
काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएसँगै केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । एमाले संसदीय दलका नेता ओली आज (आइतबार) मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त हुन लाग्नुभएको हो । तर, उहाँको शपथ भने सोमबार मात्रै हुने भएको छ । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी रहेको स्रोतले जनाएको छ । संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्षसमेत रहनुभएका ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आहृवान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।
ओली नेपालको प्रधानमन्त्री बन्न लागेको यो व्यक्तिगत रूपमा तेस्रोपटक र प्राविधिक रूपमा चौथोपटक हो । यसअघि उहाँ दुईपटक प्रधानमन्त्री भइसक्नु भएको छ । २०७४ फागुन ३ मा प्रचण्ड बहुमतको प्रधानमन्त्री भएर बीचमा दुई तिहाइको समर्थन पाउनुभएका ओली पहिलोपटक अल्पमतमा परेर पदमुक्त हुनुभएका ओली २०७८ सालमा फेरि सबैभन्दा ठूलो दलका नेताका रूपमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुनुभएको थियो । एमाले अध्यक्ष ओली नयाँ संविधान जारी भएलगत्तै २०७२ असोज २४ मा तत्कालीन माओवादी केन्द्रसहितका दलको समर्थनमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।
सरकारको नेतृत्व आलोपालो गर्ने ‘भद्र सहमति’ कार्यान्वयन नभएको भन्दै सत्ता सहयात्री माओवादीले विपक्षी दलसँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव ल्याएपछि उहाँले राजीनामा दिनुभएको थियो । ओलीले पहिलो प्रधानमन्त्रीत्व कालमा भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उहाँले १० महिना सरकारको नेतृत्व गर्नुभएको थियो ।
यस्तै, २०७४ फागुनदेखि २०७८ असारसम्म उहाँले कम्युनिष्ट सरकारको नेतृत्व गर्नुभएको थियो । झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गर्नुभएका उहाँ जनादेश मापन गर्ने मुख्य थलो संसद्बाट विश्वास गुमाएर बाहिरिनुभएको थियो । जनादेश गुमाइसकेर पनि प्रधानमन्त्री नछोड्नुभएका उहाँलाई अन्ततः सर्वोच्च अदालतको परमादेशले बहिर्गमित बनाइदिएको थियो । उहाँको दोस्रो कार्यकाल लामो र निकै उतारचढावपूर्ण थियो । झण्डै दुईतिहाइ बुहमतसहित रापतापले सिंहदरबार प्रवेश गर्नुभएका ओली साढे तीन वर्षपछि सर्वोच्चले पदमुक्त गरेपछि बाहिरिनुभएको थियो । ओलीले तीन वर्षे कार्यकालमा दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । दुवैपटक सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो ।
फेरि दुईतिहाइ बहुमत
कांग्रेस र एमालेबीच यसअघि पनि पटक-पटक सत्ता सहकार्य भइसकेको छ । यसअघि दुई दलबीच पाँचपटक सहकार्य भएको इतिहास छ । पछिल्लो समय २०७० मा संविधान जारी गर्नेबेला दुई दलबीच सत्ता सहकार्य भएको थियो । पछिल्लो २६ वर्षमा कांग्रेस-एमालेबीच ६ पटक सत्ता सहकार्य हुन लागेको हो । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । अहिले ओली प्रधानमन्त्री बने पनि डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ । संसद्का दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर संविधान संशोधनसहित जनतालाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले नेपालमा नयाँ सत्ता समीकरण बनाएको दाबी गरेका छन् । गत असार १७ गते भएको सम्झौताको ड्राफ्ट बाहिर सार्वजनिक नभए पनि कांग्रेस र एमालेका नेताहरूको भनाइ मान्ने हो भने, संविधान संशोधन र स्थिर सरकारको कुरा अघि सारिएको छ ।
ओली २००८ फागुन ११ गते तेह्रथुम, इवामाको सामान्य किसान परिवारमा जन्मिनुभएको हो । पिता मोहननाथ ओली र आमा मधु ओलीको कोखबाट जन्मनुभएका उहाँको बाल्यकाल निकै दुःखसाथ बितेको थियो । २०२३ बाट माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण पाउनुभएका ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुनुहुन्छ । त्यसमा लागेबापत किशोरवयमै उहाँ तत्कालीन पञ्चायती प्रशासनबाट पक्राउ पर्नुभएको थियो । २०३० सालबाट लगातार १४ वर्ष जेलजीवन बिताउनुभयो । जेलमध्ये पनि कठोर यातना दिने काठमाडौंको गोलघरमा उहाँलाई धेरै समय राखिएको थियो । उहाँ २०४८ सालबाटै संसद्मा निर्वाचित हुँदै आउनुभएको छ । २०६४ सालको संविधानसभाबाहेक अन्य सबै चुनाव उहाँले जित्दै आउनुभएको छ । उहाँ पहिलोपटक २०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री हुनुभएको थियो । दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभएको थियो । एमाले पार्टीभित्रका पुराना नेता ओलीलाई पार्टीको मूल नेतृत्व सम्हाल्ने अवसर भने २०७१ सालमा मात्र मिलेको थियो ।
झलनाथ खनाल र माधव नेपालको नेतृत्व हुँदा ओलीको भूमिका पार्टीभित्र विपक्षीको जस्तै थियो । त्यही विपक्षी छविको निरन्तरताले उहाँलाई पार्टीको सत्ताको नेतृत्वमा पनि पु¥याएको हो । २०७० सालको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता बन्नुभयो । त्यसको ६ महिनापछि पार्टीको नेतृत्वमै पुग्नुभएको हो । ओलीको सबभन्दा ठूलो शक्ति भनेकै बोली हो । तिखो र उखान टुक्का जोडेर बोल्ने उहाँको शैली अन्य समकालीन नेताहरूभन्दा फरक छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया गर्ने शैलीका कारण उहाँ आलोचनामा पनि पर्ने गर्नुहुन्छ ।
दुई ठूला दलको प्रबलता रहेको नयाँ गठबन्धन सरकार झण्डै दुई तिहाइकै हाराहारीमा हुनेछ । अझै साना केही दलले पनि समर्थन गर्ने पक्का भएकाले दुई तिहाइभन्दा बढी नै हुनेछ । यसकारण अबको गठबन्धन सरकारलाई चुनौती मात्रै होइन इतिहासमै विरलै मात्र प्राप्त हुने अवसर पनि छ । नेका एमाले सत्ता गठबन्धनले संसद्को प्रतिपक्ष कमजोर हुने निश्चित छ । साना दलहरूमा समेत देखिएको सत्तामोहले प्रतिपक्षीय रणनीति बन्न सक्दैन । कमजोर प्रतिपक्षका कारण संसद् र सरकार दुवैतिर सत्ताधारी दलहरूको एकलौटी उपस्थिति रहनेछ । यस्तो अवस्थामा सरकारलाई काम देखाउने सहज हुनेछ ।
जनतामा व्यापक निराशा छ । अर्थतन्त्र समस्यामै छन् । व्यवसायीको मनोबल बढेको छैन । यी सारा चुनौतीबीच ओलीलाई एकपटक फेरि आफूलाई प्रमाणित गर्ने अन्तिम अवसर फेरि आएको छ । यो अवसर राजनीतिक रूपमा फेरि आउला/नआउला तर, यसपटक सरकारलाई फेरि निराश बनाउने छुट छैन । नयाँदेखि पुराना सबै लगभग असफल सिद्ध भइसकेको अवस्थामा दुई ठूला दल मिलेर सरकार चलाउँदा पनि गर्न सकिएन भन्ने छुट छैन । कांग्रेस-एमालेले पनि जनतामा व्याप्त निराशा चिरेर आशा जगाउन सकेनन् भने यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच