
रामप्रसाद सापकोटा
जीवन सधैँ वक्ररेखामा अघि बढिरहेको हुन्छ । त्यसैले हरेक पल मूर्त वा अमूर्तरूपमा हाम्रो जीवन अनगिन्ती घुम्तीहरूमा धकेलिरहेको हुन्छ । जीवन यात्राका क्रममा ती घुम्तीहरू नियमित आकस्मिकताको प्रक्रियामा निरन्तर चलिरहन्छन् । त्यस्ता कतिपय घुम्तीहरूले जीवनलाई चामत्कारिक परिवर्तनतिर समाहित गर्ने तागत राख्छन् । त्यस्तै, कतिपय घुम्तीहरू हाम्रो सारा जीवनलाई वैराग्यको भूमरीमा बत्तीमाथिको पुतली बनाएर पलपल जलाइरहन मोडिने गर्छन् । यतिमात्र हो, ती घुम्तीहरू कतिपय सम्झनालायक वा बिर्सनलायक हुनेगरी जीवनका पानाहरूमा अभिलेख भएर रहन्छन् ।
सनातन हिन्दू धर्मानुसार हाम्रा शास्त्रहरूमा तीन र सातको विशेष महत्व छ । यो तीनको अविस्मरणीय छाप मेरो जीवनमा पनि परेको छ । अर्थात्, तीनवटा ट्रेकिङले मेरो जीवनमा तीन घुम्ती तय गरेका छन् । मैले नेपालका धेरै ट्रेकिङ क्षेत्र घुमेको छु । तर, अष्ट्रेलियनहरू ‘घोडेपानी’, इटालियनहरूसँग ‘हेलम्बु-गोसाइँकुण्ड’ र अमेरिकनहरूसँग ‘अन्नपूर्ण राउण्ड ट्रिप’ यात्रा मेरो जीवनका महत्वपूर्ण तीन घुम्तीहरू हुन् । यी तीनवटा पदयात्राले मेरो जीवनमा अविस्मरणीय छाप छाडेका छन् । जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । त्यसैले, आज म उमेरले आधा शताब्दीको साक्षी बनिरहँदा ती तीन चरणका पदयात्राबाट प्रेरित भएर पुस्तकका रूपमा आफ्नो संस्मरण संग्रह लेख्ने क्षमता राख्दैछु । यो पुस्तकबाट ‘तीन टे«किङ : तीन घुम्ती’ शीर्षकको संस्मरण झिक्ने हो भने मेरा संस्मरणहरू शून्यताको शिकार हुनेछन् । अधुरा संस्मरणहरू गाँठा बनेर मुटुमा बिझाइरहनेछन् । स्मृतिका सुइहरूले मस्तिष्क घोचिरहेछन् । ‘तीन ट्रेकिङ : तीन घुम्ती’ शीर्षकको संस्मरण यो संग्रहको मुटु हो । तसर्थ, मेरो जीवनको मार्गनिर्देशका रूपमा मैले स्वीकारेका ती तीन चरणका ट्रेकिङ र सो पदयात्राका विदेशी पदयात्रीहरू मेरो जीवनभर अविस्मरणीय छन् । आज म ‘तीन ट्रेकिङ : तीन घुम्ती’ लाई यसरी संस्मरण गर्दैछु ।
इटालियनहरूसँग हेलम्बु-गोसाइँकुण्ड यात्रा
पर्खिनुपर्छ हात्तीलाई पनि धाप मार्न पाइन्छ भनिन्छ नि, हो रहेछ । दुई वर्ष होटलमा काम गरेपछि सन् १९९८ मा बल्ल टुरिस्ट गाइड बन्ने मौका मिल्यो । जब म टुरिस्ट गाइड बनेर घोडेपानी गएँ । मैले सोचेको जीवन बल्ल सुरु भयो भनेर म यति फुरुंग भएँ कि म शब्दमा अभिव्यक्त गर्न सक्दिनँ । त्यो यात्रा मेरा लागि ठूलो परीक्षा एवं अवसर र चुनौती दुवै भएको पहिलो खुड्किलो थियो । जीवनमा एकपटक सम्भावना र अवसरको ढोका खुलेपछि अरू सुनौला ढोकाहरू पनि क्रमशः खुल्दै जान्छन् भन्ने विश्वासमा म दृढ थिएँ । त्यस्तै भयो । दोस्रो पटक मैले इटालियन टोली फेला पारँे । सन् १९९८ मा जानी बेजी र डोनाटेला नामका दुईजना इटालियन पर्यटकसँग हप्ता दिनका लागि हेलम्बु–गोसाइँकुण्ड ट्रेकिङ जाने अवसर जुट्यो । हाम्रो टोलीमा बेजी, डोनाटेला, बाबुराम ढकाल र म थियौँ । मैले गाइडको जिम्मा लिएको थिएँ । त्यो रुट भएर जानुपर्ने सो ट्रेकिङ मेरा लागि पहिलो थियो । तर पनि मैले चतुर्याइँपूर्ण तरिकाले आफूलाई अनुभवी गाइडका रूपमा प्रस्तुत गर्ने प्रयास गरेँ । मैले परिपक्व गाइड भएको अभिनय गर्दै क्लाइन्ट र टिमका भरियासँग गेष्टहरू जाने ठाउँ, बस्ने ठाउँको उचाइ र हिमालहरूको सूचना लिँदै तिनीहरूलाई जानकारी गराउँथेँ । केही दिन मेरो गाउँको भाइ निशेष थापा (टुरिष्ट गाइड) पनि मसँगै हुँदा मलाई केही सजिलो भयो । जसका कारण मेरो आत्मविश्वास पनि जागेको थियो । अन्त्यमा, निशेषले लगेका नर्वेजियन पाहुनाहरू कुटुमसाङ-चिसापानीको बाटो हुँदै काठमाडौं आए भने हामीले हेलम्बु निस्केर मेलम्ची हुँदै काठमाडौं जाने बाटो रोज्यौँ ।
जानी अलि छिटो हिँड्ने तर डोनाटेला छिटो हिँड्न नसक्ने थिए । त्यसैले, ट्रेकिङ अवधिभर हामी डोनाटेलासँगै सुस्तरी हिड्यौँ । जानी भोलिपल्ट काठमाडौं आइपुग्नुपर्ने थियो । यदि आइनपुगे अर्को दिनको फ्लाइट छुट्ने डरले बाबुराम ढकालसँगै ऊ छिटोछिटो अगाडि हिँडिरहेको थियो । तर पनि बाटोमै झमक्क साँझ परेर हामीलाई गन्तव्यसम्म पुग्न निकै अप्ठ्यारो परिरहेको थियो । हामीभन्दा अगाडि जानीसँगै छिटोछिटो हिँडिरहेका बाबुराम ढकाललाई मैले बाटो हराएको यात्रीझैँ अँध्यारोमा ठूलो स्वरले ‘ढकाल दाइ’ भनेर बोलाएँ । हामीहरू हिँड्न नसकेको भन्दै ढकाल दाइलाई त्यही पर्खिन आग्रह गरेँ । मैले ठूलो स्वरले बोलेका कारण मेरो बोली सुनेर केही गाउँलेहरू म र डोनाटेला भएको ठाउँमा आए । मैले उनीहरूसँग मीठो स्वरमा हामीहरू मेलम्ची गाउँ पुग्न हिँडेका तर हिँड्न नसक्ने भयौँ, कृपया हामीलाई सहयोग गरिदिनुपर्यो भनेँ । मेरो आग्रहलाई स्वीकार्दै गाउँलेहरूले डोनाटेलालाई डोकोमा बोकेर रातीको ९ बजे हामी बास बस्ने ठाउँसम्म पुर्याइदिए । आपतविपत परेका बेला सहयोग गर्ने नेपालीहरूको संस्कारबाट ममात्र होइन हाम्रा पर्यटकहरू पनि प्रभावित हुने गरेका छन् । मेरा कारण त्यो विपत्तिमा गाउँलेबाट सहयोग पाउँदा खुसी भएर उनीहरूले मलाई इटाली घुमाउने योजना बनाएछन् ।
संयोगवश यो यात्राको सुरुवातदेखि मेरा साथीहरू र गेष्टहरूसँग हाम्रो गाउँघरमा विद्यालयको अवस्था, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको अवस्था, समाजको अवस्था र सामाजिक सद्भावका बारेमा कुरा भइरहन्थ्यो । समग्रमा मैले उनीहरूलाई मेरो गाउँको कथा सुनाएँ । उनीहरूप्रति मैले इमानदारीतापूर्वक देखाएको सद्भाव र मसँग भएको वार्तालापबाट उनीहरू प्रभावित भएछन् । र, मलाई एकपटक इटाली घुमाउने सोच बनाएछन् । त्यसका लागि पछि जानी र डोनाटेलाले साथीहरूसँग छलफल गरेर मलाई इटाली झिकाउने र केही महिना घुमाउने निर्णय गरे । त्यसपछि म सन् १९९८ मा पहिलोपटक इटाली पुगेँ । यसरी मेरो पहिलो युरोप भ्रमणको माध्यम पनि यही टे«क बन्न पुग्यो । यही ट्रेकका माध्यमबाट मैले युरोप भ्रमण गर्ने मौका पाएँ ।
इटाली यात्रा
मलाई इटाली पुग्ने र त्यहाँ बस्ने सबै व्यवस्था उनीहरूले नै गरिदिए । त्यसपछि म रसियन प्लेन चढेर इटाली पुगेँ । त्यतिखेर रसियामा भोकमरी चलेको थियो । त्यसैले रसियाको एयरपोर्टमा खाना निकै महँगो थियो । पाउरोटीलाई नै २० डलर पथ्र्यो । कसैको टिकटमा खाना लेखिएको थियो । तर, मेरो टिकटमा त्यो सुविधा थिएन । त्यसपछि म अर्को प्लेन चढेर भोकै इटालीको मिलान भन्ने ठाउँमा ओर्लिएँ । त्यहा मैले चिनेको कोही थिएन । कहाँ जानेदेखि एयरपोर्टबाट कसरी बाहिर निस्कने भन्नेसम्म थाहा थिएन । चारैतिर इटालियन भाषामा लेखिएका शब्दहरूमात्र देखिन्थे । त्यसपछि मैले धेरैजनासँग आई वान टु गो आउट भनेँ । त्यसपछि अंग्रेजी बुझ्ने मानिसहरूको सहयोगमा एयरपोर्टबाट बाहिर निस्किएँ । इटालीमा म पुग्नुपर्ने ठाउँको नाम प्रिन्ट गरेर गोजीमा बोकेको थिएँ । हराउँछ कि भनेर प्रिन्ट गरेको अर्को कागज जेपमा पनि लुकाएर राखेको थिएँ । मैले त्यो ठेगाना देखाएपछि केही जापानी केटीहरूले आफूहरू पनि त्यही बसमा जाने हो भनेर बोलाएको इशारा गरेँ । मलाई ट्रेन चढेर आउनु भनिएको थियो । तर, म उनीहरूको पछि-पछि गएर बस चढेँ । १५ मिनेट यात्रापछि केटीहरू बसबाट झरेर गए । म उनीहरूको पछि लागेर जाने कुरा भएन । त्यहाँबाट म जानुपर्ने गन्तव्यसम्म पुग्न चार घण्टा ट्रेनमा चढ्नुपथ्र्यो । मेरो समस्या ज्यूँका त्यूँ छँदै थियो । त्यसैले मलाई फसाद परिहाल्यो । टे«नको लाष्ट स्टेसन त्यही भए त ठीकै थियो तर म पुग्नुपर्ने ठाउँमा नझरेर अन्तै लग्यो भने के गर्ने भन्ने चिन्ताले मलाई सताउन थाल्यो । म बसभित्र विस्तारै अघि बढ्दै चालकको छेउसम्म पुगेर आफू पुग्नुपर्ने ठेगानाको कागज देखाएँ । चालकसँग मैले यो ठाउँमा ओरालिदिनु भनेर आग्रह गरेँ ।
ट्रेन पनि छिटो र ढिलो जाने गरी दुई किसिमका हुँदारहेछन् । मैले पार गर्नुपर्ने लामो यात्राको चिन्ता मलाई छँदै थियो । नानाथरीका चिन्ताले मनमा डर लागिरहेको थियो । तर, आफैंलाई सम्झेर हौसला पनि मिल्थ्यो । किनकि, गाउँको मान्छे म संसारकै विकसित शहरतिर तीन सय किमी प्रतिघण्टाको गतिमा चल्ने रेल चढेर जाँदै थिएँ ।
गन्तव्यमा म पुग्न ढिलो भएकाले मलाई लिन आउने मान्छे फर्केर गइसकेछ । त्यहाँ कोही थिएनन् । मलाई फेरि अर्को फसाद पर्यो । फोन गर्नुपर्ने ठाउँमा पनि क्वाइन हाल्नुपर्ने । मसँग क्वाइन थिएन । रातको ११ बजिसकेको थियो । म अरूलाई सोध्दै अघि बढ्थेँ । एकजना मानिसले त्यो नम्बरमा कल गरिदियो र नेपालबाट एकजना हिमालयन गाइड आएको छ लिन आउनु भनेर खबर गरिदियो । त्यसपछि सम्बन्धित व्यक्तिले मलाई लिन साथी पठायो । मलाई लिन आउने मान्छेले भन्यो- आई एम द वान एमङ सेभर्न पर्सन हु स्पोन्र्ड यु टु कम हिअर । धन्यवाद, मैले पनि अहिले म थाकेको छु, भोलि सबै भनौँला नि भनेर डिप्लोम्याटिक जवाफ दिएँ । उसले पनि हुन्छ भन्यो ।
मलाई भेटेपछि उनीहरूले ममाथि निकै आत्मीयता देखाए । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड आ-आफ्नो अपार्टमेन्टमा बस्थे । एउटा अपार्टमेन्ट खाली गराएर मलाई त्यहाँ राखेर एउटामा उनीहरू मिलेर बसे । उनीहरूको हार्दिकता देखेर म नतमस्तक भएँ । म सानै उमेरदेखि परिश्रममा विश्वास गर्ने मान्छे हुँ । कुनै पनि काम ठूलोसानो हुँदैन । आफ्नो कामलाई पूजा गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । त्यहाँ पनि पैसा रूखमा फल्दैनथ्यो । उनीहरूले पनि काम गरेर नै पैसा कमाउने हुन् । मेरो उद्देश्य पनि त्यहाँ काम गरेर पैसा कमाउने नै थियो । मैले पनि इटालियन साथीहरूसँग म काम गर्न चाहन्छु भनेँ । किनकि, हाम्रो कल्चरमा विदेश जाने भनेको पैसा कमाउने नै हो र मेरो मनोभाव उनीहरूले बुझेर मलाई पनि बसुन्जेल काम गर्ने मौका दिलाए । त्यहाँ कुकुरहरूलाई केयर गर्ने ठाउँ रहेछ । मैले त्यही कुकुरहरू बस्ने ठाउँ केनलमा सरसफाइको काम गर्न थालँे । मलाई आवतजावत गर्न उनीहरूले साइकल पनि किनिदिए । केनलमा काम गर्दा अरू सबै खाना खान जान्थे । तर, म भने नजिकैको बेकरीमा खान्थेँ । मलाई मेरो साथी जानी बेजीले त्यही बेकरीमा खाना खानु भन्थ्यो । तर, मैले त्यहाँ खाएको पैसा तिर्नुपर्दैनथ्यो । कारण पछि थाहा भयो बेजीले त्यो बेकरीमा मैले खाएबापत महिनाभरिका लागि केही पैसा दिइसकेको रहेछ । केनलको कामप्रति मेरो मेहनेत र इमानदारी देखेर उनीहरू पनि खुसी भए । केही दिनपछि उनीहरूलाई फेरि एक हप्ताका लागि म बसेको अपार्टमेन्ट चाहियो । त्यसपछि मलाई एउटा क्यामपिङमा बस्ने व्यवस्था गरिदिए । त्यहाँ गाडी लगेर बस्न मिल्थ्यो । तर, भोलिपल्टै पानी परेकाले उनीहरू फेरि मलाई लिन आए । उनीहरू कामको पक्का र बढी जिम्मेवार स्वभावका थिए । म पनि पुनः काममा निकै डटेर लागेँ ।
इटाली जाँदा मैले विभिन्न फोटा खिचेर लगेको थिएँ । मेरो साथमा पढ्नलाई किताब नपाएका, च्यातिएका कपडा लगाएका, खालिखुट्टा स्कुल गएका । नांगै भएका बालबालिकाका फोटाहरू थिए । मसँग भएका ती तस्बिरलाई म स्लाइड बनाएर देखाउन चाहन्थेँ । हेर हाम्रो गाउँमा पढ्न नपाएका यस्ता बालबालिका छन्, तिमीहरूले सहयोग गर्यौ भने यिनीहरूले पढ्न पाउनेछन् भनेर भन्न चाहन्थेँ । उताका साथीहरूले मैले लगेका तस्बिरहरूको स्लाइड पनि बनाइदिए । त्यसपछि उनीहरूले स्लाइड देखाउने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गर्ने योजना बनाए । सो कार्यक्रमको उद्देश्य र योजनाबारे छलफल गर्न आफन्तहरू र सम्पर्कमा रहेका सबैलाई भेला हुन आग्रह गरे । बिदाको दिन सबैजना भेला भए । उक्त भेलामा त्यहाँका साथीहरूले कार्यक्रमको उद्देश्यबारे यसरी कुरा अघि बढाए । हामीले नेपालबाट एउटा हिमालयन गाइडलाई बोलाएका छौँ । ऊसँग राम्रो योजना छ । त्यसका निम्ति सहयोग गर्ने उद्देश्यले यो भेला गरेका हौँ । कति सकिन्छ उसलाई सबैले सहयोग गरौँ । नभए पनि उसको योजनाबारे सुनौँ । मैले पनि त्यहाँ उपस्थित सबैलाई स्लाइड सोमार्फत् आफ्नो गाउँको कथा देखाएँ । गाउँको विद्यालय र विद्यार्थीहरूको नाजुक अवस्थाबारे सुनाएँ । मेरो गाउँमा एउटा राम्रो स्कुल बनाउने अनि पढ्न नपाएका बालबालिकाहरूलाई त्यहाँ पढाउने आफ्नो योजनाबारे बताएँ । विद्यार्थीहरूलाई स्कुल पोशाक, खेलकुदका सामग्रीसहित खाजाको व्यवस्थासहितको सुविधा स्कुलमा होस् भन्ने मेरो चाहना पनि सुनाएँ । मेरो योजना सुनिसकेपछि भेलामा उपस्थित सबैले मेरोबारे यसो भने- यति सानो उमेरमा यो मानिसमा यति धेरै परिपक्व सोच कहाँबाट आयो भनेर उनीहरू मेरोबारेमा कुरा गर्थे । अरू आफ्ना लागि सोच्छन् । मानिसहरू आफैं मीठो खान पाऊँ राम्रो लाउन पाऊँ, म आफैं सुख पाऊँ भनेर भन्छन् । तैंले त देश बनाउँछु । विदेशीलाई घुमाउँछु । गाउँका मानिसलाई पढाउँछु भन्छस् । तेरो कुराप्रति हामीलाई विश्वास लाग्यो । त्यसपछि उनीहरू मेरो कुरामा सहमत भए ।
म इटालीबाट फर्केपछि त्यताको एकजना प्रतिनिधि नेपाल आयो । मैले उसलाई मेरो गाउँघर देखाएँ । विद्यालय बनाउन खोजेको स्थान र चलिरहेको पुरानो स्कुल पनि देखाएँ । पुरानो स्कुलमा अधिकांश विद्यार्थी कोही खालिखुट्टा त कोही च्यातिएको कपडा लगाएका थिए । मैले ती सबै विद्यार्थी देखाएँ । मेरा सबै योजना पनि भनँे । प्रतिनिधिका रूपमा आएको मानिस मनोवैज्ञानिक पनि रहेछ । उसले मेरो दैनिक रुटिन अध्ययन गथ्र्यो । मेरो बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्मको समग्र दैनिकी रेकर्ड गरेर ऊ इटाली फर्कियो ।
प्रतिनिधिका रूपमा आएको मानिसले यहाँ बनाएका सबै रेकर्डहरू उता लगेर देखाएछ । त्यसपछि विद्यालयका निम्ति इटालीमा सहयोगार्थ रकम जम्मा हुन थाल्यो । उठेको पैसालाई प्रत्येक महिना यता पठाउने काम भयो । यता विद्यालय निर्माणको काम पनि धमाधम सुरु भयो । यसरी अन्ततः मेरो गाउँमा नौ कोठे विद्यालय भवन तयार भयो । पढाइ सबै थोक होइन तर पढाइले सम्भावनाका ढोकाहरू खोल्न मद्दत गर्छ । त्यसैले मैले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो गाउँमा पढ्न नपाएका बालबालिकालाई पढाउन स्कुल बनाउँछु भनेर योजना बनाएको थिएँ र म सफल पनि भएँ । (लेखक सापकोटा पर्यटन व्यवसायी हुनुहुन्छ ।)
अनगिन्ती धन्यवाद हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका