
मन्ट्रिअल । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाका सिख समुदायमा डर रहेको स्वीकार गर्नुभएको छ । यद्यपि गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उहाँले ‘कानुनको शासन’लाई जोड दिनुभयो ।
प्रहरीले हरदीप सिंह निज्जरको हत्याको आरोपमा शुक्रबार तीनजनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री टुडोले हत्यामा भारत सरकारको संलग्नता रहेको बताउनुभएपछि क्यानाडा र भारतबीच कूटनीतिक मनमुटाव सिर्जना भएको थियो ।
शनिबार टोरन्टोमा सिख सम्पदा र संस्कृति मनाउन आयोजित एक समारोहमा टुडोले क्यानडाका सिख समुदायमा धेरै मानिसले ‘असहज महसुस गरिरहेको र अहिले पनि भयभीत रहेको’ स्वीकार गर्नुभयो । यद्यपि उहाँले न्याय प्रणालीमा विश्वास गर्न आग्रह गर्नुभयो ।
‘हामी शान्त बनौं र हाम्रो लोकतान्त्रिक सिद्धान्त र न्याय प्रणालीप्रति हाम्रो प्रतिबद्धतामा अडिग रहौं’, उहाँले भन्नुभयो, ‘गिरफ्तारी महत्वपूर्ण थियो किनकी क्यानाडा बलियो र स्वतन्त्र न्याय प्रणालीसहितको कानुनको शासन भएको मुलुक हो, साथै नागरिकहरूको सुरक्षा गर्ने आधारभूत प्रतिबद्धता पनि हो ।’
बाइस वर्षका दुई र अर्का २८ वर्षका गरी तीन भारतीय नागरिकलाई ‘फस्र्ट डिग्री’ हत्या र षड्यन्त्रको आरोपमा शुक्रबार पक्राउ गरिएको थियो । उनीहरूमाथि निज्जरको हत्या भएको दिन गोली चलाउने, चालक र निगरानीकर्ता भएको आरोप छ । संदिग्धहरूको सम्बन्ध ‘यदि भारत सरकारसँग छ’ वा अरूको पनि संलग्नता हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सन् १९९७ मा क्यानडा बसाइँ सरेका र सन् २०१५ मा नागरिक बनेका निज्जरले भारतबाट निकालिएको खालिस्तान भनेर चिनिने छुट्टै सिख राज्यको वकालत गरेका थिए । उनलाई कथित आतंकवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूले खोजेका थिए ।
सन् २०२३ जुन १८ मा उपनगरीय भ्यानकुभरमा उनले नेतृत्व गरेको सिख मन्दिरको पार्किङमा मुखुण्डो लगाएका आक्रमणकारीले उनको गोली हानी हत्या गरेका थिए ।
प्रधानमन्त्री टुडोले धेरै महिनापछि क्यानडासँग हत्यामा भारतीय गुप्तचर संलग्न रहेको ‘विश्वसनीय आरोप’ को घोषणा गर्नुभएको थियो । साथै उहाँले एक भारतीय अधिकारीलाई निष्कासित गर्नुभएको थियो ।
भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्दै र कडा प्रतिक्रिया दिएको थियो । साथै क्यानडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगाएको थियो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पारेको थियो ।
नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच