
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीति समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ । कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उहाँले मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीति संघीयता अनुकूल परिमार्जन गरिनुपर्ने बताउनुभएको हो । जीविकोपार्जनका लागि कृषि कर्म गर्नेलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी कृषि विकास रणनीति परिमार्जन आवश्यक रहेकोमा मन्त्री अधिकारीको जोड थियो ।
उहाँले भन्नुभयो, ‘संघीयतापछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यक समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् ।’ कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेको पनि उहाँले बताउनुभयो । २०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबीच छलफल गरी सुझाव लिइएको छ । पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले काम गर्दै आएको छ ।
महामन्त्री थापाद्धारा कृषिमन्त्रीको प्रशंसा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट गरी कृषि क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि मन्त्री अधिकारीले गर्नुभएका निर्णयलाई पार्टीले सकारात्मक ढंगले हेरेको जानकारी गराउँदै कृषकका पक्षमा निर्णय गरेकोमा मन्त्री अधिकारीलाई धन्यवादसमेत दिनुभयो ।
दुर्ई ठूला दल कांग्रेस र एमालेको सरकारले अप्ठ्यारा र बाधक कानुन संशोधन गर्न चाहेको बताउँदै महामन्त्री थापाले हालै बनेको दुर्ई दलीय संयन्त्रले यस्ता कानुन एकैपटक संशोधनका लागि गृहकार्य गरेको उल्लेख गर्नुभयो । साथै उहाँले संसद्को आगामी अधिवेशनमा पाइप लाइनमा रहेका सबै विधेयकको टुंगो लगाई बाधक रहेका कानुन संशोधन गरिने भएकाले कृषि क्षेत्रमा बाधक कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गर्नुभयो । कृषिसँग सम्बन्धित विभिन्न कानुनमा संशोधन आफू विगतमा कृषि समितिको सभापति हुँदादेखि नै आएको भए पनि अब तदारुकता लिन मन्त्री अधिकारीलाई थापाले आग्रह गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस् भन्ने चाहना रहेको र त्यसका लागि प्रयास भइरहेको जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच