
नेपाली आँगनमा दशैँको चहलपहल सुरु भइसकेको छ । संसारमा जहाँ-जहाँ नेपाली छन्, त्यहाँ-त्यहाँ दशैँको तयारी छँदै छ । दशैँ पहिले धार्मिक पर्वको रूपमा मनाइन्थ्यो भने अहिले विशुद्ध सांस्कृतिक चाडको रूपमा मनाउन थालिएको छ । पहिले यो चाड विशुद्ध हिन्दूको मात्र पर्व थियो भने अब यो पर्वलाई खासगरी बहुधार्मिक नेपाली मात्रको सांस्कृतिक पर्वको रूपमा मनाउन थालिएको छ । हिन्दू धर्मावलम्बीको सबैभन्दा महान् चाड दशैँ हो भन्नेमा दुईमत छैन । लोक कथाअनुसार त्रेतायुगमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाइँ गरी रावणलाई समाप्त पारेर हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात् विजय प्राप्त गरेकाले अयोध्यावासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए । त्यसबेलादेखि विजयादशमी मनाउने चलन सुरु भएको किंवदन्ती छ । हिन्दूहरूले मनाउने अधिकांश पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् ।
देवताको पीडालाई हरण गर्न भगवती नवदुर्गाको प्रादुर्भाव भएको हो । देवताको संगठित शक्ति महाशक्ति दुर्गा हुन् । चान्द्रमासअनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म शक्ति उपासना गर्ने पद्धतिलाई दशैँ भनिन्छ । ‘नवदुर्गा भवानी’ संगठित शक्तिको प्रतीक हो । घटस्थापना अश्विन शुक्ल प्रतिपदाको दिन शुद्ध माटो, गोबरले घर लिपि दियो, कलश, गणेशको विधिसहित पूजा गरी घटस्थापना गर्ने विधान छ । नवदुर्गा भवानीको आहृवान, स्थापना र पूजा गर्नुपर्छ । वर्षमा चारवटा नवरात्र पर्छन् । तीमध्ये आश्विन शुक्ल, चैत्र एवं आषाढ शुक्ल, माघ शुक्ल प्रतिपदादेखि आरम्भ हुने दैवी शक्ति उपासनाको पद्धति नै नवदुर्गा भवानीको साधना पद्धति हो । गहुँ र जौ अन्य प्रकारका अंकुर आउने बीज मिसाएर जमरा राख्नुपर्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, त्यसपछि चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । दशमीका दिन विजयाको पूजा गरी टीका जमरा प्रसाद लगाइन्छ ।
दशैँको आधार आश्विन शुक्ल दशमीको दिन नै हो । नौ दिनको पूजाआजा पश्चात्को दशौँ दिनको महत्वलाई यसले सँगालेको छ । त्रेतायुगमा श्रीरामले रावण जस्तो वीरलाई पराजित गर्नका लागि देवीको अतिरिक्त शक्तिको आहृवान गर्दै नौ दिनसम्म देवीलाई विभिन्न स्वरूपमा पूजाआजा गरेको प्रसंग एकातिर आउँछ भने अर्कोतिर देवीको आह्वानका लागि चैत्र र आश्विनमा दुईपटक नवाह लगाउने चलन पनि छ । हामी आर्य धर्मावलम्बी सनातनी हिन्दूहरूका लागि हाम्रा पूर्वज ऋषिमुनिहरूले हाम्रा भावी सन्ततिका निमित्त यस लोकमा सुख-शान्ति, सुस्वास्थ, दीर्घायुष्यप्राप्ति र जन्मान्तरमा पनि परमानन्द प्राप्तिका निमित्त बिहान उठेदेखि रातम नसुतेसम्म गर्नुपर्ने धार्मिक नियमहरू हामीलाई बनाइदिएका छन्, जसअनुसार चलेमा यस लोकमा सम्मानित र पछि मोक्षसमेत पाउन सकिन्छ ।
यो आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त नवरात्रमा दीप, कलश, गणेश स्थापनासहित पूजा गरी श्रीदुर्गा भवानीको विधिपूर्वक पूजा, आराधना गर्नुपर्छ भन्ने शास्त्रीय विधान छ । सनातन धर्मावलम्बी मात्रले वर्षभरिको अति ठूलो चाडका रूपमा विजयादशमीको नामले विजयको प्रेरणा दिने भएकाले मनाउने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त दुर्गा भवानीको पूजा-आराधना गर्ने र दशमीको दिनमा शास्त्रीय विधानअनुसार दुर्गा विसर्जन गरी सनातनी धर्मावलम्बीले वर्षभरिको अत्यन्त ठूलो चाडका रूपमा लिई मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी आश्विन शुक्ल कोजाग्रत पूर्णिमासम्म मनाउने परम्परा छ । श्रीमद् देवी भागवतमा बताइएअनुसार त्रेतायुगको अन्त्यमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले विश्व कल्याणका निम्ति मनुष्यावतार लिएका र आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयादशमीको साइतमा लंकामा रावणविरुद्ध युद्ध गर्न प्रस्थान गरेको उल्लेख छ । देवीको उपासना गरेकोले रावणमाथि विजय प्राप्त गरेको कथा प्रसंग आएको छ ।
घटस्थापना भित्रको विज्ञान
आश्विनशुक्ल प्रतिपदाका दिनदेखि सनातनीहरूले आफ्नो कुल आचारअनुसार सम्पूर्ण वर्गले घट (घडा) को स्थापना गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको शास्त्रोक्त विधिले आहृवान गरी पूजन गर्दछन् । तामाको घडा वा माटाको घैँटोमा गाईको गोबर टाँसेर जौ गाडी घटस्थापना गर्ने प्रचलन छ । घडामा गोबर टाँस्नुको कारण यसको वैज्ञानिक महत्व छ । गोबरमा अनेक प्रकारका हानिकारक किटाणु नाश गर्ने क्षमता हुन्छ । गोबरले लिपेको भूमिमा वा गोबर रहेको ठाउँमा भूतप्रेत आउन नसक्ने र गोबरले जैविक औषधिका रूपमा काम गर्ने भएकाले पञ्चगव्यमा समेत यसलाई समावेश गरिएको छ । घटस्थापना गर्दा प्रायशः माटोको घडा प्रयोग गरिन्छ किनभने माटो पृथ्वीको अंग हो । क्षमाशीलता र धारण गर्ने गुण पृथ्वीमा रहेको छ । पृथ्वी विष्णुकी शक्ति हुन् । माटोमा पाप हटाउने क्षमतासमेत रहेको तथ्य हामीले शास्त्रमा पाउन सक्छौँ र कहीँकहीँ तामाको घडाको पनि प्रयोग गर्ने गरेको पाइन्छ । तामा पनि पृथ्वीको गर्भबाट निकालिएको हो, पृथ्वीकै अंश हो । घटस्थापना गर्दा जौ टाँस्ने परम्परा छ । जौको जमरा उमार्नुको तात्पर्य जौको गुण हो । जौमा दूधसमान पोषक तत्व पाइन्छन् । औषधीय गुणको प्रचुरता पर्याप्त मात्रामा पाइन्छ । जौ सबैभन्दा पहिले सृष्टि भएको अन्न मानिन्छ र सर्वथा शुद्ध मानिन्छ । याज्ञिक कार्यमा पनि देवगणहरूलाई हवि अर्पण गर्न बनाइने चरु गाईको शुद्ध घ्यूमा जौ मोलेर बनाइन्छ र पितृकार्यमा पनि पितृगणलाई जौको पिठोको पिण्डदान गरिन्छ । घटस्थापना गर्दा शुद्ध जलले पूर्णघटमा भगवतीको आहृवान गरिन्छ । अरू तरल पदार्थको सट्टा जलको प्रयोग गर्नुको कारण जल पञ्चतत्वमध्येको एक तत्व हो । जल पृथ्वीमा जीवन सम्भाव्यताको प्रमुख सूत्राधार हो, प्राणीलाई जलले नै बचाउन सक्छ । यसरी जीवनको पूर्णताका लागि आवश्यक तत्वको पूजन र प्रकृतिमा अन्तर्निहित शक्तिलाई ऊर्जामा परिणत गरी आफूमा विस्तारित गर्नु नै दशैँ मनाउनुको मुख्य उद्देश्य हो ।
सप्तशतीका तीन चरित्र
मार्कण्डेय पुराणको सावर्णी मन्वन्तर अन्तर्गतको दुर्गासप्तशती चण्डीमा भगवतीका तीन चरित्रको वर्णन गरिएको छ । प्रथम चरित्रमा महाकाली र अनादिकालमा विष्णुको नाभीबाट प्रकट भएको सहस्रदलको कमलमा उत्पत्ति भएका बहृमाजीलाई विष्णुको कर्णमलबाट (कानेगुजी) प्रकट भएका दुई शक्तिशाली महादानव मधु र कैटभको बारेमा वर्णन छ । ब्रहृमाजीले भगवती योगमायाको मानसिक उपासना गरी दानवहरूले दुःख दिएको कुरा भगवतीलाई अनुरोध गरे । भगवतीले आफ्नो योगबलले विष्णुलाई जागा गराई दानवहरूको संहार गरेर सृष्टिक्रम बसाउन पे्ररित गर्नुभयो । मध्यम चरित्रमा भगवती महालक्ष्मी (दुर्गा)को उत्पत्ति र महाराक्षस महिषासुरको आतंक र दुर्गाद्वारा महिषवधको बारेमा वर्णन छ । महिषासुरले दुःख दिएकाले साह्रै आजित भएका देवगणहरू महादेवको शरणमा गए र महादेवको प्रेरणामा सबै देवगणको मुखबाट तेजराशी उत्पन्न भयो । तेजराशीबाट विशाल ज्योतिपुञ्जको निर्माण भयो । त्यही तेजपुञ्जबाट भगवती महालक्ष्मीको उत्पत्ति भयो र देवगणहरूले आफ्ना–आफ्ना शास्त्रास्त्रद्वारा भगवतीलाई सुशोभित गरे । महिषासुरसँग भगवतीको ठूलो रणसंग्राम भयो र नवौँ दिनसम्मको युद्धमा बराबरी भएको र दशौँ दिनको दिनमा भगवतीले महिषासुर वध गरेको प्रसंग उल्लेख छ । यहीँबाट नै दशैँको औपचारिक थालनी भएको भन्ने मत विद्वान्हरूले दिएका छन् । उत्तर चरित्रमा महासरस्वतीको चरित्र र शुम्भ-निशुम्भ र रक्तबीजको वधको बारेमा वर्णन छ । पहिला महासरस्वतीले शुम्भ र निशुम्भको वध गर्नुभयो । रक्तबीजले भगवतीसँग युद्ध गर्न तत्पर भयो तर एक थोपा रगत भुइँमा झरे पनि ऊसमान बलशाली दैत्य प्रकट हुन थाले । यो देखेर भगवतीले कालीरूप धारण गर्नुभयो र एक थोपा रगत भुइँमा झर्न नदिई रक्तबीजको रगत नै समाप्त गरी संहार गर्नुभयो । सप्तशती चण्डीको यी तीन सत्चरित्र र यी तीन असत्चरित्र नै अहिले एक्काइसौँ शताब्दीमा पनि उत्तिकै सान्दर्भिक छ । प्रथम चरित्रका महाकाली र मधुकैटभले समाजमा रहेका शारीरिक बल, राजनीतिक बल, आदि जस्ता बलमा घमण्ड गर्ने माथिको दमन गर्न शक्ति प्राप्त गर्नु भन्ने सन्देश दिन्छ । कसैले हामीमाथि बल प्रदर्शन गर्छ भने हामीले पनि त्यस बलमाथि हाम्रै बलले दमन गर्नुपर्छ तर सत्यको पक्षमा । दोस्रो चरित्र महालक्ष्मी र महिषासुरले पनि समय सान्दर्भिक सन्देश दिन्छ । महालक्ष्मी अर्थात् तीन लोक चौध भुवनको मालिक्नीलाई महिषासुरले धनमदले बल प्रदर्शन ग¥यो र मदले गर्दा अन्त्य भयो । यसैले अहिलेको परिप्रेक्ष्यमा हामी पनि धनवान् हुनैपर्छ कि कसैले हामीलाई धनले दमन गर्न नसकोस् । धनार्जन गर्न कर्म गर्नुपर्छ, त्यो भनेको उद्यम गर्नु भनेको हो । तेस्रो चरित्र महासरस्वती र रक्तबीज हो । यस प्रसङ्गले विश्व समाजमा यस्ता प्राज्ञिक गतिरोधहरू आउन सक्छन्, विभिन्न षड्यन्त्र रचिन सक्छ, त्यस्ता समस्याको निराकरणका लागि हामी सक्षम हुनुपर्छ भन्ने हो ।
आध्यात्मिक पक्ष
पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) को संयोजनबाट बनेको शरीरमा पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय र एक सूक्ष्म इन्द्रीय गरी जम्मा एघार इन्द्रीय रहेका हुन्छन् । मानवले मन लागेको कर्म गर्छ, तर मन इन्द्रीयको वशमा हुन्छ । मीठो खाने, राम्रो लाउने, ऐशआराम गर्न खोज्नु यसको स्वभाव हो । मानवको जीवनचक्र कर्म र फलमा नियमित हुन्छ । कर्म र फल केही हदसम्म उसले लिने आहारसँग जोडिएको हुन्छ । भनिन्छ, जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै व्यवहार, जस्तो व्यवहार त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल । तसर्थ आहार परोक्ष रूपमा फलसँग जोडिएको हुन्छ । आत्मानुभूति गराउने प्रथम दश दिनको समय निकै महत्वपूर्ण रहने गर्दछ । यो नै मुख्य आधार वा जग हो । यस अवधिमा शाकाहारीवर्गभित्र पर्ने सात्विक आहार मात्र ग्रहण गर्नुपर्दछ । वर्जय दश इन्द्रीयबाट अपभ्रंश र संक्षिप्त रूप बडादशईं हुँदै बडादशैँ भएको हुन सक्दछ । दश दिनको प्रयासमा दश इन्द्रीयहरूलाई शान्त बनाउँदै ११औँ इन्द्रीयलाई प्रबल बनाएर एकादशीको दिनमा अल्पहार गरी ध्यान बस्ने र चन्द्रमाको वृद्धिसँगै आत्मासाक्षात्कारको बाटोमा अघि बढ्नु नै बडादशैँको आध्यात्मिक महत्व हो ।
सांस्कृतिक पक्ष
दशैँ पर्वको सांस्कृतिक पक्षको कुरो गर्दा यसलाई नेपालीपन र परम्पराको जीवन्त धरोहरकै रूपमा लिनुपर्ने हुन्छ । हुन त दशैँ पर्व हिन्दू संस्कृतिको उपज भएकाले यो हिन्दूहरूको मात्र पर्व हो भन्ने भनाइ पनि हिजोआज यदाकदा उठ्ने गरेको पाइन्छ । यथार्थ भने योभन्दा नितान्त भिन्न छ । हिन्दूहरू त विश्वका अन्य मुलुकमा पनि फैलिएका छन् तर नेपालमा जसरी दशैँँ पर्व मनाइन्छ, त्यो परम्परा निःसन्देह नेपालीहरूमा मात्र सीमित छ र जुनसुकै वर्ण-सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्धापूर्वक मनाउँदै आएका छन् । हिन्दू मात्रले नभई नेपालका बौद्ध धर्मावलम्बीले पनि दशैँ मनाउने गरेको पाइन्छ । दशैँ समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ । स्वाभाविक रूपमा जहाँसुकै रहेबसेका भए पनि निधारमा रातो टीका र कानमा पहेँलो जमरा देख्नेबित्तिकै त्यहाँ नेपाल र नेपालीपनको सुवास आउने गर्दछ । यस अर्थमा भन्नुपर्दा यस पर्वले समग्र राष्ट्रकै पहिचान बोकेको प्रष्टै अनुभूत गर्न सकिन्छ ।
सामाजिक पक्ष
दशैँ पर्वको सामाजिक महत्व पनि उत्तिकै छ । काम विशेषले जहाँसुकै पुगेका भए पनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जानेआउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पुर्याउने महत्वपूर्ण कडीका रूपमा लिन सकिन्छ । सानालाई शुभाशीष दिने र ठूलाबाट लिने परम्पराले कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्त र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्धि गर्ने पर्वका रूपमा समेत लिन सकिन्छ । दशैँ मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसै कारण विदेशिएको छोरो घर आउँछ । वर्ष दिन अघिदेखि परदेश गएको श्रीमान्को घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् । सम्भवतः संसारमा यति धेरै विविध पक्षले भरिएको पर्वको खोजी गर्दा अन्यत्र कतै पनि पाउन सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच