
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो महिना थाइल्याण्ड र अमेरिकाको भ्रमण गर्ने हुनुभएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जान लाग्नुभएको हो ।
भ्रमणको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमणलाई दुईपक्षीय बनाउने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुनेगरी अनौपचारिक छलफल भइरहेको छ । यसबीचमा आकस्मिक रूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्याण्ड हुनेछ ।
सेप्टेम्बर १० मा संयुक्त राष्ट्रसंघको ७९औँ महासभा हुँदै छ । थाइल्याण्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओलीको अमेरिका जाने योजना छ । सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे दुई करोड खर्च
राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमणमा दुई करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलले गत जेठ २९ देखि असार ५ गतेसम्म स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नुभएको हो । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को जेठ १७ गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयलाई असारमा उक्त रकम निकासा गरेको हो । भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।
स्विट्जरल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते त्यहाँका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । उहाँले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुभएको थियो । राष्ट्रपति पौडेलले जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्था, बर्लिनको पर्खाल र पूर्वी जर्मनीको अवलोकन भ्रमण गर्नुभएको थियो ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधि मण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधि मण्डलको भ्रमण खर्चबापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ । असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चबापत सो रकम खर्च भएको जानकारी दिएको छ । मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो । प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको थियो । उहाँको भ्रमण टोलीमा मन्त्रीहरूसहित जम्बो टोली सहभागी थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच