
दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भए तापनि पहिलो नौ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैँ भनिन्छ । यस तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्रीरामचन्द्रले रावणलाई बध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्रि), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरू हुन् ।
घटस्थापना
आश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसैदिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसदिन जमरा राखिन्छ, अर्को यसदिन घट कलशको स्थापना गरी देवी–देवतालाई आहृवान गरिन्छ । यसदिन झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न रोपण गरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ ।
माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुशी पार्न जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ । ब्रहृमर्वैवत पुराणअनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू यी हुन्ः प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी-उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका-जल, थल र आकाश । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नामहरूले देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवम् तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिहृनहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम् नदीनाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गरिएको हो ।
यसैदिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरू, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पढिन्छ ।
प्रमुख पूजा र उत्सव
सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैँका लागि पूजा सामग्रीस्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यसदिन काठमाडौंको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौवटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कातिर्की देवीलाई एक-एक गरी आहृवान गरेर सोह्र सामग्रीले पूजिन्छ । अर्काे यहाँनेर यस तथ्यलाई पनि सम्झ्नु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधका लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यसदिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यसदिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै, यसैदिन गोरखा दरबारको दशैँ घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ ।
महाअष्टमी
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् ।
साकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यसदिन सर्वसाधारणका लागि खुल्ला रहन्छ । यसैदिन दशैँघर (हनुमानढोका) को मूलचोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसैदिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् ।
महानवमी
नवरात्रिको नवौं दिन विशेषगरी महालक्ष्मी देवीको पूजा-आजा गरिन्छ । यसैदिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यसदिन अरू पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।
विजयादशमी
नवरात्रिको दशौं दिनलाई विजया दशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भनिन्छ । दशमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दशमी मान्य हुन्छ, एकादशीसहितको दशमी मान्य हुँदैन भनिएको छ । मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याहृनमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसंग उल्लेख गरेका छन् । तर, विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ ।
यसदिनमा भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आहृवान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँर्दै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।’ अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैँका लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन् ।
टीका लगाउँदा दिने आशिषः-
आयूद्रोणसुते श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्यं नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
शौर्यं शान्तनवे बलं हलधरे
दानं च कुन्तीसुते, विज्ञानं विदुरे
भवतु भवतां कीर्तिश्च नारायणे ।
(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।)
दशैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरूप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ :-
जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री
स्वाहा स्वधा नमोद्रस्तु ते ।
(संसारलाई नै जित्न सक्ने सामथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी, जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
टीका लगाउने र आशीर्वाद लिने काम कहीँ पूर्णिमासम्म भएको पाइन्छ भने कहीँ दशमीको दिनमा मात्र । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा-गाजा या वैद्विक मन्त्र पढी जलाशयमा लगी विसर्जन गरिन्छ ।
अतः दशैँको अन्तर्यलाई बुझेर यसलाई राक्षसी शक्तिमाथि दैवीशक्तिको, पापाचारमाथि धर्मको, अन्यायमाथि न्यायको, विवेकहीनमाथि बुद्धिको, कुविचारमाथि सुविचारको पर्वका रूपमा मनाउन थाल्यौं र कमभन्दा कम खर्चमा दशैँलाई सिर्जनशी बनाउन सक्यौं भने हामीले गर्व गर्ने ठाउँ जति पनि हुन्छ । यसपालिको दशैँमा बाढीको कहरले सोचेजस्तो उल्लासमय हुन नसक्ने देखिएको छ । जहाँ जुन ठाउँमा छौं त्यही यो परम्परालाई कायम राखौं ।
यो दशैँलाई प्रविधिमय बनाऔं । माता दुर्गा भवानीले हामीलाई सिर्जनशील हुन आशीष दिऊन् । दशैँ-२०८१ को असीम शुभकामना ।
बडादशैँ टीकाको उत्तम साइत
यस वर्ष बडादशैँको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ । पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ ।
विजया दशमी असोज २६ गते शनिबार परेको छ । घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ । टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ ।
यस्तो छ नेपालबाहिरको उत्तम साइत
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।
यसैगरी दिल्ली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१ बजे, फ्यांकफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९ बजे, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५ बजे, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५ बजे, वासिंटन डिसी, अमेरिकाका लागि ०९ः५५ बजे, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्यसचिव पन्थीले जानकारी गराउनुभएको छ ।
टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५ बजे, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१ बजे, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७ बजे, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५ बजे, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिनुभएको छ ।
लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४ बजे, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१ बजे, पेरिस, फ्रान्सका लागि १२ बजे अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इसराइलका लागि १२ अक्टोबर बिहान ०९ः१६ बजे, सिंगापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, यांगुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभएको छ ।
दशैँसम्बन्धी महत्वपूर्ण तथ्य
मानिने क्षेत्रहरू : भारत, नेपाल हिन्दूहरू बसेका क्षेत्रहरू र नेपाली रहेका ठाउँहरू
आरम्भ : प्राचीनकालदेखि
अनुयायी : हिन्दू
तिथि : दशमी
पर्वको प्रकार : धार्मिक, सामाजिक
अनुष्ठान : दुर्गा पूजा, टीका लाउने, रामलीला, रावण–दहन,
आयुध-पूजन
उत्सव : सार्वजनिक सजावट, झाँकीहरू
समान पर्व : नवरात्रि
ऋतु परिवर्तन
हिन्दू पञ्चांगको आश्विन महिनाको नवरात्रिलाई शारदीय नवरात्रि पनि भन्ने गरिन्छ । विज्ञानको दृष्टिसँग शारदीय नवरात्रमा शरद ऋतुमा दिन साना हुन थाल्छन् र रात ठूला । साथसाथै चैतको नवरात्रिमा दिन ठूला हुन थाल्दछन् र रात घट्छ, ऋतुहरूको परिवर्तनकालको असर मानव जीवनमा नपरोस्, यसैको लागि साधनाको बहानामा हाम्रो ऋषि-मुनियोंले पनि यी नौ दिनहरूमा उपवासको विधान गरेका थिए ।
संभवतः यसैका लागि पनि ऋतुको बदलावको यस कालमा मनुष्य खान-पानको संयम र श्रेष्ठ आध्यात्मिक चिन्तन गरेर स्वयंको भित्रसँग सबल बन्न सकोस् भनेर गरिन्छ ताकि मौसमको बदलावको असर हामीमा नपरोस् । शायद यसैका लागि यसलाई शक्तिको आराधनाको पर्व भनियो । यही कारण हो कि भिन्न स्वरूपहरूमा त्यही अवधिमा जगत् जननीको आराधना-उपासना पनि गरिन्छ ।
नवरात्रि पर्वको समयमा प्राकृतिक सौन्दर्य पनि बढ्छ । यस्तो लाग्छ कि ईश्वरको साक्षात् रूप यही हो । प्राकृतिक सुन्दरताको साथ-साथै वातावरण सुखद् पनि हुन्छ । आश्विन महिनामा मौसममा न अधिक चिसो रहन्छ न त अधिक गर्मी ।
प्रकृतिको यो रूपले सबैको मनलाई उत्साहित गर्छ । जसले गर्दा नवरात्रिको समय शक्ति साधकहरूका लागि अनुकूल हुनजान्छ । त्यसपछि नियमपूर्वक साधना वा अनुष्ठान गर्छन्, व्रत-उपवास, हवन र नियम-संयमसँग उनको शारीरिक, मानसिक एवं आत्मिक शक्ति जाग्छ, जसले ऊर्जावान बनाउँछ ।
यस कालमा लौकिक उत्सवको साथ नै प्राकृतिक रूपसँग ऋतु परिवर्तन हुन्छ । शरद ऋतुको सुरुवात हुन्छ, वर्षाको मौसम बिदा हुन थाल्छ । यस कारणले बनेको सुखद् वातावरणले यो सन्देश दिन्छ कि जीवनको संघर्ष र बितेको समयको असफलताहरूलाई पछाडि छोडी मानसिक रूपसँग सशक्त एवं ऊर्जावान बनेर नयाँ आशा र उद्देश्यहरूको साथ अगाडि बढौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच