जुनसुकै देशको राजधानीमा अत्यधिक जनघनत्व र वस्तीका कारण स्वाभाविक प्रदूषण रहेको हुन्छ । तर, सुन्दर प्रकृतिको काखमा रहेको नेपालको राजधानी रहेको काठमाडौं उपत्यका प्रदूषणको उच्च जोखिममा पुगेको छ । संसारका बढी प्रदूषित शहरहरूमध्ये काठमाडौं उपत्यका पनि पर्दछ र यो दोस्रो नम्बरमा पर्छभन्दा यो हाम्रा लागि चिन्ताको विषय हो । यस क्षेत्रका विज्ञहरूले पहिलेदेखि भन्दै आएको विषय हो । चीनको बेइजिङ, भारतको कोलकत्ता, बंगलादेशको ढाका, पाकिस्तानको लाहोर, मेक्सिकोको मेक्सिको सिटी, थाइल्याण्डको च्याङमाई, चीनको उहान, भियतनामको हनोई र कम्बोडियाको न्होन्पेहलगायतका ठाउँहरू विश्वका बढी प्रदूषित शहरहरूमा पर्दछन् । तर, यस वियषयमा चिन्ता गरेरमात्र हुँदैन यसलाई कम गर्ने उपायहरूको खोजी पनि गर्नुपर्छ ।
छिमेकी देश भारतको राजधानी शहर नयाँदिल्ली पनि संसारको प्रदूषित शहरमा पर्छ । त्यहाँ अत्यधिक जनसंख्या, अव्यवस्थित बसोवास फोहोरमैलाको समुचित व्यवस्थापन हुन नसक्नुजस्ता अनेकौं कारणले गर्दा कहिलेकाहीँ तुवाँलोले आकाश नै नखुल्ने समस्या सिर्जना हुन्छ । यसले गर्दा विमान सञ्चालन हुन सक्दैनन् र अन्य विभिन्न दैनिकीमा समेत नकारात्मक प्रभाव पर्छ । यस्तै खालका सास्या हाम्रो देशको राजधानी शहरमा पनि पर्न थालेकका छन् । काठमाडौं उपत्यका पहाडी भू–भाग भएका कारण यो चिसो ठाउँ हो । त्यसो भएको हुनाले भारतको दिल्लीमा जस्तो प्रदूषणको समस्या यहाँ नहुनुपर्ने हो तर विभिन्न कारणले काठमाडौं अत्यन्त प्रदूषित हुँदै गएको छ । उपत्यकामा क्षेत्रफलको तुलनामा मानिसहरूको संख्या अधिक छ ।
देशको ०.५ प्रतिशत क्षेत्रफलमा जम्मा जनसंख्याको १५ प्रतिशतभन्दा बढी मानिस बसोवास गरिरहेका छन् । यस उपत्यकाभित्र स्थायी बसोवास गर्नेभन्दा पनि अस्थायी रूपमा बसोवास गर्नेहरूको संख्या बढी छ । यसले गर्दा फोहोरमैलाको उत्सर्जन बढी हुन्छ र त्यसलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । जनसंख्याको अत्यधिक चापले गर्दा यहाँका कञ्चन पानी बग्ने विभिन्न नदीनाला ढलमा परिणत भइसकेका छन् । खोला मिचेर बसोवास गर्नाले त्यस्ता खोलाहरूको प्राकृतिक स्वरूप अब देख्न पाइँदैन । तिनले आफ्नो प्राकृतिक स्वरूप फेरिसकेका छन् । उपत्यकाभित्रका पोखरीहरू पनि बस्ती विकासको चपेटामा परेर धेरैजसो हराइसकेका छन् र केही बाँकी रहेकाहरू पनि पूर्वस्वरूपमा छैनन् । तिनको पानी कुनै पनि घरायसी प्रयोजनमा उपयोग गर्न सकिने खालको छैन । मानिसहरूका अतिक्रमणको चपेटामा परेर यस्ता पोखरीहरू हराउँदै र पुरिँदै गएका छन् । एकातिर काठमाडौं पर्यटकीय गन्तव्यको शहर भनेर परिचित भएको अवस्थामा अर्कातिर प्रदूषणको मार । यदि प्रदूषणलाई कम गर्न सकिएन भने पर्यटकहरूको आगमनमा समेत धक्का पुग्ने निश्चित छ ।
कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ नदीहरूमा मिसाउनाले प्रदूषण अझै बढ्न गएको छ भने यातायातको अत्यधिक चाप र तिनको राम्ररी व्यवस्थापन तथा नियमन हुन नसक्दा धुवाँ र धुलोले पनि यो शहर प्रदूषणले आक्रान्त बन्न पुगेको हो । यहाँको आकाशमा फैलिएको कार्बनजन्य पदार्थले आकाश प्राय धुम्म हुने गर्छ र घामको प्रकाश पनि मधुरो हुन्छ । गाडीहरू र कलकारखानाका कारण ध्वनि प्रदूषणको समस्या पनि त्यत्तिकै पेचिलो बनेर आउने गरेको छ । यस्ता विभिन्न कारणले मौसममा अप्राकृतिक रूपमा फेरबदल भइरहन्छ । वर्षा सन्तुलित रूपमा हुँदैन । कहिले अधिक वर्षा हुन्छ भने कहिले पानी नपरेर विभिन्न खालका समस्या सिर्जना हुनपुग्छन् । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिमात्र होइन अम्ल वर्षासमेत हुनसक्छ ।
गर्मीपछि जाडो सुरु हुने बेलामा र जाडोपछि गर्मी सुरु हुने बेलामा हुने मौसमी फेरबदल प्राकृतिक हो तर यसमा अप्राकृतिक समस्यासमेत थपिँदा मानिसलगायत विभिन्न प्राणीहरूमा यसले अनेकौं समस्या सिर्जना हुनपुग्छन् । विशेषगरी छातीको रोग, रुघाखोकी, दम, बाथ, झाडापखाला, उच्चरक्तचाप, हृदयघातलगायत अनेकौं रोगहरूले सताउन सक्छ । हावामा भएको धुलो र धुवाँ श्वासप्रश्वासका माध्यमबाट सबैभन्दा पहिले फोक्सोमा पुग्छ र फोक्सो प्रभावित बन्छ । त्यसपछि शरीरका विभिन्न अंगमा अक्सिजन र रगतका माध्यमबाट प्रदूषित पदार्थ पुगेपछि शरीरमा सबै भाग प्रभावित बन्न पुग्छन् । मौसमी फेरबदल प्राकृतिक कारणले नै हुने हो तर यसमा मानवीय कारणहरू पनि प्रभावी बन्न पुग्छन् । यस्ता समस्याहरूलाई कम गर्न सरकारी नियम कानुन प्रभावकारी हुनुपर्छ र तिनलाई नियमन गरी व्यवस्थित गर्न सक्नुपर्छ ।
यसैगरी सबै कुरामा सरकारको मुख ताक्ने नागरिकहरूको प्रवृत्तिमा परिवर्तन आउनुपर्छ । सबै काम सरकारले गरिदिन्छ भन्ने मानसिकता नागरिकहरूबाट हट्नुपर्छ र यस्ता प्रदूषणजन्य कार्यबाट बच्ने प्रयसमा सबै लाग्नुपर्छ । आफ्ना काम आफैं गर्ने र सचेतता अपनाउने कार्यमा प्रायः हामी उदासीन रहँदै आएका छौं । यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । यस्तै प्रवृत्तिले गर्दा हाम्रा प्रगतिका बाटाहरूमा अवरोध पुग्ने गरेको छ । यसका लागि सावधानी अपनाउनुपर्छ । आपूmमात्र होइन अरूलाई समेत सावधान बन्न लगाउनुपर्छ । यसो गरियो भने यस्ता प्रकोपबाट जोगिन सकिन्छ र समस्याहरूलाई एकै पटक हटाउन नसके पनि बिस्तारै कम गर्दै लान सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच