भक्तपुर । भक्तपुरको थिमीमा सिन्दूर जात्रा मनाइएको छ । भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट, बिस्का जात्राको एक अंश सिन्दूर जात्रा हो । आठ रात नौ दिन मनाइने जात्रामा वैशाखको २ गते सिन्दूर जात्रा मनाउने गरिन्छ । लिच्छवि कालदेखि चल्दै आएको बिस्केट जात्रा मध्यकालमा आएपछि भव्यताका साथ मनाउन थालिएको बताइन्छ । यो जात्रालाई विजय उत्सव मनाएको अर्थमा बुझ्ने गरिन्छ । यो जात्रामा आफ्नो साथीभाइसँग फुस्रो सिन्दूर लगाएर मनाइन्छ । यसलाई होलीको अर्को रूप पनि भनिन्छ ।
अगाडि हात-हातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेको समूह, अनि आ-आफ्नो टोलका देवी-देवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भिडमा रमाएका थिए ।
थिमीमा मात्र मनाइने यो जात्रामा एक–अर्कालाई सिन्दूर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात-हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खट मात्रै जात्रामा सहभागी हुने गरेका छन् ।
जात्रामा आइतबार बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण वाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । आइतबार बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक–अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रा रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा पनि भनिएको हो ।
सुजनबाग श्रेष्ठले छेडे दोस्रोपटक जिब्रो
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय सुजनबाग श्रेष्ठले आइतबार दोस्रोपटक जिब्रो छेडाउनुभएको छ । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा उहाँको जिब्रो छेडिएको हो ।
यसअघि, सुजनका बुवा बुद्धकृष्णबाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाउनुभएको थियो । अघिल्लो वर्षदेखि सुजनले जिब्रो छेडाउनुभएको हो । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चारपटक जिब्रो छेडाउनुभएको थियो । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाउनुभयो । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ ।
दैवीशक्तिलाई आधार मानेर प्राचीन कालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित छ । किंवदन्तीअनुसार प्राचीन कालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरी पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।
१२ जनाले १०६ वर्ष छेडाए जिब्रो
जात्राको हालसम्मको तथ्यांक तथा प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास छ । विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीनपटक तथा २०२७ र २०२८ सालमा इन्द्रबाटा श्रेष्ठले दुईपटक जिब्रो छेडाएको तथ्यांक छ । यस्तै, २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले तथा २०४९ देखि २०६० सालसम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच