
सूचना प्रविधिले परिचालन गरेको युग भए पनि संचार प्रणाली र प्रयोगलाई व्यवस्थित गरिएन भने त्यो अराजक हुनु स्वाभाविक हो । लोकतन्त्रिक स्वतन्त्रताका मूल्य, मर्यादालाई स्वेच्छाछारिता, अराजक र छाडातन्त्रमा परिणत गर्ने काम सभ्यताविरोधी हुनेछ । सूचना तथा सञ्चारको महत्व पछिल्लो समयमा दिनप्रतिदिन बढ्दै गएको छ । यसको प्रभावलाई नियन्त्रण वा न्यून गर्नु असम्भव कृत्य हो । सरकारले नौ महिना पहिले प्रतिबन्ध लगाएको टिकटक खुलाउने माग तथा दबाब बढ्नुको कारण पनि यही नै हो । मानिसलाई सभ्यताको प्रारम्भिक समयमा खानुमात्र सबैभन्दा आधारभूत आवश्यकता थियो होला । त्यसपछिको आवश्यकता लगाउनुभन्दा पनि बस्ने ठाउँको व्यवस्था गर्नु बन्नपुग्यो होला । गतिशील समयक्रममा मानिसको सबैभन्दा प्रमुख आवश्यकतामा खानु लाउनु र बस्नु भन्ने भए होलान् । यिनलाई कसैले खाना, नाना, छानाको रूपमा चित्रण गर्दै आए भने कसैले गाँस, बास र कपास भनेर व्याख्या गरे ।
जसले जसरी व्याख्या गरे पनि यी तीनलाई मानिसका प्रमुख आवश्यकताका रूपमा हेरियो । खानुपछि लाउनुलाई दोस्रो प्रमुख आवश्यकता ठानियो । अब लुगा लगाउनु आवश्यकता मात्र बनेन यो प्रतिस्पर्धी पहिरनका रूपमा विकसित बन्दै गएको छ । नेपालमा पञ्चायती प्रणाली छँदासम्म पनि सरकारले जनताका आधारभूत आवश्यकता भनेर पुनः तीन कुराहरूलाई मान्ने गरेको थियो । समय र राज्य प्रणाली अनुसार आधारभूत विषयहरू पनि फेरिने रहेछन् भन्ने विषय हाल प्रजातन्त्रमा जनताका आवश्यकता फेरिएबाट पुष्टि हुन आउँछ । अब यी तीन कुरामात्र जनताका आधारभूत आवश्यकता होइनन् भन्ने मानिसका विभिन्न व्यवहार, आचरण र अभ्यासले पुष्टि हुँदै आएको छ । सूचना र सञ्चार पनि आधारभूत आवश्यकताभित्र परेको छ अब ।
सरकारका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भन्दै आएकोमा सरकारको चौथो अंग भनेर पत्रकारितालाई पनि मान्ने गरिन्छ । लोकतान्त्रिक प्रणालीमा मात्रै यस तथ्यलाई स्वीकार गरिन्छ । स्वतन्त्र प्रेसको अवधारा नभएको मुलुकमा प्रेसलाई चौथो अंग मान्नु वा नमान्नुको कुनै अर्थ हुँदैन । प्रेसको महत्व लोकतन्त्रमा मात्रै स्थापित हुन्छ । आधारभूत आवश्यकताका रूपमा परिवर्तनशील समयले जनताको सोच व्यवहार र अभ्यासमा समेत परिवर्तन गरिदिएको छ । अबका दिनमा जनताका आधारभूत आवश्यकता भनेर खाना, नाना र छानामात्र होइनन् शिक्षा, स्वास्थ्य, सूचनालगायतका विषय पनि आधारभूत आवश्यकता नै हुन् भनेर वर्तमान समयले स्वीकारी सकेको छ । डेढ दुई दशकअगाडिसम्म शहरी क्षेत्रका मानिसले मुस्किलले ल्यान्डफोनको प्रयोग गर्न पाएका थिए । त्यो पनि पँहुचवालाले मात्र । तर, सञ्चार क्षेत्रले विस्तारै गति लिएसँगै मोबाइल फोन पनि केही सीमित मानिसहरूको प्रयोगमा आएको थियो । क्रमशः यस क्षेत्रमा आएको क्रान्तिले सामान्यभन्दा सामान्य मानिसले यसको प्रयोग गर्ने गरेका छन् । १०-१५ वर्ष पहिलेसम्म पनि समाजका निम्न वर्गका मानिसको हातमा मोबाइल देख्दा सबैले छक्क परेर हेर्नुपर्ने अवस्था थियो । अब यो नागरिकहरूको आधारभूत आवश्यकतामा परिसकेको छ । प्रायः नागरिकहरूका हातहातमा मोबाइल छन् र प्रायः राम्रो खालको क्यामरा, क्यालकुलेटर, टर्च, रेडियोलगायत सबै सुविधा भएका मोबाइल नै प्रयोग गरिरहेका छन् ।
मोबाइलबाट प्राप्त हुने सञ्चारको फोनलगायत अन्य जे जति सुविधा छन् ती सबै नागरिकले प्रयोग गर्नेगरेका छन् । होला कसैले कुनैको बढी र कुनैको कम प्रयोग गर्लान् तर एकले कम गर्नेगरेको माध्यमलाई अर्कोले बढी प्रयोग गर्ने गरेको हुनसक्छ । कसैले मेसेन्जरको बढी उपयोग गर्छन् भने कसैले भाइबर चलाउँछन् । यसैगरी कसैले इन्स्टाग्रामको अधिक प्रयोग गर्छन् भने कसैले हृवाटसएपको प्रयोग गर्छन् । हालका दिनमा सञ्चारले फड्को मारेसँगै टाढाटाढाबाट पठनपाठन, बैठक, सन्देश संप्रेषण, फोटो तथा भिडियो संप्रेषणलगायत कार्य गर्ने गरिन्छ । नियमित रूपमा गर्नुपर्ने कार्य त यसका माध्यमबाट गरिने नै भए । साथै यो धेरैको व्यावसायिक आर्जनको माध्यम पनि बन्दै गएको छ ।
यस्तै साधनमध्येको एक हो टिकटक । यसमा फोटा तथा भिडियोहरू अपलोड गरेर त्यसमा भ्युज बढाएर आर्जन गर्न धेरै सफल भएका थिए र यो आर्जन गर्ने माध्यम बनेको थियो । तर, टिकटकमा ज्यादै विकृति आएकाले यसमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग सुरु भएपछि सरकारले नौ महिना पहिले प्रतिबन्ध लगाएको थियो । निर्माणकर्ता देश र कम्पनीलाई समेत असर पर्ने भएकाले सञ्चालनका लागि दबाब आउने गरेको चर्चा चल्दै आएको थियो भने अर्कातिर आफ्नै देशभित्रबाट पनि यसलाई माध्यम बनाएर आयआर्जन गरी जीवन निर्वाह गर्नेहरूले प्रतिबन्ध हटाउनुपर्छ भन्ने माग थियो ।
प्रजातन्त्रमा जनताका अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन संविधानको मौलिक हकमा प्रदान गरिएको व्यवस्थाले दिन स्वीकार गर्दैन । टिकटकमाथिको प्रतिबन्ध हटाउनुपर्छ भन्ने दबाब व्यापक रूपमा बढिरहेका बेला सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकबाट फुकुवा गर्ने निर्णय गरेको थियो । जसअनुसार गत शुक्रबार नेपाल सरकारको सूचना तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई चिठी दिएपछि प्राधिकरणले पनि इन्टरनेट सेवाप्रदायक तथा मोबाइल सेवाप्रदायक नियामक निकायलाई सूचना गरी टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
अब टिकटक सञ्चालनमा आएको छ । जसजसले यसबाट फाइदा लिँदै आएका थिए पुनः त्यो अवसर प्राप्त गरेका छन् । यसका सकारात्मक पक्षमात्र छैनन् प्रसस्त मात्रामा नकारात्मक पक्ष पनि छन् । समयको बर्बादीदेखि कुलत र अश्लीलता बढाउने काममा टिकटक प्रमुख माध्यम बन्न सक्छ । यसबाट जोगिन र आफ्ना बालबच्चालाई समेत जोगाउने कर्तव्य स्वयं नागरिक र अभिभावककै हो । यसतर्फ सबैले सचेत हुन र ध्यान दिन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच