बजार विनिमय गर्ने स्थान हो । देश, काल र परिस्थित अनुसार बजार हाम्रा लागि अत्यावश्यक हुन पुगेको छ । सबै उपभोग्य सामग्री हाम्रा अधीनमा उत्पादन नभए पनि प्रयोग भने हाम्रा हरेक कार्यमा हुने नै गर्दछन् । अधिकांश कुरा पसलमा किन्नु हाम्रो बाध्यता हो । यसैले बजार दैनिक उपभोग्य वस्तुका निम्ति अनिवार्य बनेको छ । विशेषतः पूजाका सामग्रीका निम्ति पनि बजारमा भर पर्नुपर्ने बाध्यता विद्यमान छ । यसरी बजारमा भर पर्दै गर्दा वस्तुको गुणस्तरमा पनि हामी सचेत हुनुपर्ने समय आएको छ । कतिपय कुरा हामीले ध्यान दिइरहेका हुन्छौं त कतिपय कुरा हाम्रो ज्ञानभन्दा पनि परका हुन सक्छन् । पूजा सामग्री खरिद गर्दा कतिपय कुरामा विकृत पक्ष भित्रिएका छन् । जसका बारेमा पनि हामी जानकार रही उपभोग गर्ने सन्दर्भमा सचेत हुनु आवश्यक छ ।
पवित्र भावना राखेर श्रद्धा भक्तिपूर्वक गरिने हाम्रा धार्मिक अनुष्ठान, यज्ञ, पूजा पाठमा प्रयोग गरिने वस्तु पनि पवित्र हुन् भन्ने हाम्रो भावना रहेको हुन्छ । सोही अनुसार वस्तु पनि खरिद गरिरहेका हुन्छौं तर कतिपय सामग्रीमा मिसावटका साथै अनुपयुक्त वस्तुको प्रयोग पनि हुने गरेको पाइएको छ । स्थान अनुसार सबै वस्तुको प्राप्यता रहँदैन । सहरी क्षेत्रमा त पूजापसलको सहायता लिनुपर्ने बाध्यता रहेको छ । किन्नुपर्ने सामग्री पनि शुद्ध पाइन छाडेका छन् । खाद्यमा खाद्यतत्त्वको मिसावट त छँदै थियो अब खाद्य वस्तुमा पनि अखाद्य वस्तुको मिसावट देखिन थालेको छ । जसले हाम्रा आस्था र विश्वका विषयवस्तुमा पनि विकृत पक्ष हावी हुन थालेको देखिन्छ ।
पूजाका निम्ति भनिएको घ्यू अखाद्य हुनु भनेको त्यहाँ शुद्ध गाईको घ्यू हुनु होइन । किनकि शुद्ध गाईको घ्यू खान मिल्छ र उत्तम पोषकतत्त्व नै मानिन्छ । यसैले अखाद्य तत्व मिसिएको घ्यू पूजा प्रयोजनका लागिमात्र भनिनु र बिक्रीवितरण गरिनुमा उपभोक्तालाई भ्रममा पार्नु हो ।
अखाद्य घ्यूको प्रयोग
शास्त्रअनुसार गाईको घ्यूलाई पूजाका निम्ति उत्तम मानिएको छ तर वर्तमानमा पूजापसलमा घ्यू किन्न जाने हो भने पसलका व्यक्तिले पूजा गर्न कि ? दान गर्न ? भनेर प्रश्न सोध्ने गर्दछन् । पूजाका निम्ति भने पूजा प्रयोजनका लागिमात्र वा खाद्य प्रयोजनका लागि अनुपयुक्त भनी लेखिएको घ्यू दिइन्छ । दानका लागि भने मिसावटयुक्त सस्तो वा बेकरीवाला घ्यू दिइन्छ । अनि घरमा प्रयोग गर्ने खानका निम्ति भन्ने हो भने त्यसभन्दा थप गुणस्तरको दिने गरिन्छ । यसरी अखाद्य वस्तु भगवान्लाई चढाउने अनि आफूले खाँदा चाहिँ गाई भैंसीको घ्यू खाने कुरा युक्तिसङ्गत हुँदैन । खाद्य प्रयोजनका लागि उपयुक्त घ्यू नै देवताका निम्ति पनि उपयुक्त हुन्छ । तर, यस्ता कुरामा ख्याल नगर्ने, सस्तो खोज्ने उपभोक्ताको मनशायलाई मध्यनजर गर्दै यस्ता वस्तु प्रचलनमा आइरहेका छन् ।
पूजाका निम्ति भनिएको घ्यू अखाद्य हुनु भनेको त्यहाँ शुद्ध गाईको घ्यू हुनु होइन । किनकि शुद्ध गाईको घ्यू खान मिल्छ र उत्तम पोषकतत्त्व नै मानिन्छ । यसैले अखाद्य तत्व मिसिएको घ्यू पूजा प्रयोजनका लागिमात्र भनिनु र विक्रीवितरण गरिनुमा उपभोक्तालाई भ्रममा पार्नु हो । अखाद्य घ्यू पूजा प्रयोजनका निम्ति पनि अनुपयुक्त नै हुन्छ । सस्तोभन्दा पनि राम्रा वस्तुको प्रयोग गरेर गरिएका यज्ञकर्म शुभफलदायी रहन्छन् । यस्ता कुरामा नियामक निकाय र उपभोक्ता दुबै चनाखो हुनु आवश्यक छ ।
तिलको तेलमा मिसावट
तिल फल्ने स्थानमा पनि कम्तीमा हजार रुपैयाँ पाथी तिलको भाउ भन्छन् । बजारमा चार सयमाथि नै पर्छ किलोको तिल । एक पाथी तिलको एक लिटर तेल आउँछ तर तिलको तेल भनेर बेचिने पूजापसलका तेल तीन चार सयमा एक लिटर पाइन्छन् । यसरी कम दाममा तिलको तेल पाइन्छ भने त्यहाँ मिसावट हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । यसैगरी पूजाप्रयोजनका लागिमात्र अखाद्य भनेर पनि कतिपय तेलमा उल्लेख पाइन्छ । यसरी उल्लेख गरिनु अखाद्य हुनु हो ।
तिल खाद्यपदार्थ हो भने यसबाट निष्कने तेल पनि खाद्यप्रयोजनका निम्ति उपयुक्त हुनुपर्दछ तर अनुपयुक्त लेखिनुको पछाडि त्यो वास्तविक तिलको तेल नभई अन्य केही हो भन्ने जान्न सकिन्छ । यसैगरी हृवार हृवार बल्ने, बलेपछि कोठा नै कालो बनाउने तिल भनिएको तेलका विशेषता पाइन्छन् । जसबाट उक्त तिलको भनिएको तेल पनि शुद्ध तिलको तेल नभएको अखाद्य र अनुपयुक्त हो भन्ने कुरा जान्न सकिन्छ ।
पञ्चपल्लवमा विकृति
पञ्चपल्लव भनेका पिपल, डुम्री, पाखरी, आँप र वरका पात हुन् भनी ब्रहृमाण्ड पुराणमा बताइएको छ : ‘अश्वत्थोदुम्बरप्लक्षचूतन्यग्रोधपल्लवाः ।’ (ब्रहमाण्डपुराण) अर्थात् पिपल, डुम्री, पाखरी, आँप र वरका पात पञ्चपल्लव हुन् । बजारमा किनिएका पञ्चपल्लवमा न त पाँचवटा पात नै हुन्छन् न त शास्त्रोक्त पात नै हुन्छन् । केवल कुनै दुई तीनवटा पातलाई वेरेर पञ्चपल्लव भनी बेचिन्छ । यसरी बेचिने पञ्चपल्लव खोलेर हेर्दा न त पाँचवटा पात पाइन्छन् न त पाँचथरिका पात नै हुन्छन् । यस्ता पञ्चपल्लवको प्रयोग गर्नु र नगर्नुमा कुनै अन्तर रहँदैन । शास्त्रोक्त पञ्चपल्लवको प्रयोग नै पूजाकार्यका निम्ति उत्तम रहन्छन् । पञ्चपल्लव भनेर जुनसुकै वृक्षका पात वेरेर आस्थासँग बेचिरहेको पाइन्छ । यसैले यस्ता विषयमा स्वयं उपभोक्ता सजग हुनु आवश्यक छ ।
घोडा बसेको स्थान, हात्ती बसेको स्थानको माटो, धमिरो लागेको ठाउँको माटो, नदीको संगम भएका ठाउँको माटो, दहमा जमेको माटो, राज दरबारका ढोकाको माटो, गोठको माटो यी सप्तमृत्तिका हुन् । हामीले किनिने सप्तमृत्तिकामा यी कुरा छन् छैनन् भन्ने विषवस्तुको जाँच गर्ने निकाय छैन ।
यसै गरी पूजा पसलमा वस्त्र पनि बेच्न राखिएको हुन्छ । चाहे पूजापसल हुन् वा कपडा पसल दान गर्ने वस्त्र भनेपछि कमसल र काम नलाग्ने दिएका अनेकौँ उदाहरण पाइन्छन् । दान गर्ने वस्तु सबैभन्दा उत्तम हुनुपर्दछ । ग्राहकले पनि सस्तो खोज्ने र दिनेले पनि विकामे दिने प्रवृत्तिले गर्दा अनुपयुक्त वस्त्रको प्रयोग नै अधिक भइरहेको छ । दान गरिएका वस्तु उपभोगयोग्य भए भने त्यसको पुण्य प्राप्त हुन्छ ।
उपयभोगका निम्ति अनुपयुक्त वस्तु दान गर्नु र नगर्नुमा कुनै अन्तर रहँदैन । जो सकिन्छ राम्रो दान गर्नुपर्छ । वस्तु उपभोगयोग्य हुनुपर्दछ । सस्तोका नाममा खर्च गरिएको वस्तु अनुपयोगी बन्न पुग्छ । बरू दुईवटा दिने स्थानमा एक वस्तु दान गर्ने उपभोगयोग्य दिने गर्नु राम्रो हुन्छ ।
यसैगरी चामलको प्रयोगमा पनि आफूले खाने राम्रा र पूजा गर्ने कमसल गर्ने प्रवृत्ति पनि वर्तमानमा देखिने गरेको पाइन्छ । आफूले जे जस्तो खाइन्छ त्यस्तै दान गर्नुपर्दछ । राम्रा आफूलाई नराम्रा भगवान्लाई भन्ने अवधारणा गलत हो । सकिन्छ आफूले प्रयोग गर्नेभन्दा पनि उच्च कोटिका वस्तु दान गर्नुपर्दछ । नसके पनि आफूले प्रयोग गर्ने समान स्तरका वस्तु प्रयोग गर्नु पुण्यप्रद रहन्छ ।
सर्वौषधीमा आठ प्रकारका जडिबुटी पर्दछन् : ‘मुरा मासीवचा कुष्ठं शैलेयं रजनीद्वयम् । सठी चम्पकमुस्ताच सर्वौषधिगणः स्मृतः ।।’ (अग्निपुराण, १७७।१७) अर्थात् कुट, बेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोेथो सर्वौषधी हुन् । बजारमा पाइने सर्वौषधीमा यस्ता वस्तु छन् छैनन् विचारणीय देखिन्छ । यसै गरी पञ्चरत्नमा पनि निम्न कुरा पर्दछन् : ‘कनकं कुलिशं मुक्ता पद्मरागं च नीलकम् । एतानिपञ्चरत्नानि सर्वकार्येषु योजयेत् ।।’(नित्यपूजाप्रकाश, २०६७ : १८८) सुन, हीरा, मोती, पद्मरागर नीलम पञ्चरत्न हुन् । यी कुरा पञ्चरत्नमा छन् छैनन् विचार गर्नुपर्दछ ।
यसैगरी सप्तमृत्तिका भनेको सात स्थानको माटो हो । ‘अश्वस्थानाद्गजस्थानाद्वल्मीकात्सङ्गमाद्धृताद् ।। राजद्वाराच्चगोष्ठाच्च मृदमानीयनिक्षिपेत् ।।’ (नित्यपूजाप्रकाश, २०६७ ः १८७) अर्थात् घोडा बसेको स्थान, हात्ती बसेको स्थानको माटो, धमिरो लागेको ठाउँको माटो, नदीको संगम भएका ठाउँको माटो, दहमा जमेको माटो, राज दरबारका ढोकाको माटो, गोठको माटो यी सप्तमृत्तिका हुन् । हामीले किनिने सप्तमृत्तिकामा यी कुरा छन् छैनन् भन्ने विषवस्तुको जाँच गर्ने निकाय छैन । यसै गरी कपुरमा पनि यस्तै कुरा पाइन्छ ।
वास्तविक कपुर नभई केमिकलयुक्त कपुरको प्रयोग अत्यधिक रहन्छ । धूप पनि केमिकलयुक्त अस्वस्थकर रहन्छन् । अविरमा, केशरीमा माटोको मिसावट अधिक पाइन्छ । कुनै काठ विशेषलाई श्रीखण्डजस्तो बासनायुक्त बनाउने र बेच्ने गरेको पाइएको छ । शङ्ख सिमेन्टका बनाएर बेचिएका पाइन्छन् । यसै गरी एकमुखे रुद्राक्ष भनी प्लाष्टिकका रुद्राक्षजस्ता बनाएर बेचिन्छन् । जुन कुरा जनसामान्यले बुझ्न गाह्रो हुन्छ । यसैले यस्ता विषयमा पनि हामी स्वयं सचेत हुनु आवश्यक छ ।
कालको प्रभाव पनि हुनसक्छ । कलिको समयमा धर्मको स्थान २५ प्रतिशतमात्र रहन्छ बाँकी ७५ प्रतिशत अधर्मले घेर्छ भनी श्रीमद्भागवत्मा भनिएको छ । यसैले यो समय कलिकालको हो । सबैलाई कलिको प्रभाव रहनु स्वभाविक पनि हो । कलिको प्रभाव धार्मिक आस्था र विश्वासका विषयवस्तुमा पनि देखिन थालेको पाइन्छ । मावन सचेत प्राणी भएकाले उपयुक्त वस्तुको प्रयोगमा हामी सबै सजग रहनुपर्दछ । वर्तमानमा धेरै कुरामा मिसावटका साथै अनुपयुक्त तत्त्वको पनि प्रयोग भएको पाइन्छ । यस्ता कुरामा हामी स्वयं सचेत रहनुपर्दछ । नियमनकारी निकाय सचेत रहनुपर्दछ । अन्यथा हाम्रा माङ्गलिक कार्य पनि अमाङ्गलिक बन्न सक्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच