
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो तेस्रो कार्यकाल मुलुकको शासनसत्ता चलाइरहनु भएको छ । आफू नेतृत्वको सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न आउनुभएका प्रधानमन्त्री प्रचण्डको नयाँ गठबन्धनसँगको यात्रा पनि सुखद बन्न सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले जारी कार्यकालमा चारपटक संसद्मा विश्वासको मत लिइसक्नु भएको छ । संसद्बाट पटक-पटक विश्वासको मत लिए पनि प्रधानमन्त्रीप्रति समर्थक दलहरूकै अविश्वास भने निरन्तर बढ्दो छ । अनेक उपाय अपनाएर पनि सरकार चलाउने सार्वजनिक घोषणा गर्नुभएका प्रचण्ड प्रधानमन्त्रीबाहेक अन्य सबै कुरामा सम्झौता गर्न तयार देखिनुभएको छ । कुनैबेला नयाँ दलहरूप्रति असाध्यै अनुदार देखिएका प्रचण्ड सत्ता जोगाउनकै लागि सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा लाग्दै आउनुभएको छ । सत्तारूढ दलको मुख्य घटक एमालेसँग गैरराजनीतिक स्तरका समेत सम्झौता गरेर आफ्नो सरकार जोगाउन अनेक प्रयत्न गरिरहनु भएको छ । सरकारमा सहभागी कतिपय दलले नै सरकारको आलोचना गरिरहँदा भविष्यमा उत्पन्न हुनसक्ने खतराबाट सत्ता जोगाउनको लागि प्रचण्ड जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन कम्मर कसेर लाग्नुभएको छ ।
सत्ता सहयात्री दलहरू रिझाउनकै लागि आफ्नो भारत भ्रमणको अघिल्लो दिन राजदूतहरू फिर्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमै जग हसाउनुभएका प्रचण्डले आफ्नो पार्टीको भागमा एकजना मात्र राजदूत राखेर अघिल्लो चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई देशको राजदूत भाग लगाउनुभएको छ । आफ्नै दल माओवादी केन्द्रमा समेत कार्यशैलीको आलोचना भइरहँदा प्रधानमन्त्री प्रचण्डले सत्ताकै लागि बुर्जुवाहरूसँग कम्परमाइज (सम्झौता) गरेको स्वीकार गर्नुभएको छ ।
‘अनेक गरेर पनि सरकार टिकाइन्छ’
प्रधानमन्त्री प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको दाबी गर्नुभएको छ । सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उहाँको जिकिर छ । आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको र प्रधानमन्त्रीबाट हट्छ कि भन्ने चिन्ता नलिन आग्रह गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरू आउँछन् । अर्कोले कुरा गर्दै छ रे, केही दिनपछि सरकार जाँदै छ रे भन्ने र तपार्इं हाम्रो दिमागमा कन्फ्युज क्रियट गर्ने पूरै कोसिस भएको छ । अहिले डेढ वर्ष भयो । तर, म बसेकै छु । र, मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।’
सत्ता समीकरणमा कुनै समस्या नभएको दाबी
प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्ता समीकरण निरन्तर रहने दाबी गर्नुभयो । वर्तमान सत्ता समीकरणमा कुनै समस्या र असमझदारी नरहेको प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सत्ता समीकरणमा कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर, केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्ता समीकरणमा कुनै समस्या छैन र हुँदैन ।’
छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुने
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुने बताउनुभएको छ । समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको उहाँको तर्क छ । मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका लागि माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रूपमा विकास गर्ने दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ । पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौँ । नयाँ विचार संश्लेषण गर्छौँ । नयाँ अभियानसहित लैजान्छौँ । र, गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ ।’
बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन : प्रवक्ता शर्मा
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने दाबी गर्नुभएको छ । प्रेस सेन्टरले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो, ‘जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ । अहिलेको गठबन्धन सरकारको विकल्पबारे सोचिएको छैन ।
प्रतिपक्ष थप सशक्त हुन्छ : सभापति देउवा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताउनुभएको छ । संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिरहेको भन्दै सभापति देउवाले संसद्मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताउनुभएको हो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेशपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, ‘अहिले कांग्रेस सरकारबाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु । व्यक्तिगत रूपमा मेरो पनि आलोचना भइरहेको छ । अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुनेछ ।’
प्रचण्ड र माधवले एमालेलाई मियो मानेका छन् : ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई मियो मानेर अहिलेको सरकार बनेको बताउनुभएको छ । शनिबार नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एमालेका विरुद्ध अप्राकृतिक र प्रतिशोधपूर्ण ढंगले बनाइएको गठबन्धन भत्किएको र नेकपा एमोलेलाई मियो मानेर अहिलेको गठबन्धन बनेको बताउनुभएको हो । हिजो एमाले खराब भनेर गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू पुनः एमालेलाई मियो मानेर नयाँ समीकरण बनाउने स्थितिमा आउनुपरेकोे उहाँको जिकिर छ । एमाले आगामी निर्वाचनसम्मै यो गठबन्धन टिकाउने पक्षमा रहेको उहाँको भनाइ छ । तर, सकारले राम्रो काम गर्दै जानुपर्ने सर्त एमालेको रहेको उहाँले स्पष्ट पार्नुभयो । गएको तीन वर्षमा जसरी एमालेलाई कमजोर बनाउने ठूलो कसरत भएको त्यसको ठीक विपरीत अब एमाले झन् झन् शक्तिशाली बन्दै जाने गरी पार्टीको ग्राफ उकालो लागेको उपमहासचिव ज्ञवालीको जिकिर छ । एमालेलाई तल पार्न खोजेकाहरूले पार्न सक्ने जति पारिसकेको उल्लेख गर्दै उहाँले एमाले अब बाउन्स ब्याकको नयाँ स्तरमा पुगेको दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच