
काठमाडौं । साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राई उपन्यास ‘किवाहाङ’ लिएर पाठकमाझ आउनुभएको छ । ६ दशकअघि ब्रिटिश गोर्खा (लाहुरे)हरूले भोगेका घटनामा आधारित यो कृति अभियानले नै प्रकाशन गरेको हो ।
संखुवासभा घर भई हङ्कङमा बसोवास गर्दै आउनुभएका साहित्यकार राईको उपन्यास एक कार्यक्रमबीच काठमाडौंमा विमोचन गरिएको थियो । लेखक तथा विश्लेषक डा.सुरेन्द्र केसी, पूर्वसचिव दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, साहित्यकारहरू रामकृष्ण बान्तवा, माया ठकुरी, किशोर पहाडी र गीता रेग्मीले उक्त औपन्यासिक कृति सार्वजनिक गर्नुभएको हो ।
यस उपन्यासमा लेखक राईले ब्रिटिश सेवाप्रति गौरव नगरेको बरु आलोचनात्मक रूपमा हेरेको पाइएको विश्लेषक डा.केसीले सुनाउनुभयो । ‘ब्रिटिश सेवामा लाग्ने अधिकांश मानिसहरूले यसमा गौरव गरेको नै मैले सुनेको छु । तर, उहाँको यसमा आलोचनात्मक दृष्टिकोण पाएँ । यस्तो कसरी भयो ? मैले त्यो बुझिनँ । हामीलाई दुरुपयोग नै गरेको छ भन्ने खालको छ’, उहाँले भन्नुभयो, ‘वास्तवमा अंग्रेजहरूले हामीलाई सही काम गराएको होइन । गलत काम नै गराएको हो ।’ मलाया, सिंगापुर, हङ्कङ र ब्रिटेनका प्रत्येक घुम्ती र गल्छेडाहरूलाई खाँदबारी (संखुवासभा), तुम्लिङटार, घोपा क्याम्प, फुस्रे र हिलेसँग जोड्न खोजेको पाइएको उहाँले सुनाउनुभयो ।
किवाहाङ पात्रलाई पौराणिकतासँग जोड्न खोजेको टिप्पणी डा.केसीले गर्नुभयो । ‘यो किवाहाङ भनेको उहाँ आफैं हो । उहाँ आफूलाई बाघजस्तो सम्झिनुहुन्छ । किरात सभ्यता बिर्सिनुभएको छैन । किरात समुदायका साथीले यलम्बरलाई कहिल्यै पनि बिर्सिनु हुँदैन । यो कुरालाई उहाँले जोड्न खोज्नुभएको छ’, उहाँले भन्नुभयो, ‘म बाघ हुँ र राजा हुँ । यो भएन भने मान्छे कसरी दिनहीन हुँदो रहेछ । यो कुरालाई उहाँले भन्न खोज्नुभएको छ ।’
गोर्खाहरूको आन्दोलन, उनीहरूलाई कसरी विभेद भयो, कसरी पठायो भन्ने विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएको उपन्यासकार राईले सुनाउनुभयो । यूके, हङ्कङमा बसोवास गर्दै आएका लाहुरे (भूपू गोर्खा सैनिक)ले लेखिरहेका युद्ध साहित्यमा वर्तमानमात्रै समेटिरहेको उहाँको भनाइ थियो । ‘गोर्खाहरू विश्वयुद्धमा कसरी गए ? ५२ लाख नेपालको जनसंख्या भएकोमा आठ लाख मान्छेहरू किन मर्न गए विश्वयुद्धमा ? यो धेरै कुरा मान्छेहरूलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘तत्कालीन शासकले समाउँदै पठाएको हो नि !’
‘त्यत्रो’ मान्छे (नेपाली) मर्दा खेरि कुनै साहित्यकार, पत्रकारले पनि नलेखेको गुनासो उहाँले गर्नुभयोे । विश्वयुद्धका पीडित पक्ष (देश)ले क्षतिपूर्ति पाए पनि सबैभन्दा धेरै मर्ने गोर्खालीले नपाएको उपन्यासकार राईले खुलाउनुभयो । बरू ब्रिटिशले गोर्खाको हितका लागि पठाएको रकमबाट राणा शासकले दरबार बनाएको उहाँको भनाइ थियो । ‘६० वर्षअगाडिको कुराहरूलाई आख्यानमा ल्याउँदा के होला भन्ने भयो । इतिहास लेख्यो भने हेर्नुहुन्न, यो लाहुरेको रैछ भनेर । अलिकति उपन्यास फूलबुट्टा भरेर चाहिँ मान्छेहरूले हेर्छन् भन्ने हिसाबले यसलाई छिराएको हो’, उहाँले भन्नुभयोे ।
संखुवासभा-काठमाडौं जर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा पुस्तकालय अभियानमा संलग्न पुस्तक दातालाई सम्मान गरिएको थियो । अभियानका नेतृत्वकर्तासमेत रहनुभएका राईका अनुसार १७ ठाउँमा पुस्तकालय पुर्याउँदा ४० हजारभन्दा बढी पुस्तक पु¥याइएको छ । यस अवधिमा ७१ जना दाताबाट १७ हजार चार सय पुस्तक प्राप्त भएको उहाँले सुनाउनुभयो । साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक रहनुभएका उहाँ हङकङ साहित्यिक साझा शृंखलाका संस्थापकसमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच