काठमाडौं । वर्तमान सरकार गठन भएको सय दिन पुगेलगत्तै विपक्षी दलहरू सडकमा आउने भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सडक आन्दोलनमा होमिन लागेका हुन् । सरकारले जनअपेक्षाअनुरूप काम नगरेको भन्दै दबाब दिन दलहरू विरोध प्रदर्शन गर्न लागेका हुन् । बुधबार सरकार गठन भएको सय दिन पूरा भएको थियो । लगत्तै शुक्रबारदेखि नै दुई दल काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिने भएका हुन् । शुक्रबार रास्वपाले काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । त्यसैगरी, शनिबार माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो । सरकारले जनसरोकारका विषयमा काम नगरेको भन्दै दबाब दिन माओवादीले खबरदारी सभा गर्न लागेको छ ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा माओवादीले खबरदारी सभा गर्ने निर्णय गरेको हो । यसअघि सय दिन नपुगेसम्म विरोधका लागि विरोध नगर्ने माओवादीले बताएको थियो । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । रास्वपाले रवि पक्राउ परेकै भोलिपल्ट (शनिबार)देखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको छ । अब पोखराको आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो ।
यसअघि सरकारको सय दिन नपुग्दै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरूले घेराबन्दी सुरु गरेका थिए । एक सय दिन पूरा हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन नसकेको विपक्षी दलहरूले आरोप लगाएका थिए । सरकारमाथि दबाब बढाउने सुरुवातस्वरूप विपक्षी दलहरूले गत सोमबार प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्रीलाई विपक्षी दलहरूले बुझाएको ज्ञापनपत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, विपद्मा परेका नागरिकहरूको पुनःस्थापनालगायत जनजीविकाका सवाल उठाइएको छ ।
रास्वपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
रास्वपाले केपी ओली नेतृत्व सरकारविरुद्ध आज (शुक्रबार) काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन पार्टीले अपिल गरेको हो । प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आमरूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिनुभयो । गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरिराखेको छ । आन्दोलनका लागि पार्टीका सबै शीर्ष नेता, सांसदहरू पनि पोखरामै केन्द्रित छन् । जिल्ला–जिल्लाबाट पनि नेता, कार्यकर्ता पोखरा उतारेर प्रदर्शन र सभा गरिएको थियो । बिहीबार नै रास्वपाका नेताहरूले पत्रकार सम्मेलन गरेर न्यायिक प्रक्रियामा झकझक्याउन पोखराको आन्दोलन सफल भएको दाबी गरेका छन् । रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले पोखराको आन्दोलन टुंग्याएर अब काठमाडौं केन्द्रित आन्दोलन गरिने बताउनुभयो । ‘हामीले न्यायका लागि झकझक्याउन सफल भयौँ, पोखरा केन्द्रित आन्दोलन सफल भएकै हाम्रो निष्कर्ष छ,’ उहाँले भन्नुभयो, ‘पोखरा केन्द्रित आन्दोलन सम्भवत टुंग्याएर अब काठमाडौं केन्द्रित रहनेछौँ ।’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले पनि अब काठमाडौं केन्द्रित आन्दोलन गरिने जानकारी दिनुभयो । ‘अब काठमाडौं केन्द्रित आन्दोलन हुन्छ । तर, पोखरामा सभापति रहुन्जेल केही न केही कार्यक्रम त भइराख्छ,’ उहाँले भन्नुभयो ।
माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनःस्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्थाहरू, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरूको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।
आन्दोलनकारीलाई तर्साउने सोच क्रूर नाजीवादी : साह
आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी भएको उहाँले बताउनुभयो । ‘शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । शान्तिपूर्ण आन्दोलन गर्न जोकोहीले पाउने भए पनि एमालेले विज्ञप्ति नै जारी गरेर रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडकमा आन्दोलनकारीलाई तर्साउन खोजेको साहको भनाइ छ । बिहीबार नै एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच