
भाइरस परिचय
काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी छवटालाई शरीरमा रहेका शत्रु भन्छ दर्शन शास्त्रले । त्यसबेला भाइरस शब्द विज्ञानले बनाएको थिएन । विज्ञानको जन्म नै भएको थिएन भने पनि फरक पर्दैन । दर्शन भनेको हाउगुजी होइन यो त जीवनका लागि आवश्यक जागतिक गति बुझाउने दृष्टि हो । बुझ्नु, हेर्नु, देख्नु नै दर्शन हो । जीवनजगत् सम्बन्धी दृष्टिलाई नै दर्शन मान्न सकिन्छ । हिजो, अस्ति पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरका मान्छेभित्र रहने तत्व हुन् यी छवटा कुरा । यिनै छवटा कुरालाई जीवनमा सहकारी बनाएर जसले उपयोग गरो त्यो राम, कृष्ण, बुद्ध, पतञ्जलि, पाणिनि, जेजस, आइन स्टाइन बने ।
शेक्स्पियर, शेली, कलरिज, भानुभक्त, मोतीराम लेखनाथ, सम र देवकोटा मात्रै होइन मैथिलीशरण गुप्त, हजारीप्रसाद द्विवेदी, डा.नगेन्द्र, डा.वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, गान्धी, नेहरू, बीपी आदि जति पनि चम्किला अनुहार छन् विश्वमा सबै यिनै छवटा कुरालाई व्यवस्थापन गरेर बनेका हुन् भने अंगुलीमाल, रत्नाकर, चर्लीचापलीन पनि यिनै छवटा कुराको अर्को प्रयोग या उपयोगबाट बनेका हुन् । कामचिन्तनले फ्रायड, वात्स्यायन र कोकपण्डित बनेको देखिन्छ भने धनचिन्तनले कुबेर, रकफेलर, अम्बानी, टाटा, बिडाला आदि बनेको देखिन्छ । जसरी कुनै महत्वपूर्ण तीर्थ या दर्शनीय स्थानमा पुग्न जुन मार्ग समाते पनि एउटा कुनै बाटो समातेर एकलव्य भावले त्यहाँ पुग्ने लक्ष्य राखेर हिँड्नु आवश्यक हुन्छ त्यसैगरी जीवनका महनीय पद या स्थान पाउन पनि त्यस्तै प्रकारले लक्ष्य निर्धारण गरेर जीवनमार्गमा लाग्नुपर्ने हुन्छ ।
राजनीतिमा लाग्ने भाइरस ती ढड्डू जीव हुन् जो दौरासुरुवाल कोट लाएर टोपी ढल्काएर, महान् त्यागी र सच्चा देशभक्त आफूबाहेक अहिलेसम्म अर्को पैदा भएकै थिएन र पछि पनि हुनेछैन भन्ने कुरामा जनतालाई विश्वास दिलाएर देशको शासन चलाउने ठाउँमा पुग्छन् ।
जतिबेला जे मनमा आयो त्यही गर्ने, अनावश्यक किसिमले अरूको कुभलो गर्ने त्यसबाट आफ्नो भलो पनि भएको हुँदैन तापनि अरूलाई चाहिँ दुःख दिन्छ नै भने यस्तालाई चिकित्सा विज्ञानले भाइरस भन्ने नाम राखेको देखिन्छ । यो भाइरस अहिले समाज,राजनीति र जीवनका प्रत्येक तह र तप्कामा देखापर्न लागेको छ । अन्नमा लाग्ने घुन पुतलीजस्तै यी भाइरस देखिने र नदेखिने पनि हुन्छन् । राजनीतिमा देखिने तर केही गर्न नसकिने भाईरस हुन्छन् । प्रशासनमा जी हजुर भाइरस हुन्छन् । बेलामौकामा यिनलाई माध्यम बनाएर राजनीतिकर्मीले यिनैलाई अप्ठ्यारोमा पार्दछन् । यिनैबाट आफू डकार्छन् यिनैलाई असजिलो पारेर आफू मस्तीमा बस्छन् ।
राजनीतिक भाइरस
राजनीतिमा लाग्ने भाइरस ती ढड्डू जीव हुन् जो दौरासुरुवाल कोट लाएर टोपी ढल्काएर, महान् त्यागी, सच्चा देशभक्त आफूबाहेक अहिलेसम्म अर्को पैदा भएकै थिएन र पछि पनि हुनेछैन भन्ने कुरामा जनतालाई विश्वास दिलाएर देशको शासन चलाउने ठाउँमा पुग्छन् र देशलाई उध्र्वगतिमा विकास गर्ने डिङ हाँकेर जनता झुक्याएर, मान्छे मारेर जेल बसेको भए पनि देश, जनता, प्रजातन्त्रका लागि भनेर आफ्ना प्रतिस्पद्र्धीलाई साम, दाम, दण्ड र भेद जे लाउँदा सकिन्छ त्यो लाएर थला राख्छन् कि पार्टीबाटै भगाउँछन् । आफू जिताहा साँढे डुक्रे झैँ होक्काँ गर्छन् ।
जसले कुनै राजनीतिक दलको परम्परा, इतिहास, जनतामा, स्थापित आदर्शको मतलवै नराखीकन, उचितअनुचितको पनि ख्याल नगरीकन बँदेल या सुँगुरले जस्तो गरी जहाँ पनि थुतुनु चोबल्ने बानीको विकास गरेका हुन्छन् ती असली र कडा राजनीतिक भाइरस मानिन्छन् । यिनले आफूलाई सजिलो हुनेगरी दिनमा तीन पटक र रातमा चार पटक नियमकानुन मिच्छन्, मिच्न असजिलो भयो भने बदल्छन् र त्यो पनि नभ्याइने भए अध्यादेशबाट आफ्नो दुनु सोझ्याउँछन् । सरकारी जमिन बेच्ने आदेश दिन्छन् र पनि ठालु बनेर समाजमा उपदेश दिई हिँड्छन् । यिनलाई लाज, घिन, शर्म कुन चराको नाम हो थाह हुँदैन । यिनको भुँडीले लाजलाग्ने ठाउँलाई छेकेर आँखाले देख्न नसक्ने बनाएको हुन्छ ।
दिमागमा बोसो लागेर आफ्नो, आफ्ना र नातागोता बाहेकलाई सम्झनै नसक्ने गरी बोसाले गिदी ढाकेको हुन्छ । यी कोही आन्दोलनका बेला बेलायततिर पुगेर भाग खाने बेलामा आइपुग्छन् त कोही जनताले चाहेका कुरालाई बयल गाडामा बसेर अमेरिका पुग्न नसकिने उदाहरण दिन्छन् । यी भाइरस कोही ठाउँ परिवर्तन गर्छन्, यिनको स्वर पनि छिनछिनमा परिवर्तन हुन्छ । डफ्फा परिवर्तन त यिनीहरू छेपाराले रङ बदले भन्दा सहज किसिमले बदल्छन् । नेपालमा यी भाइरसले वाइडबडी हवाइजहाज क्वाप्प पारे, कुइन्टलका कुइन्टल सुन सुल्क्याए, करौडौंको रक्तचन्दन घसेर सभामुख पद पनि खाए ।
ज्यानमारा, जनतामारा, अरिंगालपोसा, नागरिकलाई गैरनागरिकपारा, सहकारीनिला, देशविदेशठगा, भेषबदला, उथलपुथलचला, बोलीबदला, बहुपतिराखा र बहुपत्नीपाला, विद्यार्थी जीवनका अंकसँगिनीलाई सम्झीसम्झी खोजी खोजी ल्याएर विभिन्न पदबाँडाजस्ता यदि कतै देखिए भने ती भनेका कुनै पनि देशका भयानक दोस्रो फेजको कोरोनाभन्दा पनि खतर्नाक राजनीतिका भाइरस हुन् भनेर जान्नु पर्दछ । अनेकौं रूप लिएर संसारभरि या कुनै खास प्रदेशमा फैलने काम गर्नसक्ने तत्व नै भाइरस हो । भर्खरै पनि उथलपुथल भाइरस दम्भ भाइरसका बीचमा बजेटलाई र सहकारी ठगीका प्रसंगमा भाइरस भाइरस भिडेको देखिन्छ ।
प्रशासनिक भाइरस
जीहजुर जीहजुर गरी नियुक्ति दिने ठाउँमा, ठेकी कोसेली पुर्याएर हुन्छ कि, ब्रिफकेस लगेर हुन्छ कि, श्रीमती देखाएर हुन्छ कि साली पठाएर हुन्छ या प्रभुलाई के रुचिकर छ त्यो टक्र्याएर भए पनि आयमूलक पदमा पुग्ने प्रयत्न गर्नु प्रशासनिक भाइरसको मुख्य चरित्र हो । सगरमाथाजस्तै अग्लो चुच्चो भएको टोपी र दौरासुरुवालमा राष्ट्र राष्ट्रियताको कुम्लो बोकेर गएका कुनै कालखण्डका प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतले घरजग्गा जमिन जोड्नका लागि ससुरालाई बाबु बनाएर ल्याएका कागजात केलाएर नागरिकता नदिएको भए आज नेपाली मधेसवासीको यो हविगत हुने थियो र ? विमलेन्द्र निधि हार्ने राजेन्द्र महतो ढाडिने केले भयो ? सुरेन्द्र चौधरी र राजेन्द्र अमात्यभन्दा ठूला राष्ट्रवादी पर्सामा यसै देखिएका हुन् र ?
आज पनि नेपाल सरकारको प्रमुख सचिवालयमा गएर भैरव अर्यालले झैँ नियाल्ने हो भने उहिल्यैका डाइनासोरभन्दा ठूला आकारका प्रशासनिक भाइरस भेटिने छन् । राजनीतिका भाइरसलाई मलजल गरी हुर्काउने र मरक्क पारेर जनता मर्काउन सिकाउने पनि यिनै ढड्डू प्रशासनिक भाइरस नै हुन् ।
विज्ञानले आविष्कार गरेका ओखतीले कोरोना भाइरसबाट मान्छे बँचाए पनि कोरोनाले अनेक रूप बदलेर मानवलाई गाँज्न नछाडेजस्तै गरी यो प्रशासनिक भाइरसले पनि हाम्रो प्रशासनलाई गाँज्न छाडेको छैन । सभामुखकै नजिकमा बसेका डब्बल नागरिकका अगाडि बिचरो कैलाश सिरोहिया नौ दिन जेल बस्न त्यसै पाएको हो त ? यस्तै छ यहाँ गधाले पेडा खान्छन् गाई भोकै मारिन्छन् । जति धेरै कोसेली पायो त्यही अनुसारको वंशज, आंगीकृत आदि नागरिकता बाँड्ने त्यस बेलाका प्रजिअ र शाखाअधिकृत जति गतिला राष्ट्रवादी भाइरस त आज नागरिकलाई गैरनागरिक बनाएर भोजन गर्ने, अमेरिकादेखि डब्बल नागरिकता, डब्बल राहधानी राखेर सहकारी ठगेर जनता मारेर पनि गृहसहितको उपप्रधानमन्त्री पड्काउने चारचारवटी पत्नीका पति महापुरुषभन्दा गतिला राष्ट्रभक्त मानिनुपर्छ भन्ने आमजनताले ठानेका छन् ।
आज पनि नेपाल सरकारको प्रमुख सचिवालयमा गएर भैरव अर्यालले झैँ नियाल्ने हो भने उहिल्यैका डाइनासोरभन्दा ठूला आकारका प्रशासनिक भाइरस भेटिने छन् । राजनीतिका भाइरसलाई मलजल गरी हुर्काउने र मरक्क पारेर जनता मर्काउन सिकाउने पनि यिनै ढड्डू प्रशासनिक भाइरस नै हुन् । यिनले मनमोहन अधिकारीलाई पनि झन्नै कमलकोटीले झुसिल्कीरालाई कमलकोटी बनाए झैँ भाइरसमा नबदलेका । बुढा चलाख रहेछन् र विदेशबाट फर्कनेबित्तिकै हिसाब गराएर भाइरसको बिउ ६०० डलर राज्यकोषमा जम्मा गराएछन् । बिचरा ती सोझा बुढालाई त डाम्न खोज्ने नेपालका प्रशासनिक भाइरस कम्ताका छन् त ? मेयर भाइरस र मन्त्री भाइरस पनि बेलाबेला संघर्षमा उत्रेका दृश्य देख्न पाइन्छ । निर्वाध समाजसदस्य पिरोल्ने यी भाइरस जब कतै रोकिन्छन् उद्देश्य जुध्छ अनि भाइरस भाइरस कृष्ण र महादेव युद्ध मैदानमा आए झैँ आउँछन् आ-आफ्ना लाउके जोगाउन ।
शैक्षिक भाइरस
शैक्षिक भाइरस चाहिँ नर्सरी, केजीदेखि एमए, पिएचडीसम्मै फैलेर बसेका हुन्छन् । सिँगान पुछ्ने टालोदेखि पौडी खेलाउने सामग्रीसम्मको नचाहिँदो बिल पठाएर, केटाकेटीलाई कुटेर, कुखुरा बनाएर जसरी पनि असुल्ने प्रवृत्तिका यी भाइरसको गिदीशून्य हुन्छ, गलामा टाई झुण्ड्याएर वाक्यैपिच्छे अङ्ग्रेजीका बिग्रन्ते शब्द घुसाएर ग्वाँच अभिभावकलाई मोहनी लाउँछन् यी भाइरसले । पछि पढ्न नआए पनि भर्नामा नै घरबारी बेचाएर असुल्नु यिनको बायाँ हातको खेल हो । कक्षा १ मा भर्ना फि ७५ हजारदेखि १ लाख ३५ हजारसम्म अहिले काठमाडौंमा चलेको रेट हो निजी विद्यालयको ।
सरकारी विद्यालयमा राजनीतिका भाइरस र प्रशासनका भाइरसको लुकामारीले पढाइ होइन बारमासे लडाइँ गराउन थालेपछि कण्ठलँगौटीका शरणमा पुगेका छन् ग्वाँचप्रसादहरू । सुमनाको चुल्ठो हल्लियोस् या गिरिराजमणिको कण्ठलँगौटीको फुर्को हल्लियोस् प्राइभेट र पब्लिक भनिने द्रव्यभाइरसलाई केही फरक परेको छैन । खड्गको चुरीफुरी चलोस् या शेरको गर्जन गुञ्जियोस्, उथलपुथलको पैरो जावस् कि माकुने हात्ती कुँजोस् बौद्धिक चोरी, किनुवा प्रमाणपत्र, उत्कोच बढुवा र भनसुन नियुक्ति जहाँ पनि बर्करार छ । अब त निवेदन र व्यक्तिवृत्तका साथमा खँदिलो बृफकेस पनि बोकेर ‘सौ मुस खा के चली बिल्ली हजको’ वालाहरू विश्वविद्यालयमा आउन लागेका छन् ।
स्वास्थ्यभाइरस
स्वास्थ्यका भाइरस झनै भयानक हुन्छन् । त्रिविको शिक्षण अस्पतालको मनमोहन मेमोरियल...भास्कुलर...भन्नेमा तलदेखि माथिसम्म भाइरसले गाँजेको खबर बाहिरिएको छ । डा.गोविन्द केसी जस्ता अभियन्तालाई समातेर उचाल्ने र पछार्ने काम पनि स्वास्थ्यक्षेत्रकै भाइरसको काम हो । यो भाइरस त झनै भयानक हुन्छ । दुर्गा प्रसाईंलाई यसले गाँजेको थियो सर्वोच्चका सुइँले अलि मत्थर पारेपछि उनी बर्बराउन छाडेका छन् । सरकारमा लागेको भाइरसलाई सर्वोच्च सुईबाहेक अरू कुनै औषधिले छुन छाडेको छ अचेल नेपालमा । दाहिँने खुट्टाको अप्रेसन गर्न छाडेर देब्रे काटिदिन्छन् यो भाइरस लागेका डाक्टरले ।
नेपालमा अहिले प्रमाणपत्र किनुवा डाक्टर पनि छ्यप्छ्याप्ती भएका छन् धनभाइरसका कारणले । केपी नामको कोरोनाको भेरियन्ट भाइरसले खान नपाएर बाँको खाएर जहानै आत्मघात गर्न लागेका नेपालीलाई भ्युटावरमा लगेर ज्युँदै स्वर्ग देखाउन थालेको छ । यस भाइरसले नेपालका सबै क्षेत्रमा आफ्नो प्रभावकारी असर देखाएर पनि मै हुँ भन्न छाडेको छैन । भनिन्छ यस भाइरसका चारवटा किड्नी हुन्छन् रे । यस्तै भाइरस छानीछानी पठाउने सबै नेपाली मतदाता नै भाइरस रहेछन् यो देशका भन्ने कुरो मतदाताले बुझेका दिन सबै भाइरसको आयु कसो नसकिएला ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच