काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेको एक महिना पनि भएको छैन । गत फागुन २१ गते आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डले आधा दर्जन असन्तुष्टि सार्वजनिक गरेर कांग्रेससँगको सत्ता सहकार्य तोड्नुभएको थियो । नेकपा एमालेसँग गठबन्धन गरेर आफ्नो प्रधानमन्त्री पदको समय बढाउन सफल हुनुभएका प्रचण्डले सुरु–सुरुका दिनहरूमा त एमालेसँगको सहकार्य वाम एकतासम्मको सपना देख्नुभएको थियो ।
फागुन २१ गतेपछि यस्तो परिस्थिति बन्यो कि भर्खरै सहकार्य तोडेको पार्टी कांग्रेस महामन्त्री गगनकुमार थापाले भेट्न खोज्दा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति नै लिनुभएको थियो । नयाँ गठबन्धन बनेसँगै माओवादी र कांग्रेसका शीर्ष नेताहरूबीच सदनमै आरोप–प्रत्यारोपसमेत चलेको थियो । दुई दलका शीर्ष नेताहरूबीच एक–अर्काप्रति गैरराजनीतिक टिप्पणीको सिलसिलासमेत चलेको थियो ।
तर, कांग्रेससँगको गठबन्धन टुटेर एमालेसँग जोडिएको नयाँ सत्ता गठबन्धन निर्माण भएको एक महिना नबित्दै राजनीतिक परिस्थिति परिवर्तन हुन थालेको छ । पछिल्ला केही दिनयता नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट बाक्लिन थालेको छ ।
मंगलबार राति नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला सहितका नेताहरू लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पनि प्रचण्डसँग भेटघाट गर्नुभएको छ । नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच वान टु वान छलफल भएको बिहीबार पहिलोपटक हो । बिहीबार प्रधानमन्त्री प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुग्नुभएको थियो । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिन, संसद् गतिरोध अन्त्य लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रिय मुद्दाहरूमा मिलेर जान प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावमा सभापति देउवाले सकारात्मक जवाफ दिनुभएको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भन्नुभयो, ‘राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौँ, मिलेर अघि बढौँ भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । जनताको मुद्दामा वादविवाद नगरी अगाडि बढौँ । पर्याप्त छलफल गरौँ मिलेर जाऊँ भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टिआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔँ भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गर्नुभयो । र, त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘१८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । त्यही बारेमा कुरा भएको हो ।’
मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाबीच पनि छलफल भएको थियो । यस अघिदेखि नै शान्ति प्रक्रियाका कामलाई सम्पन्न गर्ने टिआरसी विधेयक टुंगोमा पु¥याउन खोजिए पनि दलबीच सहमति जुटिसकेको छैन । यसअघि एमालेको असहमतिको कारण यो विषय अलपत्र पर्दै आएको थियो । एमाले सरकारमा गएपछि पनि यस विषयमा दलहरूबीच संवादको वातावरण देखिएको छैन । प्रतिनिधि सभाअन्तर्गत रहेको कानुन न्याय र मानव अधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन पहल गर्दै आउनुभएको छ । कांग्रेससँगको समीकरणमा भएपछि प्रचण्डले यसलाई टुटाउँदै २१ फागुनदेखि एमालेसहितका दललाई जोड्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एक वर्ष प्रधानमन्त्री बनेपछि देउवा आफू प्रधानमन्त्री बन्ने पर्खाइमा हुनुहुन्थ्यो । तर, प्रचण्डले समीकरण बदलेपछि कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको छ । यही असन्तुष्टिपछि पहिलोपटक प्रचण्ड र देउवाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आहृवान
प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । १८ चैत अर्थात् आइतबार बिहान बस्नेगरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।
यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाक्नुभएको थियो । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रतिनिधिसभा बैठक चैत १८ गतेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोही दिन बिहान संवैधानिक परिषद् बैठक बोलाइएको छ । विभिन्न संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाइएको हो ।
अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासको काम अझै अगाडि बढाउन नसके आफूले अर्को उथलपुथल गर्नसक्ने बताउनुभएको हो ।
सुशासन कायम गरेर विकासलाई गति दिने काम पनि भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले समीकरण चेन्ज भएको छ । गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । म साँच्चै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरूलाई भनेको होइन । मेरै लागि भनेको हो । मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन । त्यसैले मैले अरूलाई अप्ठ्यारो पार्नेगरी उथलपुथल बनेको होइन । फेरि मैले यस्तो भन्यो भनेर अर्को जाला तर काम गर्न सकिँदैन भने पदमा बस्न हुँदैन भन्नेमा दृढ छु ।’
‘बा र भगवान्’ प्रश्नभन्दा माथि: थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलका शीर्ष नेता प्रश्नभन्दा माथि भए पनि कांग्रेसमा त्यस्तो नभएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिईकन उहाँहरू प्रश्नभन्दा माथि रहेको महामन्त्री थापाको टिप्पणी छ ।
संवादयात्रा पुनः सुरु गर्नुभएका महामन्त्री थापाले बिहीबार नवलपरासीमा आयोजित कार्यक्रममा कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने स्पष्ट पार्दै भन्नुभयो, ‘नेकपा एमाले कस्तो पार्टी बन्यो, हेर्नुस् त पार्टीको अध्यक्षलाई कसैले पनि प्रश्न गर्ने नपाउने । पार्टीको अध्यक्ष बामुनि मात्रै अरू हुने । बा प्रश्नभन्दा माथि ।’ रास्वपाका सभापति लामिछानेलाई संकेत गर्नुभएका थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान् जस्तै रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘भगवान्लाई चाहिँ प्रश्न गर्न नपाउने । भगवान्ले ठगे पनि हुने । भगवान्ले लुटे पनि हुने । भगवान चाहिँ प्रश्नभन्दा माथि ।’ उहाँले कांग्रेसमा प्रश्नभन्दा बाहिर कोही नरहेकाले छलफल र बहस गर्न पाइने स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच