
काठमाडौं । काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको महानगरको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो । महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय परिसरमा केहीबेर रोकिएर फर्किएको थियो । काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखे पनि एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने जिकिर गर्नुभएको छ ।
यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि मेयर बालेन साहले अर्को पत्र दिएर नगर प्रहरीसहित महानगरका कर्मचारी एमाले कार्यालय पुगेका थिए । महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराईले पार्टी कार्यालयमा पत्र दर्ता गर्न अस्वीकार गरेको जानकारी दिँदै भन्नुभयो, ‘उहाँहरूले पत्र हेर्नुभयो र पढ्नु पनि भयो । तर, दर्ता गर्न मान्नुभएन । हामीले कार्यक्रम गरेको होइन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको हो, त्यहीँ कुरा गर्नुहोला भन्दै उहाँहरूले पत्र बुझ्नुभएन । त्यसपछि हामी पत्र बोकेर त्यसै कार्यालयमा फर्कियौँ ।’ फोहोर गरे पनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । एमालेका नेताहरूले भने उक्त जरिवानाको आलोचना गर्दै मेयर बालेनले स्टण्ट गरेको आरोप लगाउँदै आएको छ ।
एमालेको जिकिर : ‘दरबारमार्ग सभाको आयोजक हामी होइनौँ’
नेकपा एमाले केन्द्रीय कार्यालयले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको जागरण सभाको आयोजक आफूहरू नभएको बताएको छ । जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएको भन्दै एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले महानगरको जरिवाना पत्र बेठीक ठाउँमा आएको जिकिर गर्दै भन्नुभयो, ‘यो चिठी बेठीक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन । महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्ने कुरा थाहा पाउनुपर्छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिल्यै पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’ कार्यक्रम नसकिँदै सञ्चार माध्यममा पत्र पुगेको भन्दै सचिव अधिकारीले आक्रोशसमेत व्यक्त गर्नुभयो ।
पत्रको औचित्य नभएकाले नबुझेका हौँ : प्रचार विभाग प्रमुख गौतम
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको पत्र औचित्यपूर्ण नभएकोले नबुझेको जिकिर गर्नुभएको छ । सभा सम्पन्न भएपछि एमालेका स्वयंसेवक, युवा विद्यार्थीहरू र महिलाहरूले कार्यक्रम गर्दा भएको सबै फोहोर एक ठाउँमा जम्मा गरेर महानगरपालिकालाई जम्मा भएको फोहोर हाल्ने कन्टेनर पठाइदिन आग्रह गरेको जानकारी दिँदै गौतमले भन्नुभयो, ‘हाम्रो त्यो आग्रहलाई महानगरले हुन्छ हुन्छ भन्यो तर कन्टेनर नपठाएर इग्नोर ग¥यो । बरु उसले हतारहतार एमालेले फोहोर गरेकाले महानगरका तर्फबाट एक लाख रुपैयाँ जरिवाना गरिएको छ भनेर पत्र सार्वजनिक भयो । यो भनेको एउटा मेयरले पोलिटिकल स्टण्टबाजी गरेर एमालेलाई बदनाम गर्न खोजेको हो भन्ने हाम्रो बुझाइ हो । मेयर बालेन साहको यो तरिकासँग नेकपा एमाले गम्भीर असहमति राख्छ ।’
बालेनद्वारा फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक बहिष्कार
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारद्वारा गठित फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक बहिष्कार गर्नुभएको छ । सहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको उपस्थितिमा बैठक आइतबार बिहान सहरी विकास मन्त्रालयमा बसेको बैठक मेयर साहले बहिष्कार गर्नुभएको हो । बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिवलगायत सहभागी भएका थिए । तर, उक्त बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भने उपस्थित हुनुभएन ।
कठमाडौं महानगरपालिकाबाट प्रमुख कार्यकारी सहभागी भएका थिए । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा मेयर बालेन र केन्द्रीय सरकारबीच मतभेद छ । विसं २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरेको थियो । आइतबारको बैठकले फोहोर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामा बिसर्जन गरी मल बनाउनेलगायत विषयमा निर्णय भएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताउनुभएको छ । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताउनुभएको हो । फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्न धेरै समय गइसकेको छ । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौँ । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । छलफलपछि के एक्सन भए भन्ने विषयका समाचारहरू बन्न आवश्यक छ । संघीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ । कुनै पनि सरकारले मिनिमाइज नगरीकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ । फोहोरमैलामा राजनीति गरेर त भएन नि त ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच