संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्छौं : अध्यक्ष लिङदेन

फाइल तस्वीर

काठमाडाैं । नयाँ सत्ता समीकरणसँगै देशमा राजनीतिक स्थायित्व कायम हुने आम नागरिकको विश्वास छ । राजनीतिक स्थायित्वसँगै देश विकासमा गति आउने आँकलन सबैले गरेका छन् । निजी क्षेत्र, राजनीतिक दल, विभिन्न पेशा व्यवसायीहरु नयाँ सरकारप्रति अझ बढी उत्साहित छन् । संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यले देशले गति लिने विश्वास सबैको छ । तर केही राजनीतिक दलहरु संसदका दुई ठूला दल मिलेर बनाएको सत्ता सहकार्यबाट सन्तुष्ट छैनन् । दुई ठूला दल मिलेर सत्ता समीकरण बनाउनुले देशमा निरंकुशता हाबी हुने उनीहरुको आशंका छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरु काँग्रेस र एमालेको सत्ता समीकरणलाई सहज मानिरहेका छैनन् । नेकपा (माओवादी केन्द्र) ले त संविधान मिचेर संविधानको धारा ७६ (२) अनुसार नै सरकार आह्वान गरेकोमा असन्तुष्टि जनाएको छ । तर पनि आम नागरिकले वर्तमान सत्ता समीकरणलाई आशाका रुपमा हेरेका छन् । संसदकै पाँचौँ ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेस-एमाले सत्ता सहकार्य शुरुवाती रुपमा सकारात्मक भएपनि पछिल्ला दिनका घटनाक्रहरु अस्वभाविक रहेको बताएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्ला दिनमा विकसित हुँदै आएका घटनाक्रहरुले आशंका गर्नुपर्ने प्रसस्त ठाउँ दिएको बताउनु भयो ।

काँग्रेस-एमाले सहकार्य प्रारम्भिक रुपमा सकारात्मक

अध्यक्ष लिङदेनले काँग्रेस-एमाले सहकार्य प्रारम्भिक रुपमा सकारात्मक रहेको टिप्पणी गर्नुभयो । उहाँले पछिल्ला घटनाक्रहरुलाई आफूले होशियारीपूर्वक हेरिरहेको उल्लेख गर्दै दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउने कुरा अस्वभाविक भएको बताउनु भयो । उहाँले वर्तमान सरकार संविधान संशोधनका लागि बनेको भनिए पनि पछिल्ला गतिविधिहरुले आशंका गर्ने धेरै ठाउँ देखाएको बताउनु भयो । उहाँले राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सबै घटनाक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले होशियारीपूर्वक हेरिरहेको छ । अप्रत्याशित रुपमा खासगरी देशका मुख्य ठूला दुई राजनीतिक दलको गठबन्धन बनेको छ । त्यो हेर्ने हो भने राजनीतिमा जुन किसिमको प्रचलन छ, त्यसलाई अस्वभाविक रुपमा लिइन्छ । तर यो समीकरण बन्ने प्रारम्भमा के भनियो भने यो प्रकारको गठबन्धन किन हुनुपर्‍यो भन्दा संविधान संशोधनका लागि भनिएको छ । यसलाई हामीले प्रारम्भिक रुपमा सकारात्मक रुपमा लिएका छौँ । तर अहिले घटनाक्रमहरु जसरी विकसित हुँदै आइरहेको छ । अब त्यसमा प्रशस्त आशंकाहरु पनि पैदा भएका छन्, अहिले नै हामी तुरुन्तै धेरै प्रतिक्रिया व्यक्त गर्ने भन्दा पनि यसलाई होशियारीपूर्वक हेर्नुपर्छ र यो घटनाक्रम कसरी अघि जान्छ रु त्यसपछि निर्णय लिएर अघि बढ्नुपर्छ भन्ने तहमा छाैँ ।’

काँग्रेस-एमाले संविधान संशोधनको खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिले ! 

अध्यक्ष लिङदेनले दुई ठूला दलहरु संविधान संशोधनको सिंँढी बनाएर वा संविधान संशोधनको खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महशुस हुन थालेको बताउनु भयो । उहाँले संविधान संशोधनको विषय दुई दलकै प्राथमिकतमा नपरेको बताउनु भयो । दुवै दलले लिखित रुपमा वा न्युनतम साझा कार्यक्रम कतैपनि संविधान संशोधनको विषयलाई उल्लेख नगरेको बताउनु भयो । नेकपा एमाले महासचिव शंकर पोखरेलले संविधान संशोधनको सामान्य खाकाका रुपमा दुई दलीय व्यवस्थातर्फ लैजाने संकेत गर्नुले देशमा निरंकुशता ल्याउन खोजेको देखिएको बताउनु भयो । उहाँले महासचिवको उक्त टिप्पणीबाट सकारात्मक सोचका साथ सरकार बनेको भन्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन त भनियो तर यि ठूला दलहरु जसरी अस्वभाविक ढंगले मिल्न पुगे, त्यो जनतालाई के भन्ने त भन्दा संविधान संशोधनका लागि भन्यो भने राम्रो हुन्छ भनेर त्यसलाई सत्ता चढ्नको लागि सिँढी वा खोल ओढेको हो की भन्ने मात्रै देखिन थालेको छ । अहिले संविधान संशोधन प्राथमिकतामा पनि देखिएको छैन, यो सरकारको । कहीँ लिखित रुपमा पनि आएको छैन । सरकारका मन्त्री र प्रधानमन्त्रीबाट पनि यो विषयहरु आएको छैन । अहिलेको प्रधानमन्त्रीको पार्टीको महासचिवले जुन प्रकारको संविधान संशोधनको खाका प्रश्तुत गर्नुभयो, एउटा टेलिभिजनमा । त्यो हेर्ने हो भने सकारात्मक सोचका साथ यो सरकार बनेको होइन । देशमा निरंकुशता लाद्ने, दुई दलीय व्यवस्था खडा गर्ने सोचका साथ यो सरकार बनेको हो भन्ने आशंका देखिएका छन् ।’

संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्छौं

अध्यक्ष लिङदेनले काँग्रेस-एमाले सरकारले संविधान संशोधनको विषयमा जोड दिए राष्ट्रिय प्रजातन्त्र पार्टीले निःशर्त समर्थन गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले वर्तमान गठबन्धनमा सहभागिता जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो । वर्तमान सरकार चलाउन गणितको कुनै आवश्यकता नरहेको उल्लेख गर्दै राप्रपाले सत्तालाई प्राथमिकतामा नराख्ने बताउनु भयो । उहाँले अहिलेको संविधानले काम गर्न नसकेको बताउनु भयो । मुलुकको समस्याको जड सरकारको नेतृत्व गर्दै आएका राजनीतिक दलका नेतृत्व र अहिलेको संविधान भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले यो सरकारमा सहभागिता जनाउनुपर्ने कुनै कारण छैन । पहिलो कुरा त यो सरकार चलाउनका लागि मात्रै गणितको खाँचो छैन यो सरकारलाई । हामीले शुरुदेखि नै केवल सत्ताका लागि मात्रै सत्ता भन्नेकुरामा अब प्राथमिकता राख्दैनौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी त्यस प्रकारको खेलमा सहभागी हुँदैन भनिसकेका छाैं । सरकारमा सहभागी हुनेकुरा हाम्रो प्राथमिकताको विषय छैन । जहाँसम्म विश्वासको मत दिनेकुरा छ । साँच्चै नै यो संविधानले काम गर्न सकेन र यो मुलुकको समस्याको जड अहिलेको नेतृत्व त हुँदै हो, त्यो भन्दा पनि मुख्य यो नेतृत्वले ल्याएको अहिलेको संविधान हो । त्यसकारणले यो संविधानमा नमिलेको विषय थुप्रै छन् । जसलाई अब मिलाएर जानुपर्छ र देशमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेकुरामा हामी प्रारम्भदेखि नै छौँ । सरकारले यसलाई प्राथमिकतामा राखेर साँच्चिकै संविधानको बाटो खुला गर्छ र संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने हामी जुनसुकै बेला पनि यो सरकारलाई निःशर्त समर्थन गर्दछौँ । तर अहिलेकै ढंगले अघि बढिरहने हो भने तत्काल राष्ट्रिय प्रजातन्त्र पार्टीले यो सरकारललाई विश्वासको मत दिँदैन । अहिलेका प्रधानमन्त्रीका पार्टीका महासचिवले एउटा टेलिभिजन अन्तर्वार्तामा दुई दलीय व्यवस्थाको बारेमा बोलिरहनुभएको छ । म त्यसको कडा प्रतिवाद गर्न चाहन्छु । अहिलेको समस्या साना दलहरु होइनन् । समानुपातिक निर्वाचन प्रणाली पनि होइन । अहिलेको समस्या भनेको अहिलेको सरकारको नेतृत्व गरिरहेका दलहरु हुन् । किनभने उनीहरुको कारण यो प्रकारको संविधान आयो, उनीहरुकै कारण यो प्रकारको विकृति देशमा आएको छ । विकृतिको जड नै अहिलेका मुख्य राजनीतिक दलहरु हुन् । समानुपातिकमा जसलाई ल्याउनुपर्ने हो उसलाई नल्याएर व्यापारीलाई कसले ल्यायो रु समानुपातिक सिट खरिद बिक्रीमा कसले राख्यो, यिनै मुख्य दलहरुले राखे । साना राजनीतिक दललाई फुटाउने र प्रलोभनमा पार्ने काम कसले गर्‍यो ? यिनै ठूला राजनीतिक दलले गरे । विकृति र समस्या ठूला राजनीतिक दलमा छ । उनीहरु सच्चिनुपर्छ । यो सच्चिनका लागि यो संविधानमा सुधार र उनीहरुले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ ।’

भागबण्डाको हिसावले मात्रै सरकार बनेको हो भने दशैँ-तिहारसम्म मात्रै हो

अध्यक्ष लिङदेनले लेनदेन र भागबण्डाको हिसावले मात्रै सरकार बनेको दशैँ-तिहारसम्म मात्रै अघि बढ्ने बताउनु भयो । गणितका हिसावले कुनै समस्या नरहेको भएपनि सरकार कुन जगमा निर्माण भएको छ भन्नेकुराले सत्ता सहकार्य अघि बढ्ने बताउनु भयो । उहाँले सरकार अबै कुनै अस्थिरतामा नरहेको अहिलेको गणितबाट पुष्टि हुने बताउनु भयो । उहाँले अहिलेसम्म कुनै न्युनतम साझा कार्यक्रम नआउनु, सम्झौताहरु नबाहिरिनुले शंका पैदा गर्ने बताउनु भयो । उहाँले कुनैपनि संवैधानिक नियुक्तिको विषयलाई लिएर सरकार ढल्न सक्ने बताउनु भयो । उहाँले संविधान संशोधनको प्रक्रियामा अघि बढ्ने र दीर्घकालीन प्रभाव पार्ने काम शुरु भएको खण्डमा सरकारले स्थायित्व पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामान्यतया गणितका हिसावले हेर्ने हो भने दुई ठूला राजनीतिक दलहरु मिलिसकेपछि अब गणितको कुनै समस्या छैन । बाँकी समय अब यही गठबन्धन अघि जान्छ । अब सरकारमा त्यस प्रकारको अस्थिरताको सम्भावना छैन भन्ने प्रकारको देखिन्छ । फेरि पनि भन्छु यो सरकार कुन जगमा निर्माण भएको छ । अहिलेसम्म कुनै न्युनतम साझा कार्यक्रम आएको छैन । केके सम्झौता भयो भनेको छैन । जनताले सुनेको भनेको १८/१८ महिना सरकारको नेतृत्व गर्ने भन्ने बाहेक अरु संविधान संशोधनका कुरा, सुशासनका कुरा हामीले यसै बाहिर बाहिर सुनेको बाहेक केही छैन । भागबण्डाको हिसावले मात्रै सरकार बनेको हो भने लामो समय जाँदैन । कुनैपनि बेला नियुक्तिमै आएर यो सरकार ढल्न सक्छ । दशैँ तिहार मनाउने कुराको कल्पना गर्न सकिन्छ, त्यहाँ भन्दा माथि स्थायित्वको कल्पना गर्न सकिँदैन । संविधान संशोधनको प्रक्रियामा गयो, त्यसले दीर्घकालीन प्रभाव पार्ने कामहरुतिर गयो भने त स्वभाविक रुपमा यो आफ्नो गतिमा अगाडि बढ्ला । होइन, विगतको जस्तै ढंगले लेनादेनामा सरकार चलाउने हिसावले गए अरु बाटोमा प्रवेश गर्नसक्छ ।’

कसैलाई उपेक्षा गरेर संविधान संशोधन हुन सक्दैन

अध्यक्ष लिङदेनले सत्तामा रहेका प्रतिपक्षमा रहेका वा कुनैपनि राजनीतिक दलहरुको उपेक्षा गरेर संविधान संशोधन हुन नसक्ने बताउनु भयो । उहाँले संविधान संशोधनका लागि राष्ट्रिय सहमति तयार हुनुपर्ने बताउनु भयो । सरकारमा रहेका राजनीतिक दल, संसदमा रहेका शक्ति मात्रै नभइ संसद, सत्तामा नरहेका शक्तिहरुको सहमतिमा सबैलाई अटाउने नयाँ सम्झौता गर्न आवश्यक रहेको बताउनु भयो । कसैलाई पाखा नलगाउने गरी, सबैलाई अपनत्व महशुस हुनेगरी र विगतका नमिलेका विषयलाई मिलाएर संविधान संशोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्नका लागि कसैलाई पनि उपेक्षा गरेर, कसैलाई पनि पाखा पारेर संविधान संशोधन हुँदैन । संविधान संशोधनका लागि राष्ट्रिय सहमति तयार पार्नुपर्छ । त्यसकारण अहिले सरकारमा रहेका राजनीतिक दलहरु वा संसदमा रहेका शक्ति मात्रै होइन, संसद, सत्तामा नरहेका शक्तिहरुको सहमतिमा सबैलाई अटाउने नयाँ सम्झौता हो । यहाँ अल्पमत र बहुमतको कुरा आउँदैन । कसैलाई पाखा नलगाउने गरी, सबैलाई अपनत्व महशुस हुनेगरी हिजो नमिलेका विषय मिलाएर जानका लागि गर्ने हो संविधन संशोधन । कसैलाई पाखा पार्न गरे पो बहुमत पुग्छ की पुग्दैन भन्ने समस्या हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधन यो विषयमा गरेर जानुपर्छ भन्नेमा पूर्ण स्पष्ट छ । तर भोलि छलफलको क्रममा सबैलाई सहमत गराउने क्रममा, सबैलाई जोड्ने क्रममा हामीले भनेको जस्तो नहुन सक्छ । तर हामीले त भनेका छौँ, अहिलेको राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा व्यापक रुपमा संशोधन गरेर जानुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तहको व्यवस्था । संवैधानिक अंगहरुमा योग्यता र क्षमताको आधारमा नियुक्ति, दलीय भागबण्डा होइन । जस्ता विषयहरु जो सबैका लागि हुन् यस्ता विषयहरु हामीले भनेका छौँ ।’

अध्यक्ष लिङदेनले राप्रपा संविधान संशोधन कुन-कुन विषयमा संविधान संशोधन गर्ने भन्ने बारेमा स्पष्ट रहेको बताउनु भयो । राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा व्यापक संशोधन गरेर जान आवश्यक रहेको बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तहको व्यवस्था, वैधानिक अंगहरुमा योग्यता र क्षमताको आधारमा नियुक्ति गर्ने कुरामा संविधान संशोधन हुन जरुरी रहेको बताउनु भयो । -न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?