनि ‘महाजात्रा’को प्रमोसनमा जान मन छ तर मेरो एक्जाम भएकाले जान पाइनँ । बालेन सरले सिनेमाको पोस्टर टाँस्न पाइँदैन भनेको छ रे । अनि जहाँ पनि हामी आफैं गएर प्रमोसन गर्नुपर्छ । म जान पाइनँ सरहरूलाई नरिसाउनु भन्न चाहन्छु ।
“मलाई पनि ‘महाजात्रा’को प्रमोसनमा जान मन छ तर मेरो एक्जाम भएकाले जान पाइनँ । बालेन सरले सिनेमाको पोस्टर टाँस्न पाइँदैन भनेको छ रे । अनि जहाँ पनि हामी आफैं गएर प्रमोसन गर्नुपर्छ । म जान पाइनँ सरहरूलाई नरिसाउनु भन्न चाहन्छु ।”
सिनेमाघरमा ‘महाजात्रा’
शुक्रबारदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यसको तेस्रो भाग ‘महाजात्रा’ शुक्रबारदेखि नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनमा आएको हो । चलचित्रलाई पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य अभिनित चलचित्र भन्दै शुभकामना दिनुभएको हो ।
देशभर प्राप्त शो आफूहरूमाथिको विश्वास रहेको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताउनुभयो । आपत्कालीनरूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएकोे ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच