
म्याग्दी । म्याग्दीका जंगलहरुमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरी पालक कृषकहरु बढ्दै गएपनि मह उत्पादन भने घट्दै गएको छ ।
म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैयूँ, दुदिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव र पुष्परसको कमी भएका कारण मह उत्पादन घट्दै गएको कृषकले बताएका छन् ।जिल्लाको मालिका गाउँपालिका १ निस्कोटका किसान तिलबहादुर पुनले विगतका वर्षको तुलनामा तीन वर्षयता मह उत्पादन घटेको बताउनुभो ।
“गाउँमा मैरी पालन गर्ने कृषकहरुको संख्या वढे पनि मह उत्पादन भने घटेको छ” पुनले भन्नुभयो । अत्यधिकरूपमा डढेलो लाग्नु, बाढी, पहिरो, भूक्षयले क्षति पु¥याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैयूँ र दुदिलाका बोट काट्ने क्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उहाँको भनाइ रहेको छ ।
जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।
त्यसैगरी मंगला गाउँपालिका ५ का मौरीपालक कृषक टिका सापकोटाले तोरी, वुकी, पैयूँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताउनुभयो । सापकोटाले जंगलमा भएको आगलागी, वातावरणीय प्रदूषण र फूल फुल्ने समयमा पैयुँ,दुदिलो र चिउरी लगाएतका बोट ढालिएकाले विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको जानकारी दिनुभयो । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, सापकोटाले भन्नुभयो ।
विगत तीन वर्षयता म्याग्दीका जंंगलहरुमा डढेलो लाग्ने क्रम बढेसँगै मह उत्पादनमा पनि कमी हुँदै गएको किसानहरुको अनुभव रहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत् बानियाँले जंगलमा अत्यधिकरुपमा डढेलो लाग्नु र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । मौरीको गोलाको सङ्ख्या अत्यधिक बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ । जिल्लामा मौरीपालक कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । जिल्लाका छ स्थानीय तहका दुईसय भन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।
मह उत्पादन वृद्धिका लागि तोरी खेतीको क्षेत्रफल वृद्धि, पैयुँ,दुदिलो,चिउरी जस्ता रसदार वनस्पति र बोटविरुवाको संरक्षण तथा वनमा डढेलो नियन्त्रण गर्न गरिनु पर्ने कृषि प्राविधिकहरु बताउनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच