कविता : ‘खुशी’

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ अर्पण

सम्झ त
कापीको पाना च्यातेर
हवाईजहाज बनाएको र उडाएको
त्यसैमा खुशी भएको,
हवाईजहाज हावामा उडे जस्तो गरेको
र भुइँमा खसेको ।

तिमीलाई थाहा छैन र ? उडेको हवाईजहाज सम्झिएर खुशी भएको,
तिमीलाई थाहा छैन र त्यो खुशीले भुइँमा खसेको हवाईजहाज बिर्सिएको,
तिमीलाई त धेरै कुरा थाहा छ
कति थाहा भएर थाहा छ
कति थाहा नभएर पनि थाहा छ,

खुशीले त दुःखलाई सँगै बोकेको हुन्छ
कुनै सिक्काको एक पाटो मात्रै हुन्छ र ?

समय हो परिवर्तन हुने,
प्रकृति जस्तै कहिले वसन्त, कहिले शिशिर
खुशी हुने सूत्र त एउटै हो
गणितको सूत्र जस्तो
सधैं सम्झिनु पर्ने,
अनि मात्रै हिसाब मिल्ने ।

तिमी किन सक्दैनौं ?
पीडालाई सम्झिएर रात कटाए जस्तै
खुशी सम्झिएर मस्त निदाउन ?

तिमीलाई लाग्छ होला म ठूलो भएँ,
तर तिमीलाई लागेन ठूलो हुँदैमा साना कुरा बिर्सिनु हुँदैन ।।

नहुँदा नहुँदै पनि धेरै कुरा हुन्छन्
कुनै कुराहरू आफ्ना नभएर पनि आफ्ना भइदिन्छन्
हुन त यो होइन भ्रम मात्र हो
फेरि खुशी पनि त भ्रम नै हो
त्यसैले यी भ्रमहरू,
सधैं भ्रम नै रहिरहून् ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?