
कुनै व्यक्ति वा वस्तुको अपर्झट, कष्टपूर्ण घटनाबाट भएको हानी नोक्सानी, क्षति, चोटपटक नाश, मृत्यु आदिलाई दुर्घटना भनिन्छ । दुर्घटना एक यस्तो अचानक र अप्रत्याशित रूपमा घट्ने घटना हो जसको परिणामस्वरूप भौतिक हानिनोक्सानीदेखि चोटपटक र मानवीय क्षतिसम्म पुग्छ । दुर्घटना अचानक, आकस्मिक र अन्जानमा हुने घटना हो तर नेपामा हवाई दुर्घटना किन नियमित आकस्मिकता बन्यो ? अब यसको भरपर्दाे र दिगो समाधान खोज्नैपर्छ । घटना राम्रो नराम्रो दुवै हुनसक्छ तर दुर्घटना भने दुःखद् नै हुन्छ । भौतिक या मानवीय क्षतिका घटनाहरू सबै दुर्घटना हुन । दुर्घटनालाई निमिट्यान्न पार्न नसकिएला तर समयमा होस् पुयाउँदा न्यूनीकरण गर्न सकिन्छ ।
सौर्य एयरलाइन्सले विधि र नियमको पालना गरेको भए यति धेरै मानवीय क्षति हुँदैनथ्यो । विधिलाई बेवास्ता गर्दा व्यवस्थापन समूहका व्यक्तिहरूको र अन्य असम्बन्धित व्यक्तिहरूको अकारण ज्यान गयो । यो दुर्घटनाले सिकाएको पाठलाई अब सबै एयरलाइन्सका प्रबन्धक र व्यवस्थापकले सधैं होस् पुर्याए भने यसरी प्राविधिकबाहेकका व्यक्तिहरूले गैरव्यावसायिक उडानमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन् । सौर्य एयरलाइन्सको मिति २०८१ साउन ९ गते बुधबारको दुर्घटना बेहोसी र विधिलाई बेवास्ता गर्दा भौतिक साथै मानवीय क्षतिमात्रै भएन । अर्को दुःखद् विषय भनेको देशका हवाई उड्डयन क्षेत्रका विशिष्ट प्राविधिकहरू र व्यवस्थापकीय क्षमता भएका होनहार जनशक्तिलाई देशले सधैंका लागि गुमाउनु पर्यो ।
सरकारमा हुनेहरूबाट पुराना जहाज खरिदमा कडाइका साथ प्रतिबन्ध हिजैबाट भएको भए अहिलेसम्म यति धेरै संख्यामा हवाई दुर्घटना हुने नै थिएनन् । दुर्घटनाहरू व्यवस्थापन, चालकको लापरबाही तथा बेहोसीले भन्दा पनि सरकारको नीति र स्थितिको कमजोरीले भएका हुन् ।
चोरी हुन्छ कि भनेर सजगता नराख्नेहरूले चोर आएको भोलिपल्ट जाग्राम बस्नुको कुनै अर्थ हुँदैन । चोर आउँछ कि भन्ने होसियारीमा सधैं लापरबाही गर्ने सरकारका गैरजिम्मेवार प्रधानमन्त्री र मन्त्रीहरू जहाज दुर्घटना भएपछि हस्याङ्फस्याङ दुर्घटना स्थल पुग्नुको अर्थ छैन । कानुन र नियमलाई पालना राज्य आफूले पनि गर्ने र अरूलाई पनि पालना गर्न बाध्य पारेको भए मर्मत गर्न पोखरा जाने जहाजमा यतिधेरै मानिस चढ्ने र मानवीय क्षति हुँदैनथ्यो । कानुन र नियमलाई पालना गर्ने र गराउने विषयमा सरकारको कमजोर इच्छाशक्तिले नै घटना घट्यो । यसर्थ दुर्घटनामा पूर्ण दोषी सरकार छ । अब कारबाहीको भागिदार को ? यो प्रश्न सधैं अनुत्तरित हुनुहुँदैन ।
सरकारमा हुनेहरूबाट पुराना जहाज खरिदमा कडाइका साथ प्रतिबन्ध हिजैबाट भएको भए अहिलेसम्म यति धेरै संख्यामा हवाई दुर्घटना हुने नै थिएनन् । दुर्घटनाहरू व्यवस्थापनको, चालकको लापरबाही तथा बेहोसीले भन्दा पनि सरकारको नीति र स्थितिको कमजोरीले भएका हुन् । हवाई दुर्घटनाको जड भनेको कमिसन र भ्रष्टाचार पनि हो । कमिसन र भ्रष्टाचारलाई निमिट्यान्न नगरिकन दुर्घटना न्यूनीकरणको शाब्दिक नाटकको अर्थ छैन । हवाई दुर्घटना विधि, नियमका साथै उड्डयनको मूल्य, मान्यता र अनुशासनविरोधी क्रियाकलापहरूको परिणाम हो । तसर्थ दुर्घटनाका लागि भ्रष्टाचार, कमिसन, लापरबाही, विधिविहीनता आदि जिम्मेवार छन् ।
इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने व्यवस्था र अवस्था सिर्जना गर्न सरकार सक्षम नहुँदासम्म यस्ता दुर्घटनाहरू रोकिँदैनन् । जहाज किन्दा थोत्रा किन्ने । सञ्चालन र मर्मत गर्ने प्रशिक्षित र दक्ष जनशक्ति विदेशिने रोगको समयमै उपचार नगरिकन दुर्घटना न्यूनीकरणको योजना किमार्थ प्रभावकारी हुँदैन । योग्य र दक्ष जति विदेशिने र अयोग्यहरूबाट राजनीति र संघसंस्थालगायत सबै संयन्त्र सञ्चालन हुने परिस्थितिमा आमूल सुधारविना दुर्घटना न्यूनीकरणको विषयको उठान र बहसको कुनै तुक छैन ।
योग्य दक्ष र होनहार नागरिक विदेश निर्यात गर्ने र बचेखुचेका कमसलहरूले राजनीतिलगायत सबै क्षेत्रहरूको जिम्मेवारी लिने अवस्था र व्यवस्था निर्माण गर्ने सरकारी नीतिे वास्तवमा राजनीतिक दुर्घटनादेखि हवाई दुर्घटनालगायत सबै दुर्घटनाहरूका लागि पूर्ण जिम्मेवार छ । योग्य, दक्ष र लगनशील नागरिक विदेश पलायन हुने रोगको उपचार नगरिकन राजनीतिक दुर्घटना र हवाई दुर्घटनालगायत सबै दुर्घटनाहरूको उपचार खोज्नु टाउको दुख्ने रोगको औषधि घुँडामा दल्नु जस्तै हो । हवाई दुर्घटनाको उपचारमात्रै होइन भ्रष्टाचार, अनियमितता, कुशासन जस्ता रोगहरूको उपचार दक्ष, योग्य, होनहार नागरिक विदेशिने कारणहरूको उपचार र रोकथामका माध्यमले खोज्नुपर्छ ।
दुर्घटना न्यूनीकरणका उपायप्रति सधैं बेवास्ता गर्ने र दुर्घटनापछि जाँचबुझ आयोगको नाटक श्राद्धमा बिरालो बाँध्ने र छानबिनको नाममा छलछाम र ढाकछोपको काम गर्ने आयोगहरू दुर्घटना न्यूनीकरणका सूत्र किमार्थ होइनन् । तसर्थ आयोग गठनको शैली र पद्धति दुर्घटना न्यूनीकरणभन्दा दुर्घटना निम्त्याउने रणनीति बन्यो । सर्वप्रथम हवाई जहाजहरू खरिद गर्दा चार-पाँच दशक पुराना किन्ने अनुमति दिने र तिनलाई डेन्टिङ पेन्टिङ गर्ने हाम्रो कार्यशैली र नीतिमा जबरजस्त पुनरावलोकन गर्नुपर्छ । कस्ता जहाज खरिद गर्ने र अहिले उडानमा रहेका जहाजहरू कुन-कुन ठीक छन् र कुन-कुन ठीक छैनन् भन्ने टुंगो लोभ लालच र मोलाहिजा बिना गर्ने प्रबन्धबाटै भोलिका दुर्घटनाहरू न्यूनीकरण हुन्छन् ।
के वर्तमान सरकारले त्यो हिम्मत र आँट गर्नसक्छ ? धनाढ्यहरूको योजना र धनाढ्यहरूकै घरमा गठबन्धनको योजना बुन्ने सरकारको नेतृत्वले के यस्तो निष्पक्ष, तटस्थ र जनहितकारी काम गर्न सक्छ ? अहिले सञ्चालनमा कति जहाज छन् ? ती जहाजहरू कति वर्ष पुराना छन् ? यस्ता विषय सर्वप्रथम सार्वजनिक गर्नुपर्छ । जहाज कहाँ बनेको हो ? बनेको कहिले हो ? कति घण्टा उडेको छ ? अब कति घण्टा उडान भर्ने म्याद छ जस्ता विषय सर्वसाधारण यात्रुहरूले देख्ने गरेर ठूला अक्षरमा जहाजमा र टिकटमै अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । पुराना जहाजहरूमा यात्रुहरू चढ्न छोडे भने ती जहाजहरू स्वतःप्रयोग बिहीन हुन्छन् । यत्तिमात्रै गर्दा पनि दुर्घटना हुन्छ । जहाज किन्दाको कैफियतका कारण हुने दुर्घटनालाई व्यवस्थापनमा मात्रै परिवर्तन गरेर कुनै हालतमा दुर्घटना न्यूनीकरण हुँदैन ।
पुराना जहाजहरूलाई उडान अनुमति नदिने नीतिलाई यदि सरकारले कडाइका साथ पालन गर्ने अठोट लिएको अवस्थामा दुर्घटना स्वतः न्यूनीकरण हुँदै जान्छ । प्रधानमन्त्री दुर्घटना पछि जहाज दुर्घटना स्थलमा दौडेर जाने विषय ठीक कि बेठिक ? देशको व्यवस्थापन अकुशलताका कारणले जहाजहरू दुर्घटना हुन्छन् भने प्रधानमन्त्री देशको मुख्य व्यवस्थापकको हैसियतले दुर्घटनाको जिम्मेवारी लिने कि नलिने यो अहं प्रश्नमा बहस जरुरी छ । प्रधानमन्त्रीले सरकारी संयन्त्रहरूलाई स्वतः क्रियाशील हुने र उद्धारका कामहरू छिटोभन्दा छिटो हुने सरकारी संयन्त्र विकास गर्ने रणनीति अख्तियार गर्ने हो ।
त्यो जिम्मेवारी निर्वाह गर्न असफल प्रधानमन्त्रीहरूले दुर्घटना ग्रस्त क्षेत्रको भ्रमण र घाइतेहरू समक्ष आफैं उपस्थित हुनुको अर्थ छैन । पदीय जिम्मेवारीमा रहेका गैरजिम्मेवारहरूबाट दुर्घटनाको जिम्मेवारी र जवाफदेही लिनुपर्ने बाध्यात्मक व्यवस्था अहिलेको दुर्घटनाको उपचारको राम्रो सुरुवात मानिन्छ । सरकारको कामकारबाही कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ भन्ने चिन्तन गर्नुभन्दा कसरी अर्काको सरकार ढाल्ने र आफ्नो सरकार धान्न वैध अवैध, नैतिक अनैतिक काम गर्न पछि नपर्ने क्रियाकलापको परिणाम हुन यस्ता दुर्घटना । दुर्घटनाको मुख्य कारण थोत्रा जहाज हुन् ।
थोत्रा जहाजका मालिकहरूबाट पालित पोषित लोभीपापी प्रधानमन्त्रीहरू र मन्त्रीहरूले यस्तो सुधार गर्न सक्दैनन् । फगत आयोगका लागि आयोग गठन गरेर जनतालाई ठग्ने काम बन्द गरौं । पुराना जहाजहरूको उडान अनुमति खारेज नगरिकन दुर्घटना न्यूनीकरण सम्भव छैन । चोर आएको भोलिपल्ट जाग्राम बस्ने व्यवस्थामा चोरी हुने कुरा कुनै नौलो नभए जस्तै संसारभरका थोत्रा र कवाडखानामा लैजान तैयार जहाजहरू नेपाली आकाशमा उड्न अनुमति दिने सरकारी नीति नै दुर्घटनाको प्रमुख कारण हो । अब दोषी को ?
ऐना हेर्दा अनुहारमा देखिएको फोहोरलाई सरकार ऐनाको सिसामा फोहर छ भनेर सिसा पुछ्न उद्यत् छ । अनुहारको फोहोरलाई ऐनामा हेर्दै गर्दा ऐना फोहर देख्ने शैलीमा गठित यस्ता छानबिन आयोगहरू दूधको साछी बिरालो भन्ने उखानलाई चरितार्थ बनाउँछन् नकि समाधान । समाधान भनेको नीतिगत सुधार र इमानदारी हो । इमानदारीलाई लिलामी गर्दै मुद्रा, बाहुबल र षड्यन्त्रको बलमा निर्वाचित व्यक्तिहरूबाट बनेको सरकारले यस्ता दुर्घटनाहरूको न्यूनीकरण गर्ने कठोर निर्णयको क्षमता नै राख्दैनन् । त्यसैले दुर्घटना न्यूनीकरणका विषय वर्तमान राजनीतिक नेतृत्वबाट कसरी सम्भव हुन्छ ? सम्पूर्ण देशलाई दुर्घनाग्रस्त बनाउन अग्रसर हुनेहरूबाट जहाज दुर्घटनालाई रोक्ने उपायको खोजी र कार्यान्वयन गर्छन् भनेर हामीले विश्वास यदि गर्छौ र जहाज निर्धक्क चढ्छौं भने दोषी हामी पनि हौं । दुर्घटनाहरूको प्रकृति आकस्मिक हुन्छ तर हाम्रो हवाई दुर्घटना किन नियमित आकस्मिकता भएको छ ?
नेपालीहरूको प्रश्न छ बस दुर्घटनामा किन सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति भएन ? किन तिनीहरूको शोकमा झण्डा झुकेन ? दुवै दुर्घटनाको समयमा गरिबका मसिहा हूँ भन्ने कम्युनिष्ट प्रधानमन्त्री थिए । कम्युनिष्टहरू धनीका मानिस हुन् कि गरिबका हुन् भनेर छुट्टयाउन अब गाह्रो भएन ।
दुर्घटना आफैंमा वेदनापूर्ण हुन्छ । जहाजमा सबार पाइलट एकजना बाहेक १८ जनाको मृत्यु आफैंमा शोक र पीडाको विषय हो । हवाई दुर्घटनामा १८ जना हुनेखानेहरूको मृत्युुमा सरकारले शोक मनायो । अस्तिमात्रै नारायण गढ मुग्लिन सडकको सिमलतालमा खसेका दुई-दुई बसका ६५ यात्रुहरूको हृदय विदारक दुर्घटना तत्कालीन गृहमन्त्रीको निर्वाचन क्षेत्र र तत्कालीन प्रधानमन्त्रीको गृह जिल्लामा भएको थियो । त्यो दुर्घटनामा न प्रधानमन्त्री गए न गृह मन्त्री न उनीहरूको मृत्युको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने नै निर्णय भयो । हवाई जहाज दुर्घटनामा धनाढ्यहरूको मृत्यु भएको हुनाले राज्यको उपस्थिति भयो ।
प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र नागरिक उड्डयन मन्त्रीको उपस्थितिले उनीहरू आमजनताको प्रतिनिधित्व गर्छन् कि धनाढ्यहरूको भन्ने विषयमा थप भन्न परेन । यसरी दुःखको समयमा भएको उपस्थिति सराहनीय छ तर यस्तो उपस्थिति सबै दुर्घटनाग्रस्त स्थलमा हुनुपर्ने कि नपर्ने भन्ने प्रश्न के वाञ्छनीय हुँदैन ? अस्ति भरखरै मुग्लिन नारायण गढ राजमार्गको सिमलतालमा भएको हृदय विदारक दुर्घटनामा अचानक आएको पहिरोका कारण दुई रात्रि बसमा सवार भएका ६५ जना यात्रुसहित बस त्रिशूली नदीमा खस्यो । दुःखको कुरा आजका मितिसम्म अधिकांश यात्रुहरूको शवसम्म फेला परेको छैन । त्यो दुर्घटना क्षेत्रकै जनप्रतिनिधि तत्कालीन गृहमन्त्री र सो जिल्लामा स्थायी आवास भएका प्रधानमन्त्री दुवैजना त्यस घटनास्थलमा उपस्थित नभएर संसदमा विश्वासको मत लिने र दिने प्रधानमन्त्री र सिंगो संसद्सँग नै मानवीय समवेदनशीलता नभएको प्रमाणित हुन्छ ।
राष्ट्र नै शोकमा डुबेको दिन पदको छिनाझपटीका लागि संसद सञ्चालन गर्ने सभामुखको क्रियाकलाप खेदपूर्ण छ । त्यहाँ गरिबहरू दुर्घटनामा परेका थिए त्यसैले तत्कालीन प्रधानमन्त्रीले र गृहमन्त्री र यातायात मन्त्रीले आफ्नो उपस्थिति जनाउन आवश्यक ठानेनन् । नेपालीहरूको प्रश्न छ बस दुर्घटनामा किन सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति भएन ? किन तिनीहरूको शोकमा झण्डा झुकेन ? दुवै दुर्घटनाको समयमा गरिबका मसिहा हुँ भन्ने कम्युनिष्ट प्रधानमन्त्री थिए । कम्युनिष्टहरू धनीका मानिस हुन् कि गरिबका हुन भनेर छुट्टयाउन अब गाह्रो भएन । भोट लिँदा गरिबको हौं भन्ने र निर्वाचनपछि पदमा हुँदा धनीमनी र साहुमहजनको सेवामा समर्पण हुने संस्कार सरकारमा हुनेहरू अझ खासगरी कम्युनिष्टहरूमा भएको कुरा यी दुई दुर्घटनाले प्रमाणित नै गर्यो ।
छानबिन आयोगहरू र तिनका प्रतिवेदनहरू दुर्घटनाका न्यूनीकरणका कारणहरू र समाधानका उपायहरू सुझाउनुको सट्टा जन आक्रोशलाई साम्य पार्ने रीत पूरा गर्ने दस्तावेज नबनुन् । सौर्य एयरलाइन्सको सिआरजे ७०० नामक जहाज दुर्घटनासँगै नेपालको उड्डयन इतिहासमा दुर्घटनाको संख्या १०५ पुगेको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार नेपालमा २०१२ साल देखि २०८१ साउन ९ गते बुधबारसम्म यात्रुको ज्यान जानेगरी ३६ आन्तरिक, आठ अन्तर्राष्ट्रिय हवाई उडान र १७ हेलिकप्टर दुर्घटनाहरू भएको तथ्यांक छ ।
नेपालको उड्डयन इतिहासमा रन्बेबाट चिप्ल्ने, इन्जिनफेल हुने, टायर पड्कने, आगो निस्कने, गियर अड्कने र पहाडमा ठोक्किने धेरै दुर्घटना भएका छन् । यसले यात्रुहरूमा मनोवैज्ञानिक त्रास र भय उत्पन्न हुन्छ । सौर्य एयरलाइन्सको यो दुर्घटनापछि उड्डयन क्षेत्रमा सरकार र सम्बन्धित सबैको सतर्कता र ध्यान जाने अवस्था सिर्जना गर्न र हवाई सेवालाई विश्वसनीय बनाउन ईश्वरबाट सम्बन्धित सबैलाई सद्बुद्धि प्राप्त होस् । (अष्ट्रेलियाको मेल्बर्नबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच