
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगिने गरेका घटनामा दिनानुदिन वृद्धि भइरहेका छन् । मेनपावर कम्पनीहरू ठग्नकै लागि स्थापना भएका हुन् कि भन्ने यिनले बेला-बेलामा गर्ने गरेका ठगीका घटनाहरूबाट पुष्टि हुने गर्छन् । ठगीका समाचार बेला-बेलामा आइनै रहन्छन् । हाम्रो देशमा ठगी नभएको क्षेत्र पाउन मुस्किलै छ । राजनीतिक क्षेत्र त यस्ता झुट र ठगीहरू हुने पहिलो क्षेत्र नै हो । त्यसबाहेक स्वास्थ्य, शिक्षा, यातायात क्षेत्रमा पनि बढी ठगी हुने गरेको छ । वैदेशिक रोजगारमा जानेहरूका लागि भिसा पासपोर्ट सहज ढंगले मिलाइदिने उनीहरूका लागि आवश्यक प्रक्रिया सजिलो बनाइदिने र आफूले गरेको कामको उचित पारिश्रमिक लिने गरी मेन पावरहरू स्थापना भएका हुन् ।
तर, हाम्रोमा यस्ता कम्पनीहरू ठगीका पर्यायजस्ता बनेका छन् । ‘कन्स्ट्रक्सन लेबर’ भिसाका नाममा नागरिकहरूलाई ठगी गरेको समाचार एउटा प्रतिनिधि समाचार हुनसक्छ तर यस्ता सयौं समाचारहरू दिनदिनै आइरहने गर्छन् । हालैको ताजा समाचार अनुसार ब्लु मुन ओभरसिजले ‘कन्स्ट्रक्सन लेबर’ भिसामा दुबई पठाएका नौजनाले उक्त ओभरसिजले भने अनुसार काम पाएनन् र त्यहाँ पुगेर अलपत्र पर्नुप¥यो । न ओभरसिजले भनेको कम्पनीमा तिनले काम पाए न अन्यत्र आफैं खोजेर गरेको कामको पारिश्रमिक यहाँबाट भनेर पठाएको जति पाए । लुकीछिपी काम गर्नुपर्दा तिनको हैसियत पनि वैधानिक बन्न सकेन र लाखौं खर्च गएर गएका तिनीहरूले पैसा कमाउन सक्ने अवस्था पनि भएन ।
मेन पावरहरू रचनात्मक सहयोग गर्नुको सट्टा मानिसलाई दुःख दिने र ठगी गर्ने कार्यमा पहिलेदेखि नै संलग्न हुँदै आएका छन् । तिनले गरेको ठगीका अनेकौं उदाहरण भेटिन्छन् । पहिले नेपालीहरू अहिलेको जसरी वैदेशिक रोजगारीमा जाँदैनथे । आफ्नै देशमा ज्यालामजदुरी गरेर भए पनि यही बस्थे । बाहिर जानुपर्दा भारत जानेगर्थे नेपालमा प्रजातन्त्रपछि पनि रोजगारीका अवसर सिर्जना हुन सकेनन् । देशभित्र भएका अवसरहरू वृद्धि हुनुको सट्टा घट्दै गए । आफ्नै देशमा बसेर केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने सोच हटेर गयो । यही कारणले पाखुरामा बल भएका युवाहरू यहाँभन्दा विदेशमै कमाउन सकिन्छ भन्ने सोच लिएर विदेश जानथाले, हालका दिनमा त्यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
हाल नेपालको लगभग तीन करोड जनसंख्यामा एक तिहाइ जति देशबाहिर भएको अनुमान छ । भिसा र पासपोर्ट नलिई जान मिल्ने भारतमा नेपालका धेरै मानिस गएर काम गरिरहेका छन् । कति नेपालीहरू यहाँ छन् र कति विदेश गएका छन् भनेर सरकारसँग यथार्थ तथ्यांक छैन । यहाँ भएकाहरूमध्ये धेरैजसो बुढापाका र बालबालिका मात्र छन् । देशमा उत्पादकत्व छैन, विदेश जानेहरूले कमाएर पठाएको विप्रेषणले देशको आर्थिक भारको अधिकांश प्रतिशत थेगभर गरिरहेको छ । ती सबै युवाहरूले आफ्नै देशमा बसेर काम गर्ने हो भने देशको आर्थिक सक्षमता वृद्धि हुनसक्ने थियो । विडम्बना ¤ त्यसो हुनसकेन । वैदेशिक रोजगारीबाट अनेकौं समस्या सिर्जना हुन पुगेका छन् ।
ठगीको क्रम बढ्दै गएको छ, पछिल्लो समय अझै धेरै देखापरिरहेका छन् । दिनदिनै ती थपिने क्रममा छन् वैदेशिक रोजगारीमा जान चाहनेहरूको संख्यामा वृद्धि भएसँगै ठगीका घटनाहरूमा पनि त्यही अनुपातमा वृद्धि भइरहेका छन् । यस्ता अनेकौं घटनामध्येको ठगीको प्रतिनिधि घटना हो ब्लु मुन ओभरसिजले ठगी गरेको घटना । यही काममा खडा भएका यस्ता कम्पनीहरूले विदेशमा जान चाहनेहरूलाई तिनले चाहेको देशमा नियम–कानुन अनुसार पठाउनका लागि सहयोग गर्ने जिम्मेवारी यस्ता निकायहरूको हो तर तिनले त्यस्ता व्यक्तिलाई भने बमोजिम नगर्ने, पैसामात्र असुल्ने र अलपत्र पार्ने लगायत अनेकौं दुःख दिने गर्दै आएका छन् ।
सहयोग गर्नुपर्ने सट्टामा अनेकौं खालका झमेलामा फसाएर र दुःख दिई तिनलाई आफ्नो जालमा पारेर ठगी गर्ने गरेका छन् । आफ्नो लाग्दो पैसा लिएर उनीहरूलाई सही किसिमले पठाइदिने काम ती निकायहरूको हो तर तिनलाई अनेक असहज अवस्थामा पारेर आफ्नो रकम लिइसकेपछि पठाउनुपर्ने देशमा नपठाइदिने, अल्मल्याउने, बाहना बनाउने, पैसा लिएर भाग्ने गरेका छन् । कानुनी शर्त पूरा गरेर स्थापना भएका यस्ता कम्पनीमा कानुनअनुसार काम भएका छन्/छैनन् हेर्ने दायित्व सरकारको हो तर यस्ता ठूलो मात्रमा पैसाको कारोबार गर्ने निकायहरू सेवा लिन आउनेहरूलाई सकेजसित ठगी गर्ने र विभिन्न ठाउँमा नजराना टक्र्याउने गरेका हुन्छन् । यस्ता कम्पनीहरूमा सरकारले कडाइ गर्न नसकिरहेको हो ।
अझै अर्को महत्वपूर्ण कुरा त के छ भने धेरैजसो कम्पनीहरूमा सरकारमा पुगेका वा प्रतिपक्षमै बसेका नेताहरू किन नहुन् तिनको लगानी हुन्छ । त्यसकारण सरकार यस्ता कम्पनीहरूमा निगरानी गर्न चाहँदैन । कडाइका साथ त्यहाँ अनुगमन गरेर कानुनको पालना गराउने र कारबाही गर्ने जस्ता काम गर्दैन । त्यसो गर्दा तिनलाई गर्ने भनिएको कारबाहीको तीर आफैंतिर सोझिने सम्भावना भएकाले कोही पनि यसलाई खोतलेर हेर्न र कारबाहीको दायरा फराकिलो पार्न चाहँदैनन् । यस्तो अवस्था सधैं विद्यमान रहिरहनु उचित हुँदैन, यस्तो अवस्थामा यथाशीघ्र सुधार गर्नुपर्छ र यसका लागि सरकार जस्तो कदम चाल्नुपरे पनि पछि हट्नु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच