निःशुल्क विरुवा वितरण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । डिभिजन वन कार्यालय सर्लाहीले सर्वसाधारणलाई निःशुल्क विरुवा वितरण गर्न सुरु गरेको छ । वन कार्यालयले आफ्ना सातवटा नर्सरीमार्फत एकैसाथ वन प्रजाति र जडिबुटी प्रजातिका विरुवा बाँड्न सुरु गरेको हो ।

वन नर्सरीबाट टिक, कल्कीफूल, मसला, बकाइनो, इपिल, खयर, अर्जुना, सिसौ, बेल, अमलालगायत जातका विरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । डिभिजन वन कार्यालय लालबन्दी, नवलपुर वन नर्सरी, कविलासी वन नर्सरी तथा लालबन्दी, घारी, जानकीनगर र मूर्तिया सव डिभिजन वन कार्यालयबाट निःशुल्क विरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

वातावरण संरक्षण गर्ने उद्देश्यसहित यसरी सर्वसाधारणलाई निःशुल्क विरुवा वितरण गरिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय सर्लाहीले गत वर्ष जिल्लाको दक्षिण-पूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकामा गाउँपालिका कार्यालयसँग समन्वय गरी गाउँमै लगेर विरुवा वितरण गर्दा हारालुस परेको थियो ।

कार्यालयले यो वर्ष भने पालिकामै लगेर विरुवा वितरण नगरी केही पालिकासँग समन्वय गरी सडक किनारमा विरुवा रोपेको छ । वन कार्यालयले अहिले पानी परेर पर्याप्त चिसो रहेको मौसममा विरुवा रोप्नु उपयुक्त हुने भएकाले नजिकका वन नर्सरीमा सम्पर्क गरी आफ्नो घर, खेतमा विरुवा रोप्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?