काठमाडौं । विभाजन र एकता नेपाली कम्युनिष्ट पार्टीको पर्यायजस्तै बनिसकेको छ । स्थापनाको ७५ वर्षमा कम्युनिष्ट पार्टीको विभाजन र एकता गनिसाध्य छैन । हाल नेपालमा क्रियाशील कम्युनिष्ट पार्टीको संख्याले पनि उनीहरूको विभाजन झल्काउँछ । संसदीय राजनीति र संसद्बाहिर दर्जनौँ कम्युनिष्ट पार्टीका पसल क्रियाशील छन् । उनीहरूको संख्या पनि यकिन छैन । निर्वाचन आयोगमा दर्तै नभएका कम्युनिष्ट पार्टीको संख्या नै दर्जन हाराहारी छ । संसद्मै पनि आधा दर्जन बढी कम्युनिष्ट पार्टी छन् । कम्युनिष्ट पार्टीहरू विभिन्न समूहमा विभाजन भएर कुनै सत्तापक्ष भएका छन्, त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्ध भूमिगत छन् । नेपाल कम्युनिष्ट पार्टी अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । एक-अर्कालाई अनेकौँ आरोप-प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिष्ट ठान्दै आएका कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक र नीतिगत आधारबिना नै पटक-पटक फुट्ने गरेका छन् ।
जुट्ने बेला पनि अवस्था उही हो । सबैजसो कम्युनिष्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विवादभन्दा पनि व्यक्तिगत इगो र पद-प्रतिष्ठाका लागि नै फुटेको र जुटेको देखिन्छ । ‘विश्वका मजदुर एक हौँ’ भन्ने नारा लगाउने कम्युनिष्टहरू आफैँमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्छ । कम्युनिष्ट दलहरू मिलापमा भन्दा विभाजनमै विश्वास गर्ने स्थिति सिर्जना गरिरहेका छन् । अहिले फेरि वामपन्थी एकता (एमाले-माओवादीलगायत)को चर्चा हुने गरेको छ । कुनै समय एक भइसकेका एमाले-माओवादीलगायत दलहरू फेरि एक हुने/नहुने बहस गरिरहेका छन् । विभाजित भए पनि सबैको मत जोड्दा आज ठूलो राजनीतिक शक्ति कम्युनिष्ट नै हुन् । अझै उनीहरू वाम धुव्रीकरण र एकताको कुरा गरेर थाक्दैनन् । टुट-फुटसँगै सानातिना दलहरूबीच एकता पनि भइरहेकै हुन्छन् ।
दुई कम्युनिष्ट पार्टीबीच एकता
यसै साता कम्युनिष्ट नामका दुई पार्टीबीच एकता भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनीहरूबीच एकता भएको हो । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)बीच पार्टी एकता भएको हो । यसअघि गतसाता आमजनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको थियो । श्रमिक दिवसमा एक भएका दुवै पार्टी यसअघि कम्युनिष्टबाटै फुटेर बनेका पार्टी हुन् । वैद्य नेतृत्वको पार्टी दोस्रो संविधानसभा चुनावअघि माओवादी केन्द्रबाट र नेपाली नेतृत्वको पार्टी केही वर्षअघि मोहनविक्रम सिंहको नेकपा मशालबाट विद्रोह गरी बनेको थियो । २०६८ सालमा प्रचण्ड र बाबुरामहरू संसदीय व्यवस्थामा विलय भएको निष्कर्ष निकाल्दै वैद्यको नेतृत्वमा नेकपा माओवादी गठन भएको थियो । त्यसबाट फुटेको नेकपा विप्लवको नेतृत्वमा कायम छ । विप्लव नेतृत्वको नेकपाबाट फुटेको धर्मेन्द्र बास्तोला नेतृत्वको समूहसँग एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेको थियो ।
एकता अधिवेशनले पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नै राखेको छ । नवगठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, वरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहनुभएको छ । एकता अधिवेशनले २५ जनाको कार्यालय, १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ । कार्यालय सदस्यहरूबाट सातजना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ । एकता घोषणा कार्यक्रममा बोल्ने नेताहरूले संसद्बाहिर रहेका क्रान्तिकारीहरूलाई एकताबद्ध गरी समाजवादी व्यवस्थाको लागि आन्दोलनमा गोलबन्द गरिने बताएका छन् ।
एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडा गर्नेछ : वैद्य
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक किरणले कम्युनिष्ट नामका विभिन्न संशोधनवादी दलहरूको भ्रममा परेका क्रान्तिकारीहरू, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरूलाई ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आहृवान गर्नुभएको छ । ‘कम्युनिष्ट नामका विभिन्न संशोधनवादी दलहरूको भ्रममा परेका क्रान्तिकारीहरू, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरूलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आहृवान गर्दछौँ,’ उहाँले भन्नुभएको छ, ‘तपाईं हाम्रो यस प्रकारकोे एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडा गर्नेछ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल छ ।’
आफूहरूको एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडा गर्ने र क्रान्ति सम्पन्न हुने उहाँको विश्वास छ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल रहेको उहाँले बताउनुभयो । ‘श्रमजीवी तथा आम उत्पीडित वर्गको अग्रदस्ताका रूपमा माक्र्सवाद-लेनिनवाद-माओवाद÷माओविचार धाराको सर्वाेच्च चेतनाद्वारा सुसज्जित र सर्वहारा वर्गका प्रतिनिधिबाट बनेको सच्चा कम्युनिष्ट पार्टीबिना उनीहरूको मुक्ति असम्भव छ भन्ने अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभईकन कुनै परिवर्तनकारी आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन,’ एकतापछि उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यस तथ्यलाई आत्मसात गरी एकतामार्फत हामीले एकता–संघर्ष र बारम्बारको फुटबाट आक्रान्त बन्दै आएको नेपाली कम्युनिष्ट आन्दोलनलाई आउने दिनमा एकता-संघर्ष रूपान्तरण र उच्चस्तरको एकतालाई हावी बनाएर लैजाने प्रतिबद्धता जाहेर गर्दछौँ ।’
एकताअघि नै विभाजन
नेपाल कम्युनिष्ट पार्टी (मशाल)सँग एकता गर्नुअघि नै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल आफैँ विभाजित बनेको थियो । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै सचिवालय सदस्य समरजङको नेृतत्वमा एउटा समूह बाहिरिएको थियो । विभाजन गर्दै समरजङले अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरू एकजुट हुन आवश्यक रहेको औँल्याउनुभएको थियो । वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन उहाँले पनि सबैमा अपिलसमेत गर्नुभएको थियो । पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्न पटक-पटक अध्यक्ष मोहन वैद्यसँग छलफल भए पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकाले आफूहरू अलग हुने निष्कर्षमा पुगेको उहाँको भनाइ थियो । उनीहरूले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पंगुु बनाइएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरूले अध्यक्ष वैद्यमा रूढीवाद हाबी रहेको निष्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । समरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व साम्राज्यवादले सच्चा कम्युनिष्टहरूमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्ध कालमा प्रतिकारमा संलग्न गुटहरूसँग गरिएको कथित् पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ । परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरूको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरूसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौँ ।’
२०८४ को चुनावलाई उपयोग गर्ने नेकपाको निर्णय
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले २०८४ सालको आम निर्वाचनमा भाग लिने निर्णय गरेको हो । नेकपाले माओवादी घटकबीच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति अघि सारेको छ । देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै महासचिव विप्लवले वामपन्थीबीच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जानेगरी बैठकले निर्णय गरेको जानकारी दिनुभयो । नेकपाले २०८४ को निर्वाचनलाई समाजवादको अभियानका रूपमा उपयोग गर्ने नीति अघि सारेको छ । चुनावी मोर्चाको उपयोगबारे प्रष्ट पार्दै विप्लवले भन्नुभयो, ‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।’
विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ : विप्लव
नेकपा महासचिव विप्लवले विचार मिल्नेसँग एकता गर्दै जानुपर्ने बताउनुभयो । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने र त्यसपछि सबै कम्युनिष्ट पार्टीसँग पनि एउटै कम्युनिष्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्नुपर्ने उहाँले बताउनुभयो । त्यति गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा बृहत् कम्युनिष्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मिहिनेत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । साथै बृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीनवटा विकल्प पनि विप्लवले अघि सार्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच