✍️ प्राडा.खेम दाहाल
१. प्रारम्भ
अर्काको किताब पढेर दुई शब्द कोर्दा डर लाग्न थालेको छ । किताबको विषयमा अन्याय-न्याय के हुने हो भन्ने लाग्ने गर्छ । त्यसैले कलम सलल बग्दैन । वि.सं. २०५०-२०७० यस्तो समय थियो जुन समयमा पठनपाठन र बढुवाको भूतले गर्दा जेजस्ता कृति पनि पढिएर तिनको कृति परिचय लेख्ने जमर्काे भयो, किनकि एउटा कृति परिचय छापिएमा बढुवाका लागि एक अङ्कको आशा थियो, त्यो पूर्णाङ्क हुन्थ्यो र अङ्क दिने जाँचकी गुरुले एक अङ्कको आधासम्म दिनुहुन्थ्यो होला । त्यो हरेक उपप्राध्यापक वा सहप्राध्यापकका लागि अनिवार्य पठनझैँ थियो । अब त्यो स्थिति छैन, किनकि पेसाले लात हानेर उमेरका आधारमा बाहिर पठायो । तथापि कुनै स्रष्टाले पुस्तक दिनुभयो र केही कोरेर चिनारी गराउनुप¥यो भन्नुभयो भने कर लाग्छ, सम्मानको साटो अपमान होला भन्ने डर लाग्छ । त्यही बिन्दुमा उभिएर यहाँ हातमा आएको पुस्तकमाथि नयन डुलाउँदै शब्द खोज्दै भएको क्षणमा उभिँदा यो सरमको अनुभूति हुुँदै छ । आफ्ना अग्रजले समेत आफ्नै वासमा पुगेर कुनै उपहार स्वरूप कृति थमाउनुलाई जीवनको चरम उपलब्धि मानिँदो रहेछ ।
२. सिर्जनामा दृष्टिभित्र प्रवेश
सिर्जनामा दृष्टि (२०८१) सोह्रवटा लेख (भूमिकाहरू) भएको पुस्तकका भूमिकाकार खेमनाथ दाहाल (२००९ लाब्री, तेह्रथुम) को यो गहनकृतिमा अन्याय हुने कुरा धेरै प्रतिशत छ, किनकि आफ्नो अध्ययनको गहिराइ आफैँलाई थाहा हुन्छ । भूमिकाकार दाहालका उपन्यास फुटकर कविता, खण्डकाव्य, निबन्ध र महाकाव्यका साथै समीक्षात्मक कृति प्रकाशनमा आएका छन् । केही दिन निर्माण व्यवसायमा संलग्न दाहालको पछिल्लो समय देश परदेश घुम्ने र कलम चलाउने काममा मात्र सीमित भएको बुझिन्छ, धन र प्रतिभाले साथ दिनु नैसर्गिक वरदान हो । यस कृतिलाई जनपक्ष प्रकाशन-७, सुपरमार्केट, गान्तोक, सिक्किमले प्रकाशनमा ल्याएको छ । भूमिकामा डा. यज्ञेश्वर निरौला गहन पठनमा देखिनुलाई युगले साग दिएको मानिन्छ ।
अर्को कृति ‘यात्राको सिकर्नी’ खेमनाथ दाहालको रचनाको समीक्षा, उही स्रष्टाको अहोरात्र (उपन्यास) को सरस व्याख्या, हरिभक्त सिग्देलको ‘एकमात्र’भित्रको न्यायिक चिन्तन तथा लेखनाथ पोखरेलका ‘चिबेनकटो’, ‘फकलीको गाउँ’ र ‘मार्बल-हाउसकी शालिनी’ मा भएका समीक्षाहरू उच्च मूल्याङ्कनमा पर्छन् ।
२.१ प्रकाशकका रूपमा यस कृतिका प्रकाशक पुण्यप्रसाद शर्मा (२०१२) गान्तोकवासी जनपक्ष साप्ताहिक समाचार पत्रिकाका सम्पादक कलम चलेका प्रतिभाका प्रतिभा परिचय, कविताको देश (कविता सङ्ग्रह) अद्वितीय व्यक्तित्व आदि प्रकाशित कृति रहेका बुझिन्छ । फुटकर रचना देशदेशान्तरका पत्रिकामा प्रकाशित भएका र यहाँ एउटा भूमिकाभित्र परेको गहन कृति विश्वका सर्वश्रेष्ठ कविताहरू अनुवाद भएर आएको कृतिका रूपमा उपस्थित देखिन्छ ।
२.१.१. विश्वका सर्वश्रेष्ठ कविताको अनुवाद
भूमिका लेखनमा उक्त कृतिको भूमिका लगभग पचास पृष्ठको लेखन गर्ने काम सम्पन्न गरिएको पाइन्छ । यस भूमिकामा कविताको परिचय, अनुवादको चिनारी, अनुवादकका विषयको टिप्पणी र समाविष्ट कवि र कविता चर्चामा आएका छन् । कविहरूमा रहेका प्रतिभा चिनेर, कविता छनोट गरेर अनुवाद गर्ने पुण्यप्रसाद शर्मा प्रंशसित छन्, किनकि यो काम धेरै लामो साधनाबाट मात्र सम्भव रहने देखिन्छ । यी रचनाको मर्म त्यसै पनि गहिराइमा हुन्छ, त्यहाँ पुग्न सक्ने प्रतिमा सबै अनुवादकमा हुँदैन भनिन्छः अनुवाद गरेपछि पहिलेको मौलिक रचनाको स्वरूप विनष्ट हुन्छ । भूमिकाकार खेमनाथ दाहालले ‘कृतिभित्रका रचना सन्दर्भ’ उपशीर्षकमा कविको चिनारी, समाविष्ट कविताको अंश र अनुवादकको क्षमतामाथि गहिरो पठन गरेको अवस्था छ । यस सन्दर्भमा अनुवादकले सिंहावलोकन गरेका कविता रूसी कविता छानिएका छन् । अलेक्जेन्डर सर्गेभिच पुस्किन पहिलो नम्बर पाउने प्रतिमा हुन् । पुस्किन मेक्सिम गोर्कीबाट प्रशंसित पनि हुन् ।
निजको ‘भविष्य प्रतिको आस्था पत्र’ लाई अनुवादमा समेटिएको छ । यस रचनामा प्रेरणा, उत्साह र श्रमको सम्मान गरिन्छ । ‘अन्धकारबीच आशाको किरण उदाउने छ’ भनिएको छ । उनै पुस्किनका ‘नगाइदेऊ जर्जियाको गीत’ र ‘चादायेवको नाममा’ जस्ता रचना अनुवादमा लिन सकेको विषय रहन्छ । समालोचक डा.नामवरसिंहको भनाइमा पुस्किन क्रान्ति र पे्रमलाई छेउमै राख्थे । यहाँ निबन्धमार अक्टोवियो पाजको ‘म शहर विषयमा बोल्छु ’ निकै रोचक छ, आजको नवीनतम बस्तु पछि भत्किने र गाडिने भनाइमा विश्वास गरिन्छ । ‘सबैथोक पाइने दोकानहरू, जहाँ हामी सबैथोक खर्च गर्छौँ र सबै धुँवा बन्दछ’ ध्रुवसत्य कुरा हो । अर्की प्रतिभा ओल्गा बेर्गोल्स को ‘यात्राका पत्रहरूबाट’ ग्रहण गरिएको छ, उनको परिचयमा निडर कवयित्री भनिन्छ । रचना सुन्दर छ- ‘सदैव सम्भव छ जिन्दगीलाई फेरि सुरु गर्न’ अनुवादकले पछिल्लो चरणमा आएको हाम्रो भाषामा प्रयोग हुने ‘श’ मा भने हेक्का नराखेको पाइन्छ । यस कृतिमा विश्वका कवि मध्ये रूसी कवि बादिम सेमेर्निनको रचना ‘समय कवितामा’ समाविष्ट भएको छ । यस रचनाले कवितालाई फेरिने र पुनः दोहोरिने ऋतुसँग मिलाएको छ । रूसी भाषाको ज्ञान सबैलाई हुन कठिन छ । भारततिर फर्किएर असद जैदीका रचना छानिएका छन्ः ‘भएन बराबरीको कुरा कहिल्यै भएन, हुन पनि सक्ने थिएन’ एउटा दृष्टान्त हो । जैदी उपेक्षामा परेका कवि हुन् । अर्का कवि इब्बार रब्बीलाई लिइएको छ, उनको ‘सातौँ अध्याय’बाट एक अंश ग्रहण गरिएको छ ः ‘मूल निवासीहरूमा इन्डियन, काव्यहरूमा महाभारत सबकुछ म नै पार्थ हुँ ।’ यहाँ अन्त्यको हरफले अर्जुन र कृष्णलाई स्मरणमा लिन्छ र काम गर भन्छ । यहाँ उदय प्रकाशको छोटो चिनारीका साथमा ‘दिसम्बर’ कविता समेटिएको छ । यिनले समाजमा अपहेलित पक्षको उठान गरेको बताइन्छ । यहाँ अर्का कवि अंशुल त्रिपाठीको ‘दुश्मनी’ समाविष्ट छ । प्रकृतिले कसैमाथि भेदभाव नगर्ने तर हामी मानवले भेदभाव गर्ने विषय प्रकाश गरेका छन् । भारतीय कवि कुँवर नारायणको ‘अपठनीय’ कविता छनोटमा परेको कविता हो । यस अपठनीय शीर्षकले सबै रचना, धर्मग्रन्थ, नीतिका सूत्रलाई अपठनीय भनी व्याजस्तुति गरेको पाइन्छ । हाम्रो छुट्ने समय (जन्म) र पुग्ने समय (मृत्यु) समेत अपठनीय भएको यो अंश घतलाग्दो छ । हामी नजानी जन्मँछौँ र नजानी मर्छौ, यसमा शङ्का छैन । खराबभित्रको सुन्दर पक्ष खोज्ने नारायणले खराबको घृणा नगर्ने बिन्दु खोजे । अर्का कवि केदारनाथ सिंह हुन् जसको रचना ‘इब्राहक मियाँको हालखबर’ यहाँ अनूदित छ । यस रचनाले दुःखभित्र सुख र समृद्धि देखाउँछ । ‘सब ठीकठाक छ, गाउँ बाहिर एक चिहानघारी छ ।’ अर्का व्यङ्ग्य वाणमा निपुण कवि प्रमोद कौसवाल छन्, उनको हाम्रो समाज र त्यसप्रति हाम्रो दायित्वको रचना ‘पुनश्च’ समाविष्ट हुन्छ ।
मिर्जा गालिब फारसी भाषाका सायरीबाट प्रसिद्ध भएका छन्, उनको यहाँ प्रस्तुत सायरीले नहुँदाको परिणाम खोज्छ । यति धेरै भारतीय कविहरू प्रसिद्ध र जनप्रिय स्रष्टा छनोट गर्न सक्नु अनुवादकको विशिष्ट क्षमता हो भन्ने भनाइ भूमिकामा उल्लेख हुन्छ । त्यस्ता प्रतिमा बीच मुकेश मानस, रवीन्द्रनाथ ठाकुरप्रभृति कविलाई सम्मान गरिएको छ । अनुवादक शर्माले विनय दुबेको ‘बगदाद’ विष्णु खरेको ‘चुनौती’, विष्णु नागरका ‘बसमा यात्रा’ तथा ‘अमरकविताहरू’ वीरेन डङ्गवालको ‘दुश्चक्रमा स्रष्टा’ शमशेरबहादुर सिंहको ‘काल तँसँग होड छ मेरो’, समाविष्ट गरेको पाइन्छ । यहाँ सुरेश सलिलको ‘ईश्वर’ हेमन्त कुकरेतीको ‘जुन रगत बहन्छ मभित्र’, क्षमा कौलका चार कविता (हामी फर्की आउनेछौँ, सपना, त्यो बाटो भएर राम्रै भयो) जस्ता भारतीय रचनालाई अनुवादकले सुन्दर अनुवाद गरेको भनिएको छ । यहाँ भारतबाहिरका ओस्कर वाइल्डका दुई रचना ‘ओस्कर वाइल्डका केही प्रख्यात कथन’ र ‘जेलखानाको गीति नाटक’, विलियम वटलर यिट्सका तीन रचना (बेनु बुबेन पहाडबाट, चाहना स्वर्गका परिधानहरूको, जब उमेर ढक्mिन्छ, टि.एस.एलियटको ‘मेरिना’, थोमसगे्रका दुई रचना (गाउँको गिर्जाप्राङ्गणमा र इपिटाप), किप्लिङको ‘यदि’ र विलियम सेक्सपियरका तीन रचना ‘जीवित रहूँ वा मृत्युको काखमा जाऊँ’, ‘पर्दैन सपथ लिनुपर्दैन’, ‘म जुलियस सिजरलाई प्रेम गर्थेँ’ इत्यादि रचना अङ्ग्रेजी भाषामा मातृभाषी कविबाट ग्रहण गरिएको स्थिति छ ।
यहाँ अन्य देशप्रदेश र विश्वमा चर्चित प्रतिभाहरूका रचना अनुवादमा ग्रहण गरिएका छन् जसमा पाब्लो नेरूदा, कार्ल माक्र्सजस्ता प्रसिद्ध व्यक्तिहरू अगाडि छन् । अनुवादमा त्यस्ता प्रतिभाको कदर गरिएको छ जसले प्रसिद्ध पुरस्कार प्राप्त गरेर आफ्नो क्षमतालाई अमर बनाएका छन् । तिनले नोबेल पुरस्कारका साथै अति प्रसिद्ध पुरस्कार पाएको इतिहास जर्गेना गरेकोले तिनलाई लिन सजिलो ठानिएको हुन सक्छ । त्यस्तै भूमिकाकार दाहालले त्यस प्रकारका कविको चिनारी, जन्म, मरण, प्रसिद्धि कमाएको क्षेत्र, उनका कालजयी कृतिका विषयमा कतै पठनमनन गरेर यस भूमिका भित्र समाविष्ट गराएको पाइन्छ । यस प्रकारको प्रसिद्ध प्रतिभाहरूमा कार्ल माक्स, पाब्लो नेरूदा (चिली), येभ्गेनी एभतुसेन्को (रूस), एन्टिक लिन, वाल्ट हिृवलमेन (अमेरिका),ज्याक लन्डन (अमेरिका), बर्टोल्त बे्रख्त, हास माग्नुस एत्सेँवर्गर (युरोप) कर्लोस इर्मेन्दे अन्द्राइन्दे (ब्राजिल), ब्रा विली (Broa Willie) अर्थात् कियोरापेत्से (द अफ्रिका), क्लेरिबेल अलेग्रिया (निकारागुवा-साल्भाडोरिया), तसलिमा नसरिन (बङ्गलादेश) एन.पि.थिन. (भियतनाम), कोफी औनुर (घाना), नजिम हिक्मत (तुर्की), मिजोल मिलाउकाइते (लिथुनिया), पिटर डब्लु सोँगा (युगन्डा), पेत्रोस ब्रोब्का (बेलारुस), मिर्जा तुसुर्नजादा (ताजकिस्तान), मोहम्मद दर्वेस (प्यालिस्टाइन), रेनर मारिया रिल्के (अष्ट्रिया) जस्ता आ-आफ्ना क्षेत्रमा चर्चामा आएका स्थापित प्रतिभालाई अनुवादकले स्थान दिएको र भूमिकाकारको प्रशस्त साधनाको कठिन उकालो पनि देखिन्छ । ती कविलाई स्थान दिइएको छ, जसले आफ्नो प्रयासले स्थापित हुँदा कसैले युद्धको विरुद्धमा, कसैले नारी शोषणको प्रतिकारमा र सबैले समानताको स्थापनामा गम्भीर भएर कलम चलाएका भन्ने संक्षिप्त चिनारी विशेष प्रसंग हुनआएको छ । ‘कविको वाणीले केवल उनका विचारको मात्र अभिव्यक्ति गरिरहेको हुँदैन, अपितु कविको कविताले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरिरहेको हुन्छ’ भन्ने भनाइमा विश्वास गरिन्छ । यहाँ अनुवाद गरिएका कविताहरू विश्वका अनेक भाषाभाषीका रचना देखिँदा यति धेरै भाषाको गहिरो अध्ययन अनुवादक शर्मालाई हुनु भनेको शङ्का र आश्चर्यको अंश हो ।
२.२ अर्को भूमिका
फकलीको गाउँमा लेखनाथ पोखरेल (२००४, खोटाङ) को निबन्धको किताब ‘फकलीको गाउँ’ यात्रासँग सम्बद्ध कृतिमा प्रवेश गर्ने भूमिकाकार खेमनाथ दाहालले यसभित्र निबन्धकारको क्षमता परीक्षण गरेको भेटिन्छ । पोखरेल पेसाले इन्जिनियर, स्रष्टा निबन्ध, कथा सङ्ग्रह र उपन्यास लेखनमा लीन रहने प्रतिभा रहेको जानकारी प्रारम्भमा गराइन्छ । सरकारी सेवाबाट निवृत्त भएर कलम चलाउने कर्मचारीहरू मध्येका एक लेखनाथ पोखरेल उच्च विचार धारणा लिँदै लेखनमा आबद्ध रहनु भएको विषयले प्रारम्भको उठान लिन्छ । देशका भिराला, उकाला पार गर्दै सडक र पुल निर्माणमा लाग्दा कति धेरै अनुभूति भएको हुन्छ जसलाई कागजमा उतार्ने काम भएको बताइएको छ । यो पुस्तक यात्रावृत्तान्त हो, वाइस प्रसङ्ग भएर जीवन्त रहन्छ, यसमा बाल्यकाल, विद्यार्थीकाल, जागिरे जीवन र अवकाशको समयका अनुभव प्रस्तुत रहेका छन् । यी बाल्यकालका अनुभवको नाता ‘ऐँसेलुखर्कको चिट्ठा’बाट सुरु हुने, हाटबजारको रमिता हेरिने, मादलको तालमा हुने नाच देखिने, ‘मैले देखेको मधेस’ मा बाल्यकालमा चरित्र परिभाषित छन् । यसमा ‘लुइँचेको सिकार’ सुन्तलाको पाक्ने महिना, गाउँको रमाइलो तथा पशुपतिनाथको यात्रामा आबद्ध अनुभव प्रकटमा छन् । टुँडालका अश्लील चित्र हेरेपछिको अनुभूतिमा किशोर वयको पृष्ठ खुल्छ । विद्यार्थी कालमा भारततिरको अनुभूति रहन्छ । नागाल्यान्डमा विद्रोहीमाथि भारतबाट भएको अमानवीय व्यवहार त्यसै पनि डर लाग्नेछ । त्यसबेला बाहिर गएका छात्रहरू देश सेवामा फर्किन्थे, आज त्यो स्थिति छैन भन्ने समयचेत सरल र सत्य लाग्छ, यस सिलसिलामा कलकत्ता र दार्जिलिङका खानपिन स्मरणमा पर्छन् ।
यसमा ‘फकलिको गाउँ’ विशेष पठनीय बनाइएको छ । जसमा सामाजिक, राजनीतिक र प्राकृतिक विभेदहरू परिभाषामा आएका छन् । यसमा नेपालगञ्ज, सुर्खेत, कोहलपुर, थारूहरू, पहाडीया र उनको चरित्र, सोझा तराईवासीमाथि पहाडेले गरेको अन्याय, नेपाल तिब्बत व्यापार, हुम्लाको पीडा, फकली र फकलीसँगको संवादबाट थारू संस्कारको चित्र निर्मित हुने थारूहरूका दैनिक कार्यमा घुँगी समाउने, माछा मार्ने तथा जन्म-मृत्यु संस्कार आदि परिभाषामा छन् । मामाका रूपमा परिभाषित लेखक पात्रले निर्वाह गरेको भूमिकामा मामा भन्दै केटाले पछ्याउने स्थिति, गाडी लिएर फकली दिदीलाई भेट्न जाने, सुर्देतबाट फकलीको गाउँसम्मको यो सन्दर्भ नियात्राभित्र संस्मरण प्रधान निबन्ध मिसिन्छ । फकली पोखरेललाई देख्दा आँसु झार्छे । चिनियाँहरूसँग सहकार्य, त्यहाँ सिकेको प्रविधि, चेपाङ जातिको अवस्था, तमोर नदी र झोलुङ्गे पुल, लिम्बु संस्कार मुन्धुम संस्कार, चारआली, पाँचथरको लाहुरे बस्ती संस्मरणमा पर्छन् । दुल्लू र माओवादीको सङ्घर्ष माओवादीले जन्माएको त्रास तथा मिरिकतिरको यात्रा, हरियो चियाबारीको रमिता सुन्दर छन् भित्रभित्र लाचार प्रशासन दुःखद छ । यस भूमिका लेखनको अन्त्यतिर पुग्दा निबन्धमा सेवानिवृत्त जीवन बोल्छ । त्यसमा अलिक धपेडी छैन कि भन्ने लाग्छ, मेलवर्न घुम्न निस्कने क्रममा यी जानकारी सम्बद्ध विषयमा जानेबुझेका विषयले स्थान ग्रहण गरेको स्थिति छ । यो लामो भूमिका भित्र लेखनाथ पोखरलेको जीवनशैलीले पाठक छेउ पुग्ने मौका पाएको छ । संस्करणप्रधान निबन्धमा चुडामणि रेग्मी, बालकृष्ण पोखरेल, माधवप्रसाद पोखरेलजस्ता प्रतिभाको संलग्नता छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच