नेपालको ख्यातिप्राप्त समाचारपत्र हिमालय टाइम्सको विचार शीर्षकअन्तर्गत २०७७ साल श्रावण ६ गतेको पहिलो मंगलबारदेखि प्रकाशन सुरुवात भएको मेरो मंगलबारे स्तम्भ लेखनको नियमित साधनारूपी यात्रा २०८१ साल श्रावण एक गतेको पहिलो मंगलबारबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । यो पुनित अवसरमा हिमालय टाइम्सका प्रधान सम्पादक आत्मीय मित्र प्रा.पुरुषोत्तम दाहाल, हिमालय टाइम्स परिवार र आदरणीय पाठकमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सर्वप्रथम हिमालय टाइम्सको विचार शीर्षकमा प्रकाशित हुने स्तम्भ लेख्न मलाई अनुरोध गर्ने हिमालय टाइम्सका प्रधान सम्पादक आत्मीय मित्र पुरुषोत्तम दाहाललाई आज पाँचौं वर्ष प्रवेशको अवसरमा हार्दिक धन्यवाद दिन्छु । मेरा विचारहरूलाई चार वर्षका सबै मंगलबारहरूमा नियमित रूपमा प्रकाशन गर्ने हिटा परिवारप्रति आभारी छु । यो विशिष्ट अवसरमा लेखकका लागि भगवान् सरहका पाठकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । लेखन यात्रालाई निरन्तरता दिन उत्साह, उत्प्रेरणा, सुझाव, सल्लाह र दबाब दिने आदरणीय पाठकप्रति सधैं ऋणी छु । स्तम्भ लेखनको नियमित यात्रालाई मैले साधना, आराधना, उपसना, ध्यान, अनुष्ठान, पुरश्चरण, अभ्यास र तपस्या साथै आफ्नो परीक्षाको रूपमा लिएको छु ।
पढेर टिप्पणी लेख्ने, फोनमार्फत विवेचना गर्ने, समीक्षा गर्ने सबै शुभचिन्तकका भावना र विचारलाई उच्च सम्मान प्रकट गर्दै पाँचौं वर्ष प्रवेशको शुभअवसरमा शुभेच्छुक, शुभचिन्तक सम्पूर्ण आदरणीय पाठकलाई सम्झनु मेरो कर्तव्य र लेखकीय धर्म ठानेको छु ।
स्तम्भ लेखनसम्बन्धी अनुभूतिजन्य घटनाक्रमलाई स्मरण गर्दै गर्दा प्रारम्भिक चरणमै सल्लाह दिने र उत्प्रेरित गर्ने आत्मीय मित्र कविवर गोविन्दराज विनोदी, मेरा लेखहरू नियमित पढ्ने र सुरुदेखि नै लेखनको सधैं तारिफ गर्दै निरन्तरताका लागि उत्प्रेरित गर्ने त्रिविका पूर्वउपकुलपति प्राडा.तीर्थराज खनिया, प्रकाशित लेखको विषयवस्तु, प्रस्तुति र लेखन कलालाई अन्तरआत्माबाट समीक्षा, व्याख्या, विश्लेषण गर्ने, नियालेर अध्ययन गर्ने र लेखलाई स्तरीय बनाउन बारम्बार घच्घच्याँउने, सुझाव र सल्लाह दिने बालसखा प्राडा.नारायण कुँवर साथै अमेरिकन विश्वविद्यालयका प्राध्यापक डा.प्रमोद पराजुलीलाई आज मैले सम्झनुपर्छ ।
लेख्न तपाईंलाई सरस्वतीको वरदान प्राप्त छ भन्ने र मेरो आलेखलाई दोहो¥याएर समेत पढ्ने, विषयवस्तु, प्रस्तुति आदिको अन्तर्यमा प्रवेश गर्ने र अन्तरकुन्तर केलाएर सुझाब, सल्लाह दिने लमजुङका पूर्वप्रधानअध्यापक गणेशप्रसाद न्यौपान, सहकर्मी आत्मीय मित्र मणिराम शर्मा काफ्ले द्वयका साथै नाम उल्लेख गर्न सम्भव नहुने तर मलाई सुझाव, सल्लाह दिने र सधैं लेख्न उत्प्रेरित गर्ने सबै मित्र र पाठकहरूको शुभेच्छाले मलाई नियमित स्तम्भ लेख्न उत्प्रेरित गरेको छ । यसमा तल्लीन रहनुलाई जीवनचर्या बनाएको अनुभव हुन्छ ।
पढेर टिप्पणी लेख्ने, फोनमार्फत विवेचना गर्ने, समीक्षा गर्ने सबै शुभचिन्तकका भावना र विचारलाई उच्च सम्मान प्रकट गर्दै पाँचौं वर्ष प्रवेशको शुभअवसरमा शुभेच्छुक, शुभचिन्तक सम्पूर्ण आदरणीय पाठकलाई सम्झनु मेरो कर्तव्य र लेखकीय धर्म ठानेको छु । प्रत्येक मंगलबार लेख पढ्नेमात्रै होइन खरो टिप्पणी गर्ने र फोनबाट समेत नयाँनयाँ स्तम्भ लेखनका विषयवस्तु पस्कने, प्रस्तुति र शीर्षकलाई आकर्षक गुणस्तरीय बनाउने जस्ता विविध विषयमा प्राविधिक सल्लाह, सुझाव, उत्प्रेरणा र ऊर्जा दिने नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.कुलप्रसाद कोइरालाप्रति विशेष आभार प्रकट गर्छु ।
मलाई लेखन र अध्ययनमा नियमित साधनारत रहन वातावरण मिलाउने र बेलाबखतमा सल्लाह, सुझावमात्रै होइन नियमित उत्प्रेरकको भूमिका निर्वाह गर्ने अध्ययनको समयलाई समेत नियमित साथै व्यवस्थित बनाउन सधैं सक्रिय रहने मेरी अर्धांगिनी डाक्टर मायाकुमारी शर्मालाई यो अवसरमा हार्दिक धन्यवाद दिन्छु । घटनाक्रमबाट विकसित र सिर्जित विषयमा यदाकदा आत्मसन्तुष्टिका लागि लेख्ने कामभन्दा नियमित स्तम्भ लेखनको कामले सधैं अध्ययन, विषयवस्तु, शीर्षकको छनौटमा लेखकलाई केन्द्रीकृत हुन सिर्जना गर्ने स्वेच्छिक दबाब कहिले आनन्द त कहिले तनावको विषय बन्ने रहेछ ।
सधैं मंगलबार प्रकाशन हुने स्तम्भको नियमितताको अनुशासन र दबाबको घेरामा कैद भएको अवस्थामा कतिपय भेटघाट मनोरञ्जनका चाहनालाई दबाउन बाध्य हुने अवस्था आफैंमा सकस अनुभव हुने गर्छ । म घुमफिर, तीर्थयात्रा र यदाकदा विदेशतिरसमेत घुम्ने क्रममा लेखनलाई निरन्तरता दिने काम आफैंमा चुनौतीपूर्ण र मन र मस्तिष्कलाई आन्दोलित गर्ने विषय पनि बन्दो रहेछ तर साधना, आराधना, निष्ठा आदिको सहारामा यसलाई निरन्तरता दिने विषय हिजो कष्टकर भएको अनुभूति हुन्थ्यो भने साधना, आराधना र तपस्याको रूपमा यसलाई ग्रहण गर्ने मनस्थितिको परिणामस्वरूप स्तम्भ लेखनले निरन्तरता पाउन सफल भएको हो भन्ने निष्कर्षमा पुगेको छु ।
लेखनको शैली विकास गर्न, शीर्षक छनौट गर्न, स्तम्भ कसरी सुरुवात गर्ने र यसलाई कसरी टुंग्याउने, पठनीय र आकर्षक कसरी बनाउने भन्ने विषयले मन र मस्तिष्कलाई सधैं आन्दोलित र व्यस्त बनाउँदा यो उत्तरार्धको सेवा निवृत्त हुँदाका बखतको समयलाई व्यतीत गर्ने विषय मेरा लागि सहज बनेको छ । फुर्सद शून्यताको अर्कै आनन्द हुने रहेछ । लेख्ने विषय र पढने विषयलाई फरक कोणले हेरिन्छ । पढ्नेहरू फगत पढ्छन् । सबै पढैया लेख्छन् भन्ने हुँदैन तर सबै लेखक पढैया हुन अनिवार्य छ । जसले लेख्छ उसले पुस्तक वा लेख पढ्दा बुझेर पढ्छ । उसले विषयवस्तुलाई कसरी प्रस्तुत गरेको छ ।
लेखन कति स्तरीय छ ? यसले समाजमा पार्ने प्रभाव र पाठकको मन मस्तिष्कमा पार्ने प्रभावका साथै आफूले त्यो विषयवस्तुको अध्ययनबाट के चुरो कुरा सिक्नसक्छु भन्ने ध्येयले पढने हुनाले एउटा लेखकले पढ्दा आफ्नो मस्तिष्कलाई क्लिक गरेका विषय टिपोट पनि गर्ने भएकाले जसले लेख्छ उसले बुझेर पढ्छ । त्यसैले भनिन्छ सबै पढ्नेहरू लेखक हुँदैनन् तर सबै लेख्नेले अवश्य पढ्छन् । त्यसैले शिक्षक, प्राध्यापकहरूलाई अध्ययन र अनुसन्धानमुखी बनाउन आआफ्नो विषय र क्षेत्रसम्बन्धी विषयमा लेख्ने विषयलाई यदि विद्यालय र विश्वविद्यालयहरूले अनिवार्य लेख्नुपर्ने व्यवस्थाको रणनीति अख्तियार गर्ने हो भने शिक्षा स्वतः गुणस्तरीय हुने गर्छ ।
जहाँका शिक्षक, प्राध्यापकमा पढ्ने, लेख्ने लत छ त्यहाँका विद्यार्थी गुरुहरूको शैली, जीवनचर्या र व्यवहारबाट अवश्य प्रभावित हुन्छन् । त्यो प्रभावको परिणामस्वरूप शिक्षामा गुणस्तरीयता प्रबर्धनको विषय स्वतः प्रवेश गर्छ । वास्तवमा गुरुहरूका सबै क्रियाकलाप अनुकरणीय हुनुपर्छ । के हाम्रा शिक्षक र प्राध्यापकहरूका क्रियाकलाप सबै अनुकरणीय छन् ? जहाँ पढेलेखेका मानिस धेरै छन् त्यहाँ तिनीहरू नियमित अध्ययन, अनुसन्धान र चिन्तन गर्छन् भन्ने ग्यारेन्टी हुँदैन तर जहाँ पढेलेखेकामा लेख्ने आदत छ तिनीहरू अध्ययन र अनुसन्धान साथै कसरी धेरै सिक्न सकिन्छ भन्ने भावना र चाहनाले पढ्छन् भन्ने ग्यारेन्टी गर्न सकिन्छ ।
त्यसैले अमेरिकी विश्वविद्यालयमा कहावत छ लेख या मर । जसले लेख्छ उसले प्राध्यापन र अनुसन्धानमा प्रगति गर्छ । उसले आफ्नो आत्मोन्नतिमात्रै गर्दैन शिक्षालाई गुणस्तरीय बनाउन विशिष्ट योगदान गर्छ । पश्चिमी देशहरूमा भएका आविस्कार त्यसैका परिणाम हुन् तर हाम्रा विश्वविद्यालयमा सबै पार्टीहरूका आआफ्ना प्राध्यापक संगठन छन् । ती संगठन पार्टीहरूका भ्रातृ संगठनसरह कार्यरत हुन्छन् । तिनै कार्यकर्ता प्राध्यापकको आत्मोन्नति हुने परिपाटीका कारण हाम्रो शिक्षाको गुणस्तर केही वर्षयता खस्केको मात्रै होइन ध्वस्त भएको छ । यसलाई विद्यालयहरूको र विश्वविद्यालयको परीक्षाको नतिजाले पुष्टि गरेको छ ।
विश्वविद्यालय, शिक्षालय अध्ययनका केन्द्रभन्दा राजनीतिक पार्टीहरूका सहयोगी कार्यालयको रूपमा काम गर्ने परिस्थितिले हाम्रो शिक्षाको गुणस्तरमात्रै खस्केको छैन राजनीति र समाजको गुणस्तर समग्रमा खस्केको छ । कुशासन, भ्रष्टाचार, अनियमितता, उथलपुथल, प्रधानमन्त्री जस्तो उच्च व्यक्तित्वबाट लात्ती हान्ने जस्ता घटिया शब्द, ढाँटछलका अभिव्यक्ति र विलासी जीवन आदि विकार र विकृतिको जन्म नै गुणस्तरहीन शिक्षको उपज हो । त्यसैले देशको राजनीति, अर्थनीति, उद्योग, रोजगारी प्रबर्धन, जीवनस्तरमा सुधार, आर्थिक प्रगतिको पूर्वाधार भनेकै गुणस्तरीय शिक्षा र गुणस्तरीय जनशक्ति उत्पादन हो भन्ने मूलमन्त्रलाई पालना नगरीकन देशको कुनै पनि क्षेत्र विकसित हुन सक्दैन ।
पत्रपत्रिकाहरूमा नियमित स्तम्भ लेखन गर्नेहरूको स्तम्भलाई अझै आकर्षक, गुणस्तरीय बनाउन स्तम्भकारबीच सम्बन्धित विषयवस्तुमा केन्द्रीकृत भएर आफ्नो समीक्षा, मूल्यांकन र कमीकमजोरीलाई केलाउने कामको सामुहिक भेटघाट, अन्तत्र्रिmया हुनसके स्तम्भ लेखन अझ गुणस्तरीय हुने थियो ।
स्तम्भ लेखनले समाजमा व्याप्त विकृति, विसंगतिको सुधारको दिशामा सचेतना अभिवृद्धि गर्न कसरी योगदान पुग्छ भन्ने विषयमा केन्द्रीकृत गर्छ । हामी आफ्नो प्रगति र विकासका गाथा लेख्ने अवस्थामा नहुँदा नकारात्मक परिस्थिति र विषयवस्तुको सेरोफेरोमा स्तम्भकार विचरण हुनुपर्ने अवस्थाले मन पिरोलिन्छ । विश्वलाई आधुनिक सञ्चारमाध्यमले साँघुरो बनाएका कारण अन्यदेशहरूको उन्नति र प्रगतिसँग स्वतः तुलना हुन पुग्छ । तुलनाले थप्ने वेदनाको सिकार स्तम्भकार हुने अवस्थाको परिणामस्वरूप अल्पविकसित देशका स्तम्भ लेखनमा नकारात्मक पक्ष र पीडाको उपचारसँग सम्बन्धित विषयवस्तु प्राथमिकतामा पर्छन् ।
कुनै समाचारपत्र वा पत्रिकामा कुनै खोजमूलक विशेष प्रकारको नियमित विचार प्रकट गर्ने, विचारप्रधान लेख लेख्ने लेखकलाई स्तम्भकार भनिन्छ । त्यस्तो स्तम्भ कुनै खास लेखकका लागि सुरक्षित हुन्छ । यो साप्ताहिक, पाक्षिक वा मासिक प्रकाशित हुने कुरा पूर्वनिर्धारित हुन्छ । पत्रिकाको सम्पादकीय पृष्ठमा आकारमा ठूलो, विचारप्रधान, खोजप्रधान लेख नियमित प्रकाशन विचारलाई स्तम्भ भनिन्छ । लेख्ने व्यक्तिलाई स्तम्भकार भनिन्छ । स्तम्भ लेखनले महत्वपूर्ण घटनाहरूका विषयहरूमा पाठकलाई सूचितमात्रै गर्दैन उनीहरूको निर्णय क्षमता र कार्यक्षमता बढाउन उत्प्रेरित र जगरुक बनाउन भगीरथ प्रयत्न गर्छ । स्तम्भ लेखनले पाठकलाई आफ्ना अधिकार र स्वतन्त्रताको बारेमा जागरुक बनाउँदै सरकारलाई आफ्नो कर्तव्यप्रति जवाफदेही बनाउन मद्दत गर्छ । पाठकलाई अर्थात् समाजलाई सूचना, जागरुकता, सशक्तीकरण गर्दै स्वस्थ्य र लोकतान्त्रिक समाज निर्माणमा स्तम्भ लेखनको महत्वपूर्ण भूमिका हुन्छ ।
राष्ट्र र समाजका जल्दाबल्दा विषयमा नियमित विचरण गर्ने अभ्यास र साधनाले समयलाई सदुपयोग गरेको विषयमा साथीबाट प्राप्त हौसलाले मलाई लेख्ने र पढ्ने अभ्यास अर्थात् साधना र आराधनालाई निरन्तरता र गुणस्तरीय बनाउने चिन्ता, चासो र मेहनत गर्ने ऊर्जा प्राप्त भएको छ । गर्दै सिक्दै गरेको व्यक्तिगत अभ्यास र साधनाभन्दा यस्ता विषय सम्बन्धित प्रशिक्षण तथा अभिमुखीकरण संस्थागत हुने परिपाटीको विकास हुनसके यसले गुणस्तरीयताको पक्षलाई सबल र धारिलो बनाउँथ्यो ।
खासगरी अष्ट्रेलियाको सरकारको प्रशिक्षण र अभिमुखीकरणका विविध क्षेत्रहरू र कामका लागि न्यूनतम् शिक्षा वा प्रशिक्षण अनिवार्य र पेशामा रहँदा दिने नियमित अभिमुखीकरण तालिमले उत्पादन, निर्माण र सेवालगायत क्षेत्रलाई गुणस्तरीय बनाएको छ । यसलाई संसारले नै विविध क्षेत्रका कामदारलाई नियमित प्रशिक्षण र अभिमुखीकरणको अनुकरण गर्ने प्रयत्न गर्दा अल्पविकसित देशहरूमा विद्यमान गुणस्तरहीन समस्याको एकमुष्ट समाधान हुने विषयमा अल्पविकसित देशका सरकार किन बेखबर छन् ? पत्रपत्रिकाहरूमा नियमित स्तम्भ लेखन गर्नेको स्तम्भलाई अझै आकर्षक र गुणस्तरीय बनाउन स्तम्भकारबीच सम्बन्धित विषयवस्तुमा केन्द्रीकृत भएर आफ्नो समीक्षा, मूल्यांकन र कमीकमजोरीलाई केलाउने कामको सामूहिक भेटघाट, अन्तक्र्रिया हुनसके यसले स्तम्भ लेखन अझ गुणस्तरीय हुने थियो ।
समाजलाई अझै सचेत बनाउन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न यसले पुर्याउने सहयोगको प्रभाव सबै क्षेत्रमा पर्ने विषयमा सम्बन्धित पक्षले सोच्नुपर्ने हो कि ? हामी काम गर्छौं । कामसँग सम्बन्धित विषयमा प्रविधि, औजारको नवीन उत्पादन र उपयोग विधि बारेको जानकारीले उत्पादन र गुणस्तरमा पार्ने प्रभावको पूर्वआकलन र प्रयोग गर्ने वातावरणले देश र समाजको जीवनमा विशेष महत्व राख्छ । यसलाई राज्य व्यवस्था र व्यवस्थापनले आत्मसात गर्नुपर्छ । गुणस्तरीयता पनि अठोट, साधना, अभ्यास, निष्ठा र तपस्याबिना किमार्थ प्राप्त हुँदैन भन्ने उदाहरण हो नेपाल सरकारका विकासका कामहरूको गुणस्तरहीनता ।
जहाँ-जहाँ पुग्छु ती स्थान विशेषका सामग्री पस्कने विधिले पाठकलाई नयाँ विषयवस्तु मिल्ने र आफूले हेर्दै, खोज्दै, बुझ्दै यस स्तम्भ लेखनको निरन्तरता कायम गर्ने उपायको खोज र अनुसन्धानले आत्मसन्तोष दिएको छ । यो स्तम्भ लेखनको उद्देश्य जानेका कुराहरू व्यक्त गर्ने र मनलाई हलुको बनाउने विषय हो । अर्को सधैं क्रियाशील हुने र समाजमा जीवित छु भन्ने सन्देश प्रवाह गर्ने हो । अन्त्यमा स्तम्भ लेखनको पाँचौं वर्ष प्रवेशको शुभदिनमा सबै शुभचिन्तकबाट स्तरीयता र निरन्तरताको आशिर्वादको अपेक्षा गर्छु ।
धन्यवाद हिमालय टाइम्स परिवारलाई ।